इलाम नगरपालिका छैठौं स्थानमा

इलाम, ३ साउन । इलाम नगरपालिका न्युनतम सर्त मापन (एमसीपीएम) मा देशभरका नगरपालिकाहरुमध्ये उत्कृष्ट छैटौं स्थानमा पर्न सफल भएको नगरपालिकाले जनाएको छ ।
आर्थिक बर्ष २०६७/०६८ को न्यूनतम शर्त र कार्य सम्पादन मुल्याङ्कनमा नगरपालिकाले ८१ अंक प्राप्त गरी नेपालका नगरपालिकाहरु मध्ये छैटौं स्थानमा परेको हो । नगरपालिका पूर्वाञ्चलमा भने प्रथम भएको छ ।
गतवर्ष नवौं स्थानमा परेको नगरपालिका यसवर्ष कार्यालयमा भएको कार्यसम्पादनको मुल्याङ्कनको आधारमा प्राप्त अंकका आधारमा छैटौं स्थानमा उक्लिएको हो । योसँगै नगरपालिकाले गतवर्षको थप २५ प्रतिशत अनुदानमा पुन: यसपटक पनि २५ प्रतिशत थप अनुदान पाउने नगरपालिकाहरुको सूचीमा समेत परेको छ ।
यो नतिजाबाट थप श्रोत ल्याउन नगरपालिकाले सफलता पाएको र यसलाई निरन्तरता कायम राख्न नगरपालिकाको कार्यसम्पादनलाई अझ उच्चता तिर लैजाने कार्यकारी अधिकृत अग्नि अधिकारीले बताए । ‘आगामी वर्ष अझ अगाडी ल्याउन नगरपालिका कुन–कुन सूचकमा पछाडी परेको छ त्यो हेरेर पुन कार्य सम्पादन गर्छौं’    उनले भने ।
स्थानीय श्रोत परिचालन बढाउन र प्राप्त साधनको प्रभावकारी उपयोग गर्न बढावा दिने उद्देश्यले स्थानीय निकायको कार्यसम्पादनको आधारमा अनुदान घटबढ गर्ने नेपाल सरकारको नीति रहेको छ । यसैको आधारमा  प्रत्येक बर्ष स्थानीय निकायको न्यूनतम शर्त र कार्य सम्पादन सूचक समेतको आधारमा नगरपालिकाको मापन गरिदैं आएको छ ।

प्रतिक्रिया