सिरियाली रक्षामन्त्री मारिए

दमास्कस, ४ साउन । आत्मघाती आक्रमणमा परी सिरियाका रक्षामन्त्री दाउद रजिहाको मृत्यु भएको छ । राजधानी दमास्कसमा रहेको सुरक्षा मुख्यालयमा बैठक बसिरहेका बेला बुधबार आत्मघाती आक्रमण भएको थियो । आक्रमणमा परी राष्ट्रपति बासर अल असदका सालासमेत रहेका रक्षामन्त्रीका सहायक असिफ सकतको पनि मृत्यु भएको छ । राष्ट्रिय सुरक्षा प्रमुख र गृहमन्त्री पनि गम्भीर घाइते भएको बिबिसीले जनाएको छ ।
सुरक्षा मुख्यालयमा आक्रमण गराउन सक्नुलाई विद्रोहीहरूको ठूलो सफलता मानिएको छ । सिरियाली विद्रोहीको समूह ‘फ्रि सिरियन आर्मी’ र अर्को जेहादी समूहले आक्रमणको जिम्मेवारी लिएका छन् । तर, विस्फोट कसले गराएको भन्ने आधिकारिक पुष्टि भइसकेको छैन ।
मुख्यालयमा विस्फोट भएको केही घन्टापछि राष्ट्रपति कार्यालयको सुरक्षा जिम्मेवारी लिएको सिरियाली सेनाको डिभिजन भवनछेउ शृंखलाबद्ध विस्फोट गराइएको थियो । बुधबारको विस्फोटले सिरियाली सरकारलाई ठूलो धक्का पुर्‍याएको विश्लेषण गरिएको छ । घटनापछि सैन्य मुख्यालयले विज्ञप्ति प्रसारण गरी आतंकवादको सामना गर्न र आपराधिक झुुन्डलाई सखाप पार्न सिरियाली फौज झन प्रतिबद्ध बनेको जनाएको छ । आत्मघाती विस्फोट गराउने व्यक्ति राष्ट्रपति असदको अंगरक्षकमध्येकै एक रहेको हुनसक्ने अनुमान गरिएको छ ।
आक्रमणमा परी मारिएका रक्षामन्त्री रजिहा सिरियाका पूर्वसेनाप्रमुख हुन् । सरकारविरोधी विद्रोह दबाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अमेरिकाले रजिहालाई कालोसूचीमा राखेको थियो । उनले बुुस्रा नाम गरेकी असदकी बहिनीसँग विवाह गरेकाले उनी राष्ट्रपतिका विश्वासपात्र थिए । उनको मृत्युपछि जसिम अल–फुराजलाई नयाँ रक्षामन्त्रीमा नियुक्त गरिएको छ ।
विस्फोटपछि मुख्यालय रहेको क्षेत्रलाई सिल गरिएको छ । सो क्षेत्रमा पत्रकारको प्रवेशमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

अठार जर्नेल  टर्की भागे
अंकारा : सिरियाका सैनिक जर्नेलहरू टर्की भाग्ने क्रम जारी रहेको टर्किस अधिकारीले जनाएका छन् । उनीहरूका अनुसार गत सोमबार सिरिया छोडेका एकजना सैनिक जर्नेल मंगलबार टर्की पुगेका छन् । उनीसहित सिरियाका १८ जर्नेल भागेर टर्की पुगेको बताइन्छ । सिरिया छाडेर भाग्ने सैनिक अधिकारी एवं सैनिक जवानको ठूलो संख्या टर्कीमा रहेको बताइन्छ ।
सिरियामा करिब १७ महिनादेखि जारी राष्ट्रपति बासर अल असदविरोधी आन्दोलन दमन गर्ने सरकारी कदम मन नपराउने सैनिकहरू भागेर टर्की पुगेका हुन् । खुला सिमानाको लाभ उठाउँदै उनीहरू टर्की पुगेका हुन् ।
सिरियाको सिमानानजिकै पर्ने टर्कीको भूमिमा ४२ हजार सात सय सिरियाली नागरिक शरणार्थीका रूपमा बसिरहेको बताइन्छ । राष्ट्रपति असदको राजीनामा माग गर्दै जारी आन्दोलनमा हालसम्म १७ हजारभन्दा बढी नागरिकको
ज्यान गइसकेको मानवअधिकारवादीले जनाएका
छन् । (एएफपी)

प्रतिक्रिया