दुग्ध पदार्थमा संस्थान आत्मनिर्भर

काठमाडौं, २ साउन । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले भारतको पटना डेरीबाट आयात गर्ने गरिएको दूध र दुग्ध पदार्थको आयात बन्द गरेको छ । यसअघि पटना डेरीबाट चीज, दूध पाउडरसमेत आयात गरिन्थ्यो । हाल देशमा १४ लाख मेट्रिकटन दूध उत्पादन हुन्छ । सो उत्पादनमध्ये एक लाख ७० हजार मेट्रिक टनमात्र दुग्ध उद्योगले खरिद गर्दै उपभोक्तासम्म पुर्‍याउने गरेका छन् । संस्थानले ३८ जिल्लाबाट दैनिक साढे दुई लाख लिटर दूध कृषकबाट संकलन गर्छ ।
सो उत्पादनले माग नधानेको भन्दै संस्थान दूध संकलन वृद्धिको योजनामा रहेको महाप्रबन्धक सियारामप्रसाद सिंहले बताए । गत आर्थिक वर्षमा दूधको मूल्य वृद्धिपछि किसानले ३० प्रतिशतसम्म दूध उत्पादन वृद्धि गरेका छन् । महाप्रबन्धक सिंहका अनुसार दूधको गुणस्तरमा सुधार गर्न र बजार प्रवद्र्धनका लागि फिल्डस्तरमा काम सुरु गरिएको छ । दूध चिस्याउने चिलिङ सेन्टरमा स्तरीय ल्याबको व्यवस्था गर्न, बिहान र बेलुकी छुट्टाछुट्टै दूध संकलन सुरु गरिने संस्थानले जनाएको छ । कृषकले दूधको उचित मूल्य नपाएपछि ‘मिल्क होलिडे’ भन्दै सातामा एक दिन संस्थानलाई बिक्री बन्द गर्दै आएका छन् । संस्थान अबका दिनमा मिल्क होलिडे हुन नदिन चितवन मिल्कसँग सहकार्य गर्दै अघि बढ्ने योजनामा रहेको छ ।
दूधको उत्पादन वृद्धिका लागि ‘एक गाई, एक माई’ नीति ल्याएको संस्थानले गाई खरिदका लागि विभिन्न बैंकबाट १२ करोड रुपियाँ लगानी गरेको छ भने दुग्ध सहकारी संस्थाको स्तरोन्नतिका लागि सहकारी बोर्ड, सहकारी विभागसँग सहकार्य गर्ने योजना बनाएको छ । संस्थान स्थापनाको ४४औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा संस्थानका कर्मचारी संघ, संगठनले सुधारका लागि आग्रह गरेका छन् । कर्मचारी संघका अध्यक्ष गणेश यादवले संस्थानले दूध खरिदमा उचित नीति नल्याउँदा घाटा भएको बताए । नेपाल राष्ट्रिय कर्मचारी संगठनका सचिव होमबहादुर बस्नेतले डिडिसीको उत्पादनमा गुणस्तर ह्रास भएको बताए । उनले संस्थान व्यवस्थापन र कर्मचारी संघ, संगठनबीच भएका ३० बुँदे सहमति तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन् । एमालेनिकट कर्मचारी संघका अध्यक्ष बलराम फुयालले संस्थान राजनीतिक हस्तक्षेपले धाराशयी भएको आरोप लगाए । राष्ट्रिय योजना आयोगका सदस्य जनकराज शाहले उद्घाटन गरेको कार्यक्रममा संस्थान सञ्चालक समिति अध्यक्ष शशिकपुर मिया, राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल, कृषि तथा सहकारी मन्त्रालयका सचिव नाथुप्रसाद चौधरीले डिडिसीलाई समयानुकूल सुधार गर्न र गर्दै जाने बताए ।

प्रतिक्रिया