दैलेख, ५ साउन । संस्थालाई कार्यक्रम दिएबापत घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखले संस्थासँग तीन लाख रुपियाँ लिएका छन् ।
कार्यालय प्रमुख रामेश्वर काफ्लेले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमका लागि दिइएको बजेटको तीन लाख रुपियाँ हाकाहाकी मागेर लगेका हुन् ।
कार्यालयबाट संस्थासँग कार्यक्रमका लागि २५ लाख ९८ हजार रुपियाँको सम्झौता गरिएको थियो । बारम्बार कार्यालय प्रमुख काफ्लेले कार्यक्रमको ३० प्रतिशत रकम माग्दै आएका थिए । संस्थाले रकम दिन नसकिने बताउँदै आएपछि काफ्लेले तीन लाख रुपियाँ लगेका साझेदार संस्था लघु उद्यम विकास संस्थाका कार्यक्रम प्रमुख टेकराज आचार्यले बताए । कार्यालयबाट २० लाख ६० हजार रुपियाँ मात्र भुक्तानी भएको संस्थाले जनाएको छ । ‘कार्यक्रमका लागि खर्च सीमित छ तर हाकिमसाबले तीन लाख रुपियाँको चेक साटेर लैजानुभयो,’ आचार्यले भने ।
‘समुदायका मानिस दिनहुँ आएर हैरान गराउँछन्,’ आचार्यले भने, ‘कर्मचारीलाई संस्थाबाट रकम झिकेर तलब खुवाएका छौँ ।’ कार्यक्रम गरेपछि कार्यालयमा पैसा लिन जाँदा सिडिओलाई समेत बुझाउनुपर्छ भन्दै काफ्लेले अरू रकम मागेका थिए । आचार्यले भने, ‘समुदायका मानिसले दु:ख गरेर भवन बनाएका छन् तर कमिसन नथपेको झोकमा उनले भवनको पैसा फ्रिज गराए ।’
साझा सुविधा केन्द्रको भवन बनाइए पनि सरकारी प्रक्रियामा नबनाइएका भन्दै रकम फ्रिज गराएपछि समुदायलाई भुक्तानी दिन नसकिएको संस्थाले जनाएको छ । काफ्लेले भ्रमण, पत्रिका प्रकाशन र खाजा बिलमा रकम बढाएर मिलाउन भन्दै तीन लाख रुपियाँ नदिएको आचार्यले लगाए ।
‘तीन लाख रुपियाँ अरूलाई बाँड्दा कम भएको भन्दै दुई लाख १९ हजार रुपियाँको अर्को चेकसमेत दिएका थिएनन्,’ आचार्यले भने, ‘पत्रकारलाई खबर गर्छु भनेपछि फिर्ता दिए ।’
कार्यालय प्रमुख काफ्लेले जेठमा कार्यालय र संस्थाबाट ३६ दिनको दैनिक ७ सय ५० रुपियाँका दरले भत्ता बुझेका थिए । जिल्लाका कालभैरव, लाँकुरी, कालिका र सिगौडी गाविसमा एक सय २५ जनालाई सीप सिकाई उद्यमी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । कार्यालयले आरन, बाँस निगालो, सिलाइ–कटाइ, तरकारी, मोबाइल मर्मतलगायत १६ किसिमका तालिम दिएको लघु उद्यम विकास संस्थाले जनाएको छ ।
कार्यालय प्रमुख काफ्लेले आन्तरिक लेखापरीक्षण र महालेखापरीक्षण गर्ने क्रममा रकम दिनुपर्ने र केही पार्टीका नेतालाई पनि खुवाउनुपर्ने भएकाले रकम लिइएको स्विकारे । उनले भने, ‘पैसाको लेनदेन कहाँ हुँदैन र ? केही रकम फ्रिज गराइदिएकाले बदनाम गराउने मौका पाएका छन् ।’
प्रतिक्रिया