साढे १३ लाख घरधुरीमा नवीकरण ऊर्जा

काठमाडौं,२ साउन । आगामी पाँच वर्षभित्र नेपालको ग्रामीण क्षेत्रका साढे १३ लाख घरधुरीमा नवीकरण ऊर्जा प्रविधि जडान गरिने भएको छ । जलवायु परिवर्तनको असरलाई कम गर्न स्वच्छ तथा  नवीकरणीय ऊर्जाका रूपमा लिइने सोलार, बायोग्यास, सुधारिएको चुल्हो, लघु जलविद्युत््लगायतका नयाँ प्रविधिहरू जडान हुन लागेका हुन् । डेनिस, जर्मन, नर्वेजियनलगायतका विदेशी संघ/संस्थाको सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ती नयाँ प्रविधि विकट गाउँमा बनाउन लागेको हो ।
सन् १९९९ देखि ०१२ सम्म केन्द्रअन्तर्गत ऊर्जा क्षेत्र सहयोग कार्यक्रम सञ्चालन गरिएकामा केन्द्रले सन् ०१७ सम्मका लागि ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम गर्न लागेको हो । कार्यक्रम साउनदेखि नै सुरु हुने केन्द्रले जनाएको छ । ‘पाँच वर्षका लागि कार्यक्रम गर्ने सहमति गर्दैछाँै, एक/दुई दिनमै विभिन्न दातृ निकाय र केन्द्रबीच सहमति हुँदैछ,’ केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा. गोविन्द पोखरेलले भने । केन्द्रका अनुसार पाँच वर्षभित्र ६ लाख घरधुरीमा सोलार, एक लाख ३० हजार घरधुरीमा बायोग्याँस, चार लाख ७५ हजार घरधुरीमा सुधारिएको चुल्हो, नौ हजार घरधुरीमा सोलार ड्रायर, एक लाख ५० हजार घरधुरीमा लघु जलविद्युत्् तथा चार हजार सुधारिएका घट्ट बनाउन लागिएको छ । कार्यक्रमअन्तर्गत ३५ हजार फलामे चुल्हो निर्माण गर्ने लक्ष्य छ । केन्द्रका अनुसार पाँच वर्षभित्र १३ लाख ६८ हजार नवीकरणीय ऊर्जा बनाउनका लागि करिब १५ अर्ब रुपियाँ बराबर खर्च हुनेछ ।
नवीकरणीय ऊर्जाको अभावमा विभिन्न समस्या र प्रदूषणबाट बर्सेनि आठ हजारभन्दा बढीको मृत्यु हुने गरेकामा स्वच्छ ऊर्जाका रूपमा चिनिने नवीकरणीय ऊर्जामार्फत ग्रामीण क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्ने तथा ग्याँस, पेट्रोल, दाउरालगायतको उपयोगमा कम गर्ने उद्देश्यले केन्द्रले नवीकरणीय ऊर्जा प्रविधिमा जोड दिँदै आएको छ । १३ वर्षको अवधिमा १४ लाख घरधुरीले नवीकरणीय ऊर्जामार्फत लाभान्वित भइसकेको कार्यकारी निर्देशक पोखरेलले बताए । केन्द्रका अनुसार हालसम्म करिब ६ लाख घरधुरीमा सुधारिएको चुल्हो, दुई लाख घरधुरीमा लघु जलविद्युत््, दुई लाख २० हजार घरधुरीमा बायोग्याँस तथा चार लाख घरधुरीमा सोलार जडान भई ग्रामीण क्षेत्रका बासिन्दा लाभान्वित भइसकेका छन् । ‘नवीकरणीय ऊर्जालाई ग्रामीण तहसम्म पुग्दा परम्परागत ऊर्जा प्रवृत्तिका कारणले विभिन्न रोग र समस्याबाट ग्रसित बासिन्दालाई धेरै फाइदा पुगेको छ,’ ऊर्जाविज्ञ मधुसूदन अधिकारीले भने । ४५ प्रतिशत घरधुरीमा विद्युत््को पहुँच तथा नयाँ प्रविधिको अभाव भइरहेको बेला नवीकरणीय ऊर्जा प्रविधि ग्रामीण क्षेत्रका लागि विकट क्षेत्रका विपन्न परिवारलाई भरपर्दो देखिएको छ ।
यसको उपयोगले ग्रामीण क्षेत्रमा धेरै फाइदा पुगेको छ । ‘लघु जलविद्युत्् र सोलार पुगेका अधिकांश ग्रामीण क्षेत्रमा अहिले लोडसेडिङको समस्या छैन,’ विज्ञ अधिकारीले थपे, ‘नवीकरणीय ऊर्जाले जलवायु परिवर्तनका कारण नेपालमा पारेको असर न्यूनीकरण गर्न र नेपालमा देखिएको ऊर्जा संकट न्यूनीकरण गर्न सहयोग पुर्‍याएको छ ।’

चुलो जडान समारोह हुँदै

काठमाडौं : करिब ६ लाख १२ हजार सुधारिएको चुल्हो निर्माण गरिसकेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ३ साउनमा ‘पाँच लाखभन्दा बढी सुधारिएको चुलो जडान सम्पन्न समारोह’ गर्ने भएको छ । ‘स्वस्थ भान्छाका माध्यमबाट खुसीयालीपूर्वक घरायसी वातावरण निर्माणको गौरवपूर्ण उपलब्धि’ भन्ने नाराका साथ चुलो जडान समारोह गर्न लागेको हो । ‘सन् १९९९ यता अहिलेसम्म ६ लाखभन्दा बढी सुधारिएको चुल्हो बनाइसकेकाले त्यसको खुसीयालीमा समारोह गर्न लागेका हौँ,’ सोमबार केन्द्रद्वारा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक डा. गोविन्द पोखरेलले भने । उनका अनुसार सुधारिएको चुल्हो अभियानकर्ता, संघ/संस्थाका प्रतिनिधि, दातृ निकायलगायत गरी करिब तीन सय जनाको उपस्थितमा समारोहको आयोजना गरिएको हो ।
सुधारिएको चुल्हो प्रवद्र्धनका लागि विश्वव्यापी सञ्जाल ‘ग्लोबल एलायन्स फर क्लिन कुक स्टोभ’अन्तर्गत सन् ०२० मा १० करोड घरधुरीमा सुधारिएको चुल्हो पुर्‍याउने लक्ष्य राखिएकामा नेपालमा हाल ६ लाख घरधुरीमा बनाइसके पनि ३० लाख घरधुरीमा बनाउन बाँकी रहेको केन्द्रले जनाएको छ । समारोहले सुधारिएको चुल्हो अभियानलाई अझ सशक्त अगाडि बढाउनका लागि सहयोग पुग्ने आशा केन्द्रको छ ।

प्रतिक्रिया