पर्यटकको बसाइ अवधि बढ्यो


काठमाडौं, २ साउन । आर्थिक वर्ष ०६८/६९ को आठ महिनामा नेपाल आउने पर्यटकको बसाइ अवधि बढेको छ । अर्थ मन्त्रालयले प्रकाशित गरेको आर्थिक सर्वेक्षणले यो अवधिमा पर्यटकको औसत नेपाल बसाइ अवधि अघिल्लो आवको सोही अवधिका तुलनामा बढेको देखाएको हो ।
सर्वेक्षण प्रतिवेदनअनुसार विदेशी पर्यटकको बसाइ अवधि १२.६७ दिनबाट बढेर १३.१२ दिन पुगेको छ । पर्यटन वर्ष ०११ मा सरकारले पर्यटकको बसाइ अवधि १३ दिन पुर्‍याउने लक्ष्य थियो । गत आवमा पर्यटकबाट हुने आम्दानी पनि बढेको सर्वेक्षणले देखाएको छ । प्रतिपर्यटक आम्दानी तीन हजार ६७ रुपियाँ र पर्यटकले नोलमा प्रतिदिन गर्ने खर्च तीन हजार एक सय १२ रुपियाँ पुगेको सर्वेक्षणमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार ५३.७ प्रतिशत पर्यटक सामान्य भ्रमणका लागि नेपाल आएका छन् । त्यस्तै ११.७ प्रतिशत ट्रेकिङ तथा पर्वतारोहणका लागि र ८.७ प्रतिशत धार्मिक उद्देश्यका लागि नेपाल आएको तथ्यांकले देखाएको छ । ४.१ प्रतिशत पर्यटक मनोरन्जनका लागि, २.४ प्रतिशत व्यापारिक प्रयोजनका लागि, ३.३ प्रतिशत अफिसियल कामका लागि, १.५ प्रतिशत सभा–सम्मेलनका लागि, ०.३ प्रतिशत र्‍याºिटङका लागि र ४.१ प्रतिशत अन्य प्रयोजनका लागि नेपाल आएका छन् । ९.५ प्रतिशतले भने नोपल आउनुको उद्देश्य खुलाएका छैनन् ।
गत आवमा नेपाल आउने पर्यटक २२.१ प्रतिशतले बढेको सरकारी तथ्यांक छ । अन्तर्राष्ट्रिय स्तरमा भएको नेपालको प्रचारप्रसार र पर्यटन वर्ष राष्ट्रिय अभियानका कारण यो संख्यामा पर्यटक बढेका हुन् ।
अन्तर्राष्ट्रि्रय बजारमा नेपाल पर्यटकीय गन्तव्यका रूपमा पुनस्र्थापित हुन सफल भएको सरकारको दाबी छ । पर्यटन वर्ष अभियानसँगै नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न थुप्रै अन्तर्राष्ट्रिय प्रवद्र्धनका कार्यक्रम भएका थिए । यो अवधिमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएन र बिबिसीमा विज्ञापन गरिएको थियो । कन्जुमर मार्केटलाई लक्षित गरेर नेपाली पर्यटनको प्रवद्र्धन गरिएको यो पहिलो पटक हो । गत आवमा नेपाल पर्यटन बोर्ड तथा निजी पर्यटन व्यवसायीले थुप्रै पर्यटन मेला तथा बिटुबी कार्यक्रममा भाग लिए भने नेपालमा करिब एक दर्जन अन्तर्राष्ट्रिय स्तरमा सम्मेलनहरू भए । पर्यटन वर्ष ०११ मा सरकारले दश लाख पर्यटकको लक्ष्य राखेको भए पनि करिब सात लाख पर्यटक नेपाल भित्रिएका थिए । बढी पर्यटक नेपाल आउने प्रमुख पाँच मुलुकको सूचीमा भारत २० प्रतिशत, चीन ८.४ प्रतिशत, श्रीलंका ८.१ प्रतिशत, अमेरिका ५.७ प्रतिशत र बेलायत ५ प्रतिशत छन् । सर्वेक्षणअनुसार पर्यटन पूर्वाधारमा भने उल्लेख्य प्रगति देखिएको छैन । सरकारले पर्यटन वर्षसँगै पर्यटन पूर्वाधारमा पनि विस्तार गर्ने घोषणा गरेको थियो । गत आवमा नै सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरे पनि होटल क्षेत्रमा लगानी बढ्न सकेको छैन ।
सर्वेक्षणअनुसार अहिले देशभरका एक सय ६ तारे होटलले नौ हजार तीन सय २३ बेड उपलब्ध गराइरहेका छन् । गैरतारे होटल भने गत आवको पहिलो आठ महिनामा ३५ वटा थपिएको उल्लेख छ । पर्यटकीय गतिविधि र पर्यटन क्षेत्रको आम्दानी बढे पनि कुल गार्हस्थ उत्पादन (जिडिपी) मा भने पर्यटन क्षेत्रको योगदान बढ्न नसकेको सर्वेक्षणले देखाएको छ । जिडिपीमा पर्यटनको योगदान तीन प्रतिशत पुर्‍याउने सरकारी लक्ष्य भए पनि यो प्रतिशत १.८ प्रतिशत मात्र रहेको सर्वेक्षणले देखाएको छ ।

प्रतिक्रिया