काठमाडौं, ४ साउन । सम्झना बहुमुखी सहकारीका सञ्चालक हिरण्यकुमारी पाठकले सुलभ सहकारीमा गैरकानुनी ढंगले २८ लाख रुपियाँ मुद्दती खातामा जम्मा गरेको रहस्य बाहिर आएको छ ।
संस्थाका अध्यक्ष, व्यवस्थापक तथा अन्य सञ्चालकको स्वीकृतिविनै उनले आफ्नै संस्थालाई ०६३ सालमा सो रकम गैरकानुनी तबरबाट जम्मा गराएको स्रोतले बतायो । पाठक सुलभ सहकारीका पनि सञ्चालक हुन् । बारम्बार निक्षेप फिर्ता गर्न ताकेता गर्दा पनि सुलभ सहकारीले पैसा फिर्ता नगरेपछि यो चासोको विषय बनेको छ ।
सुलभ सहकारीले सुरुका दिनमा केही ब्याज सम्झना सहकारीलाई दिए पनि अहिले ब्याजसहित यो रकम ५३ लाख रुपियाँ पुगेसकेको दाबी स्रोतको छ । त्यतिखेर संस्थाले पाठकको मुद्दती खाता बन्द गराएको थियो । उनले खाता फुकुवा गर्न संस्थासमक्ष आग्रह गरेको भए पनि २९ असार ०६७ मा सम्झना सहकारीको सञ्चालक समितिको बैठकमा उनको मुद्दतीखाता फुकुवा नगर्ने निर्णय गरेको पनि समितिका एक सदस्यले बताए ।
संस्थाको २४ चैत ०६८ मा बसेको १९औँ वार्षिक साधारणसभामा सुलभ सहकारी संस्थामा बाँकी रहेको रकम असुली सम्बन्धमा सञ्चालक समितिको निर्णयअनुसार सञ्चालक पाठकको बचत रकम रोक्का गरी अन्य कारबाही भइरहेकोसमेत समितिको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, डिभिजन सहकारी कार्यालयले सम्झना सहकारीलाई पत्र काटी खाता रोक्का राख्न निर्देशन दिएको छ । ०४८ सालमा स्थापना भएको सम्झना सहकारी उत्कृष्ट सहकारीमा पर्दछ । सञ्चालक पाठकको यस्तो कार्यले सहकारीको बदनाममा हुनसक्ने अवस्था देखिएको छ । करिब एक हजार आठ सय सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी एक करोड १३ लाख रुपियाँभन्दा बढी छ ।
डिभिजन सहकारीको पत्र
१३ भदौ ०६७ को डिभिजन सहकारीको पत्रानुसार सम्झना सहकारीलाई लेखिएको ‘खाता फुकुवा बारे’ विषयक पत्रमा भुलवश सुलभ सहकारी संस्थाका सञ्चालकद्वय हिरण्यकुमारी पाठक र नम्रता शर्माको त्यस संस्थामा रहेको खाता फुकुवा गर्न जानकारी गराइएको भए पनि त्यस संस्थाको ०६७/३/२९ को निर्णयमा सञ्चालक हिरण्यकुमारी पाठकको मुद्दती खाता फुकुवा नगर्ने देखिएकाले सोहीबमोजिम निज हिरण्यकुमारी पाठकको त्यस संस्थामा रहेको मुद्दती खाता रोक्का राख्नुहुन जानकारी गराइन्छ ।
मलाई केही थाहा छैन : पाठक
यसबारे आफूलाई केही थाहा छैन । तपाईं यसका बारेमा बुझ्न संस्थामा आउनुपर्छ । सम्झना सहकारीमा म सुरुदेखि नै सञ्चालक हुँ । सुलभ सहकारीमा म कर्मचारी थिएँ । तर, मैले ०६४ सालमै छाडेकी हुँ । सम्झनाले सुलभमा २८ लाख मुद्दती राखेको हो । केही ब्याज भनेर सुलभले बुझाएको भए पनि अन्य रकम हालसम्म फिर्ता गरेको छैन । हालसम्म धेरै तिर्न बाँकी भइसकेको होला । सहकारीमा एक व्यक्ति विशेषले कारोबार गर्न पाउँदैन । दुईवटै संस्थाका बोर्ड बैठकको निर्णयअनुरूप मुद्दती खातामा रकम राखेको हो ।
प्रतिक्रिया