स्टानफोर्ड, २ साउन । आºनै देशकी कोको भान्डवेघलाई सोझो सेटमा पराजित गर्दै अमेरिकी विश्व टेनिस स्टार सेरेना विलियम्सले स्टानफोर्ड क्लासिक उपाधि रक्षा गरेकी छन् । आइतबार राति सम्पन्न फाइनलमा विलियम्सले भान्डवेघलाई ७–५ र ६–३ ले पराजित गरिन् र विजययात्रा कायम राखिन् ।
करिब एक साताअघि सम्पन्न वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डन पनि सेरेनाले नै जितेकी थिइन् । दुई वर्षको ग्रान्डस्लाम उपाधिविहीन यात्रालाई सेरेनाले गत विम्बल्डन जितेर पूर्णविराम लगाएकी थिइन् । ३० वर्षीय सेरेनाले पहिलोपटक डब्लुटिए प्रतियोगिताको फाइनल प्रवेश गरेकी २० वर्षीय भान्डवेघलाई पराजित गर्ने क्रममा आºनो अनुभवलाई अधिकतम प्रयोग गरिन् ।
‘मैले जितका लागि पर्याप्त खेले,’ खेलपछि सेरेनाको प्रतिक्रिया थियो, ‘तर, म अझै राम्रो खेल्न सक्छु । साँच्चै भन्ने हो भने म मानसिक रूपमा मात्र यहाँ भएकाले जितेँ ।’ भान्डवेघ पहिलो सेटमा ५–४ ले अगाडि रहे पनि खेल आºनो पक्षमा पार्न सकिनन् । उक्त स्थितिमा सेरेनाले पुनरागमन गरिन् र लगातार तीन गेम जितेर सेट जितिन् । दोस्रो सेट भने सेरेनाका लागि सहज रह्यो । उनले ३–१ ले अग्रता लिँदै उपाधि जित्ने सम्भावना बलियो बनाएकी थिइन् ।
हारपछि पनि भान्डवेघले सेरेनाविरुद्ध आफूले राम्रो प्रदर्शन गरेको बताइन् । महिलातर्फ विश्व वरियताक्रममा अहिले चौथो नम्बरमा रहेकी सेरेनाले पछिल्ला २९ खेलमध्ये २८ मा जित हात पारेकी छिन् । उनको यो ४३औँ उपाधि हो र यसले अहिले खेलिरहेका महिला खेलाडीमध्ये सर्वाधिक उपाधि जित्ने आºनै दिदी भेनसको उपाधि संख्या पनि बराबरी गर्यो ।
आसन्न लन्डन ओलम्पिकमा पनि खेल्ने तय गरेकी सेरेनाले अबका केही दिन आराम गर्नेछिन् भने त्यसपछि प्रदर्शनी खेल खेल्दै ओलम्पिकका लागि लन्डन प्रस्थान गर्नेछिन् । सेरेनाले अहिलेसम्म ओलम्पिकमा एकल स्पर्धामा स्वर्ण पदक जित्न सकेकी छैनन् । महिला युगलमा भने सन् २००० र २००८ को ओलम्पिक संस्करणमा सेरेनाले दिदी भेनससँग मिलेर स्वर्ण पदक जितेकी थिइन् । ‘ओलम्पिक स्वर्ण पदकको महत्त्व मेरो हकमा पनि ठूलो हुन्छ ।’ एकल स्पर्धातर्फ इंगित गर्दै सेरेनाले भनिन् ।
एरानीको कीर्तिमान
गत फ्रेन्च ओपनमा सनसनीपूर्ण प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेकी इटालीकी सारा एरानीले एकै सिजनमा चार डब्लुटिए उपाधि जितेर राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । उनले चौथो उपाधिका रूपमा आइतबार बार्बरा जाल्हावोभा स्ट्रिकोभालाई हराएर पालेर्मो ओपन जितिन् । यसै सिजन यसअघि एरानीले एकापुल्को, बार्सिलोना र बुडापेस्ट ओपन जितेकी थिइन् । यसअघि रोबर्टा भिन्सीले एकै सिजनमा तीन डब्लुटिए उपाधि जितेर इटालीका लागि राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । ‘मैले यस कीर्तिमानबारे केही सोचेकै थिइन् तर जब थाहा पाएँ, एकदम खुसी लागिरहेको छ ।’ एरानीले भनिन्, ‘यो वर्ष मेरा लागि ‘म्याजिकल’ जस्तो रह्यो । क्ले कोर्टमा निकै राम्रो प्रदर्शन गरेँजस्तो लाग्छ । अब यसलाई ग्रास र हार्ड कोर्टमा पनि दोहोर्याउनेतर्फ मेरो प्रयास रहनेछ ।’
प्रतिक्रिया