नेपालगन्ज, ३ साउन । ‘नेपालगन्जको विद्युत्को ठेगान छैन । कतिबेला जाने हो कसैलाई थाहा हँुदैन । विद्युत् आउनेजाने ठेगान नभएपछि यहाँका सयाँ सेवाग्राहीले चर्को गर्मीमा सास्ती खेपिरहेका छन् । बेठेगानको विद्युत्ले गर्दा कोही गर्मीका कारण भात खान नसकेर जुठै हात घरबाहिर निस्किएका देखिन्छन् भने सुतिरहेकाहरू शीतल खोज्न घरका छत र सडकतिर धाइरहेका हुन्छन् ।’
बेठेगानको बिजुलीका कारण हैरानी खेपिरहेका नेपालगन्ज–९ का रवि कनौजियाले विद्युत् प्राधिकरणसँग यसरी आक्रोश पोखे । विद्युत्कै कारण बिबिएस प्रथम वर्षको परीक्षाको तयारी प्रभावित भएको उनको गुनासो छ । सुर्खेत रोडमा रहेको श्रीसाई इलेक्ट्रोनिक्सकी सञ्चालिका कल्पना शर्माले आफूखुसी विद्युत् काट्दा व्यापार–व्यवसाय प्रभावित भएको बताइन् । उनले भनिन, ‘टिभी र फ्रिज किन्न आएका ग्राहक घन्टौसम्म बसेर त्यत्तिकै फर्किन्छन् । विद्युत् नहुँदा सामान चेक गर्न पाइँदैन ।’
पुनरावेदन अदालतले लोडसेडिङ नगर्न अन्तरिम आदेश दिए पनि कतिबेला लोडसेडिङ हुने हो त्यसको कुनै ठेगान छैन । प्राधिकरणले लोडसेडिङबारे सर्वसाधारणलाई जानकारीसमेत दिएको छैन । अन्य जिल्लामा लोडसेडिङ हुने गरे पनि नेपालगन्जमा भने भारतबाट थप विद्युत् ल्याइएकाले योभन्दा अघि बत्ती जाँदैन थियो । तर, लो–भोल्टेज मेन्टेन गर्ने नाममा प्राधिकरणले बर्सेनि जानकारीविना नै लोडसेडिङ गर्ने गरेको आरोप स्थानीयको छ ।
उपभोक्ता मञ्च बाँकेका उपाध्यक्ष विनोदकुमार श्रेष्ठले प्राधिकरणले अदालतको आदेशबाट बच्न अघोषित लोडसेडिङ गरिरहेको बताए । उनले दीर्घकालीन रूपमा अघोषित लोडसेडिङको समस्या समाधान गर्नेतिर प्राधिकरण निस्क्रिय रहेको आरोप लगाए । विद्युत् प्राधिकरण नेपालगन्ज शाखाका प्रमुख पुष्पराज पन्तले लो–भोल्टेजका कारण पटकपटक विद्युत् जाने समस्या भइरहेको बताए । तर, उनी अदालतको अन्तरिम आदेशको पालना भइरहेको दाबी गर्छन् ।
प्रतिक्रिया