कर्णबहादुर काठमाडौं आउँदै


कैलाली, ४ साउन । दुबईको जेलमा मृत्युदण्डको फैसला सुनाइएका छोरा छुटाउन अपिल गर्न दार्चुलाका कर्णबहादुर बम काठमाडौं हिँडेका छन् । गत वैशाखमा राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री डा. बाबुराम भट्टाराईले छोरालाई छुटाउन विशेष पहल गर्ने आश्वासन दिएपछि बम छोरा छुट्ने आशामा काठमाडौं आएका हुन् ।
मंगलबार दार्चुलाबाट भारतको बाटो हुँदै धनगढी आइपुगेका ६५ वर्षीय कर्णबहादुरले यसअघि आफ्नो छोरा निर्दोष रहेको  र सकुशल रिहाइको पहल गरिदिन काठमाडौंमा राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य सरोकारवालालाई भेटेर अपिल गरेका थिए ।
बुहारी (मृत्युदण्डका सजाय सुनाइएका अमर बमकी पत्नी) सहित काठमाडौं गएर छोराको अवस्थाबारे जानकारी गराएका कर्णबहादुरले राष्ट्रपति र प्रधानमन्त्रीले एक/दुई महिनापछि काठमाडौं आउनू भनेकाले फेरि काठमाडौं जान लागेको बताए । ‘कूटनीतिक पहल गरेर छुटाउनका लागि आवश्यक कदम चाल्ने बताएका थिए,’ उनले भने, ‘पुन: राष्ट्रपति र प्रधानमन्त्रीसँग छोराको अवस्था बुझ्न काठमाडौं जान लागेको हुँ ।’
कर्णबहादुरका चार छोरामध्ये माइलो छोरा ३६ वर्षीय अमर बमलाई एक भारतीय नागरिकको हत्या गरेको अभियोगमा संयुक्त अरब इमिरेट्स दुबईको अदालतले सन् २००३ मा उनीसहित तीन भारतीय नागरिकलाई मृत्युदण्डको सजाय तोकेको छ ।
अमरसँगै जेलमा रहेका तीन भारतीय नागरिकले आफ्नो छोरा निर्दोष भएको अदालतसमक्ष लिखित बयान दिए पनि दोभाषे र बहस गर्ने वकिलको अभावमा अमरले मृत्युदण्डको सजाय पाउनुपरेको कर्णबहादुरले बताए । उनले सरकारले कूटनीतिक पहल गरिदिए अमर मृत्युदण्डबाट बच्ने र रिहा भएर चाँडै घर आउने बताए ।
निर्दोष छोरा अमरलाई छुटाउने पहल गरिदिन अघिल्लोपटक अमरकी पत्नी धनमती (धनिसा) सहित काठमाडौं गएका कर्णबहादुरले यसपटक बुहारी बिरामी परेको र आर्थिक अभावका कारण एक्लै अमरलाई छुटाउन भएको पहल बुझ्न राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्न जान लागेको बताए ।
दुई कक्षासम्म पढेका अमर गरिबीका कारण भारतको दिल्लीमा एकजना मालिकको गाडी चलाउने गर्दर्थे । १२ मंसिर ०५९ मा नजिकै गाउँकी धनमती (धनिसा) सँग विवाह गरेर २५ दिनपछि बिदा सकियो भनेर नोकरीका लागि भारत गएका अमर त्यसपछि एकपटक पनि घरपरिवारको सम्पर्कमा नआएको कर्णबहादुरले बताए ।
चाँडै फर्कन्छु भनेर गएको छोरा एकाएक घरपरिवारबाट सम्पर्कविहीन भएपछि अमरकै चिन्ताले उनकी आमाको पाँच वर्षअघि मृत्यु भएको थियो । यता विवाह गरेको २५ दिनमै पतिबाट अलग भएकी धनमती भने एक दिन अवश्य आफ्नो पति आउँछन् भनेर घरमा कुरिरहेकी आफन्त सुरेन्द्र बमले बताए ।
दार्चुलाको दुर्गम धारी–६, दौउँला घर भएका कर्णबहादुरलाई यसअघि राष्ट्रपति र प्रधानमन्त्रीले निर्दोष अमरलाई के–कसरी हुन्छ मृत्युदण्डबाट बचाउने र रिहाइका लागि दुबई सरकारसँग पहल चाल्ने आश्वासन दिएका थिए । राष्ट्रपति र प्रधानमन्त्रीले नै पुन: अर्कोपटक भेट्न आउन भनेपछि छोरा चाँडै फर्कने आसामा उनी नाति सुरेन्द्रलाई सँगै लिएर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्न गएका हुन् ।
‘सरकारले मेरो छोराबारे उचित पहलकदमी चाले मृत्युदण्डको सजायबाट बाँचेर जेलबाट रिहा भई घर आउने थियो,’ कर्णबहादुरले भने, ‘सरकारले पहल कदमी चालेर अमरलाई बचाइदिए नेपाल सरकारको आजीवन ऋणी हुने थिएँ ।’ घरको आर्थिक अवस्था कमजोर भएका कर्णबहादुर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आउने भनेपछि सुदूरपश्चिम युवा अभियानले बाटो खर्चबापत पाँच हजार रुपियाँ दिएको छ ।

प्रतिक्रिया