मैले म्यान यु छाडे सबै खुसी : बेर्बातोभ

लन्डन, २ साउन । स्ट्राइकर दिमितार बेर्बातोभले आफूले म्यानचेस्टर युनाइटेड (म्यान यु) छाडे सबै खुसी हुने बताएका छन् । म्यान युमा आफू बस्न चाहे पनि सबैको कामना उनले उक्त क्लब छाडे हुने भन्ने रहेको यी बुल्गेरियन खेलाडीको बुझाइ छ । गत सिजनमा उनले म्यान युका लागि १२ लिग खेलमा मात्र उपस्थिति जनाउने अवसर पाएका थिए ।
म्यान युमा चार वर्षका लागि अनुबन्धन भएका बेर्बातोभले अझै एक वर्ष उक्त क्लबमा बिताउन बाँकी छ । तर, उनले अब म्यान युमा आफ्नो भविष्य रहेकोप्रति आशंका व्यक्त गरेका छन् । एक वर्षअघि उनी इंग्लिस प्रिमियर लिगमा सर्वाधिक गोल गर्नेको सूचीमा शीर्षस्थानमा थिए ।
म्यान युले तीन करोड पाउन्ड तिरेर बेर्बातोभलाई अर्को इंग्लिस प्रिमियर लिग क्लब टोटेनहयमबाट भित्र्याएको थियो । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो असन्तोष व्यक्त गर्दै बेर्बातोभले म्यान यु छाड्न सक्ने संकेत गरेका छन् । ‘एउटा सत्य के हो भने यस क्लबलाई म माया गर्छु । तर, म यदि खेल्दिनँ भने कसैका लागि पनि उपयोगी हुन सक्तिनँ ।’ म्यान युबाट आफ्नो खेल उपस्थिति कम भएकोतर्फ इंग्गित गर्दै ३१ वर्षीय बेर्बातोभले फेसबुकमा लेखेका छन्, ‘म खेल्न चाहन्छु, सहयोग गर्न चाहन्छु ।’ विनाकारण आफूलाई कम खेलाइएको भन्दै उनले क्लबलाई ‘गुडबाई’ भन्नुको विकल्प नभएको उल्लेख गरेका छन् । ‘यदि विनाकारण खेल्न पाइन्न भने गुडबाई भन्नु नै उत्तम हुन्छ ।’ बेर्बातोभको फेसबुक पेजमा लेखिएको छ, ‘म व्यावसायिक खेलाडी हँु । मैले टिमलाई सहयोग गर्न पाउनुपर्छ । त्यसका लागि पहिला मलाई अवसर दिनुपर्‍यो ।’
समाचारमा जनाइएअनुसार म्यान युले अहिले बेर्बातोभको मूल्य एक करोड पाउन्ड तोकिरहेको छ । तर म्यान यु प्रशिक्षक सर एलेक्स फर्गुसनले भने ५० लाख पाउन्ड मात्र आफ्नो मूल्य रहेको बताएको बेर्बातोभले उल्लेख गरेका छन् । ‘अनुमानहरू सुन्दासुन्दै म थकित भएको छु ।’ आफ्नो मूल्यबारे आइरहेका फरक–फरक समाचारबारे पनि बेर्बातोभले उल्लेख गरेका छन्, ‘मैले पनि विभिन्न पत्रिका पढेँ, उनीहरूका अनुसार मेरो मूल्य एक करोड पाउन्ड हो । फर्गुसनसँग यसबारे कुरा गरेँ, उनले त अझ ५० लाख पाउन्ड हो भने । कसले चाहिँ सत्य बोलिरहेको छ ? तपाईलाई के लाग्छ ?’
बेर्बातोभले म्यान युका लागि ४८ गोल गरेका छन्, यस क्रममा म्यान युले दुईपटक इंग्लिस प्रिमियर लिग उपाधि जित्यो । सन् २०१०–११ को युरोपियन च्याम्पियन्स लिग फाइनलमा बार्सिलोनाविरुद्ध टोलीमा नपरेपछि बेर्बातोभ म्यान युमा रहने/नरहनेबारे आशंका हुँदै आएको छ । गत सिजन वेयन रुनी, डेनी वेलब्याक र जाभियर हर्नान्डिजपछि मात्र उनलाई अवसर दिइन्थ्यो । यद्यपि, उनले विगान क्लबविरुद्ध हयाट्रिक गरेर गत सिजनमा आफ्नो थोरै संख्याको उपस्थितिलाई पनि स्मरणीय बनाएका थिए ।

प्रतिक्रिया