भुपेन्द्र लण्डन जाने

काठमाडौं, ४ साउन । नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार एक कार्यक्रमबीच लन्डन ओलम्पिक हेर्न जान लागेका नेपालका पहिलो ओलम्पियन भूपेन्द्र सिलवाललाई औपचारिक बिदाइ गरेको छ । एनआरएन युकेको निमन्त्रणा र नेपाल खेलकुद पत्रकार मञ्चको समन्वयमा सिलवाल आगामी बुधबार लन्डन प्रस्थान गर्न लागेको मञ्चद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ ।
बिबिसी लन्डनका डेस्क सम्पादक सुमन खरेलले सिलवालबारे बिबिसी नेपाली सेवामा प्रसारित सामग्री सुनेपछि सिलवालको लन्डनयात्राको पहल सुरु गरेका थिए । खरेलको पहलमा एनआरएन युकेले सिलवाललाई लन्डन जाने, आउने र बस्ने व्यवस्था गर्ने भएपछि मञ्चले सिलवालको पासपोर्ट र भिसाको प्रक्रिया अघिबढाएको जनाएको छ । बुधबार आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान र खरेलले सिलवाललाई बिदाइ गरे । ‘हाम्रा अग्रजहरूलाई सम्मान गर्नुपर्छ भनेर हामीले उहाँलाई लन्डन लैजाने कार्यक्रम बनाएका हौँ,’ खरेलले भने । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष प्रधानले ओलम्पिक कमिटीले गर्नुपर्ने काम खेलकुद पत्रकार मञ्च र एनआरएन युकेले गर्न लागेकोमा कृतज्ञता ज्ञापन गरे ।
नेपाल ओलम्पियन एसोसिएसनका अध्यक्ष सुनील जोशी, ओलम्पियनहरू दीपक विष्ट र संगीना वैद्यको उपस्थिति रहेको कार्यक्रममा बोल्दै सिलवालले नेपालले ओलम्पिकमा भाग लिएको आधा शताब्दीपछि फेरि ओलम्पिक हेर्न जान पाएकोमा खुसी व्यक्त गरे । बिदाइ कार्यक्रममा मञ्चका अध्यक्ष निरञ्जन राजवंशीले अग्रज खेलाडीको सम्मान र नयाँ पुस्ताको हौसला बढाउन नेपाल खेलकुद पत्रकार मञ्च सधैँ लागि पर्ने बताए । नेपालले पहिलोपटक सन् १९६४ मा टोकियो ओलम्पिक्समा भाग लिँदा सिलवालले म्याराथनमा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया