सिडिएसको आंशिक कारोबार सुरु

काठमाडौं, २ साउन । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सोमबार अर्थमन्त्री वर्षमान पुनको हितग्राही खाता (डिम्याट खाता) निक्षेप सदस्य एस क्यापिटल लिमिटेडमार्फत खाली कारोबार शुभारम्भ गर्‍यो । हालसम्म सिडिएसमा एस डेभलपमेन्ट बैंक र कृषि विकास बैंक गरी दुई कम्पनी सूचीकृत भइसकेको एवं एभरेस्ट बैंक, नागरिक लगानी कोष, शिखर फाइनान्सलगायतका कम्पनीले निवेदन दर्ता गरे पनि अझै सूचीकरण सम्झौता गरिनसकेको सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुबोध शर्मा सिग्देलले बताए ।
त्यस्तै निक्षेप सदस्यका रूपमा हालसम्म सिभिल क्यापिटल मार्केट लि, एस क्यापिटल लिमिटेड र स्टक म्यानेजमेन्ट एन्ड डिपी लिमिटेडले अनुमति प्राप्त गरिसकेका छन् । सिडिएसबाट कारोबार गराउन लगानीकर्ता निक्षेप सदस्यकामा गई हितग्राही खाता खोल्नुपर्ने हुन्छ । आफूसँग भएको सेयर प्रमाणपत्र समर्पण गरी त्यसलाई आफ्नो खातामा चढाउनुपर्ने हुन्छ । निक्षेप सदस्यले त्यसको बदलामा बैंकको स्टेट्मेन्ट जस्तै सेयर प्रमाणपत्रको स्टेट्मेन्ट प्रदान गर्दछ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अध्यक्ष डा. जीवनाथ धितालका अनुसार सोमबारबाट नेपाल स्टक एक्सचेन्जमा डिम्याट खाताको छुट्टै र भौतिक सेयर कारोबारको छुट्टै कारोबार गर्ने व्यवस्था मिलाइएको छ । पहिले राफसाफको काम नेप्सेले म्यानुयल रूपमा गरिरहेकामा अहिले भौतिक कारोबार र अभौतिक कारोबार दुवैको राफसाफको काम सिडिएस एन्ड क्लियरिङले गर्ने उनले जानकारी दिए ।
सिडिएससँग भएको सफ्टवेयरले पुँजीगत लाभ करको गणना गर्न नसक्ने र त्यसको सट्टा कारोबार कर लगाउनुपर्ने भए पनि पूर्ण बजेटको अभावमा तुरुन्त करको दर परिवर्तन गर्न नसकिने हुँदा केही कानुनी झन्झट रहेको प्रमुख कार्यकारी अधिकृत सिग्देलले बताए । कुनै पनि कर लागू गर्ने निर्णय गर्नको लागि नेप्सेका महाप्रबन्धक, उपमहाप्रबन्धक, राफसाफका कर्मचारी र सिडिएसका कर्मचारी संलग्न एक समिति बनाइएको उनले जानकारी दिए ।
प्रमुख कार्यकारी अधिकृत सिग्देललका अनुसार १ साउनबाट सञ्चालनमा आए पनि ६ महिना नेप्सेमा सूचीकृत कम्पनीलाई सिडिएसमा सूचीकृत हुन समयसीमा रहेकाले सो समयसम्म लगानीकर्ताले पनि आफुसँग भएका सम्पूर्ण सेयर प्रमाणपत्रको अभौतिकीकरण गरिसक्ने विश्वासका आधारमा माघ–१ देखि पूर्णरूपमा सिडिएस सञ्चालनमा आउने आधार रहेको बताए ।

प्रतिक्रिया