५० दिनसम्म आयोग र प्रहरी अन्धकारमै

काठमाडौ, ३ साउन  । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या भएको बुधबार ५० दिन पुग्दै छ । हत्याको छानबिन गर्न नेपाल प्रहरीका उच्च अधिकारी सम्मिलित समिति र सर्वोच्चकै पूर्वन्यायाधीशको संयोजकत्वमा न्यायिक आयोग बने पनि प्रगति भने अहिलेसम्म शून्य छ ।
अज्ञात समूहले गत १८ जेठमा सुरक्षागार्डसहित रहेका न्यायाधीश बमको गोली हानी हत्या गरेका थिए । बमको हत्यालगत्तै प्रहरीका पाँच वरिष्ठ अधिकृत सम्मिलित एक छानबिन समिति गठन गरिएको थियो । महानगरीय प्रहरी प्रभागका आयुक्त एआइजी कुबेरसिंह रानाको संयोजकत्वमा गठित छानबिन समितिले हालसम्म बमको हत्या कसले र किन गर्‍यो भन्नेबारे केही मेसो पाउन सकेको छैन । एआइजी रानाले ६४ जनाभन्दा बढीसँग बयान लिइसकेको उल्लेख गर्दै अनुसन्धानले ठोस प्रगति गर्न नसकेको स्वीकार गरेका छन् ।
हत्या भएकै दिन एआइजी रानाको संयोजकत्वमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो
(सिआइबी)का एआइजी उपेन्द्रकान्त अर्याल, प्रहरी प्रधान कार्यालय प्रतिआतंकवाद सेलका एसएसपी सुबोध घिमिरे, महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी देवेन्द्र सुवेदी र महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी राजेन्द्रमान श्रेष्ठ सम्मिलित छानबिन समिति गठन गरिएको थियो । समितिले सुरुआतदेखि नै अनुसन्धान गरिरहेको जनाए पनि प्रगति भने केही हुनसकेको छैन ।
प्रहरीले लिएको बयानका आधारमा न्यायाधीश बमका गाडी चालक अष्ट लामाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको छ । ललितपुर जिल्ला अदालतमा चलाइएको मुद्दा तथ्यका आधारमा नभई आशंकाका आधारमा सरकारी वकिलको कार्यालयले चलाएको हो । प्रहरीले बम हत्याकाण्डमा छानबिन गर्न सयौँ प्रहरी परिचालन गरेको र ६४ जनासँग बयान लिए पनि कसले र किन हत्या गरेको हो, त्यसको कुनै तथ्य प्राप्त गर्न सकेको छैन ।
‘बयान लिने र अनुसन्धानका नयाँनयाँ तरिका अपनाए पनि हत्याराको पहिचान हुन सकेको छैन,’ एआइजी रानाले भने ।
त्यसैगरी, सरकारले पनि न्यायाधीश बमलाई सहिद घोषणा गरी हत्याकाण्डको छानबिनका लागि सर्वाेच्चका पूर्वन्यायाधीश प्रेम शर्माको संयोजकत्वमा तीन सदस्यीय न्यायिक आयोग गठन गरेको थियो । आयोगले काम थालेको तीन साता बितिसक्दा पनि हत्याराको कुनै तथ्य फेला पार्न सकेको छैन । आयोगले पनि प्रहरीको समितिजस्तै बयान लिने काम मात्र गरिरहेको छ ।
‘यतिबेला सम्बन्धित व्यक्तिसँग बयान लिने काम र बलले फैसला गरेका मुद्दामा अनुसन्धान गरिरहेका छौँ,’ आयोगका संयोजक शर्माले भने, ‘हामीले १६ जनासँग बयान लिएका छौँ । बमका परिवार र आफन्तसँग सोधपुछ गरिएको छ ।’
४ मंसिर ०३७ देखि ०६४ सम्म न्यायाधीश पदमा रहँदा बमले सयौँ मुद्दा फैसला गरेका थिए । ‘फैसला गरेका मुद्दामध्ये मुख्य मुद्दामाथि अनुसन्धान सुरु भएको छ,’ संयोजक शर्माले भने, ‘फैसला पनि कारण हुनसक्छ भन्ने आशंकाबाट हामीले छानबिन थालेका छौँ ।’ हालसम्म पाँचवटा फैसलामा अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया