विहारमा चर्पीभन्दा फोन धेरै

कोलकाता : भारतको उत्तरी राज्य विहारको करिब आधा जनसंख्या गरिबीको रेखामुनि छ । निम्न आय भएकाहरूको राज्य विहारमा चर्पी सेवा लिनेको संख्या कम छ । त्यहाँ चर्पी सेवा लिनेको भन्दा फोन सेवा लिनेको संख्या बढी रहेको रोचक तथ्य फेला परेको छ ।
विहारको पछिल्लो राष्ट्रिय जनगणनाले यस्तो तथ्य पत्ता लगाएको हो । जनगणनाले विहारको करिब ५६ प्रतिशत परिवारले मोबाइल वा ‘ल्यान्डलाइन’ फोन प्रयोग गर्ने गरेको देखाएको छ । विहारले विभिन्न विकास संरचना निर्माण गरिरहेको चर्चा चलिरहेका बेला चर्पी प्रयोग गर्ने विहारीको संख्या भने न्यून देखिएको छ । जनगणनाअनुसार विहारका ५० प्रतिशतभन्दा बढी परिवारका लागि चर्पीको उचित प्रबन्ध हुन सकेको छैन । सन् २००१ मा विहारका २ दशमलव २ प्रतिशत जनसंख्याले मात्रै टेलिफोन प्रयोग गर्ने गर्थे । तर, अहिले सो संख्या बढेर ५६ प्रतिशत पुगेको छ ।
भारतका डेपुटी रजिस्ट्रार जनरल भास्कर मिश्रले भने, ‘विहारमा धेरै विरोधाभास छन् । त्यहाँका दसौँ लाख नागरिकले बैंक तथा फोन प्रयोग गर्ने गरेका छन् । तर, यहीँका दसौँ लाखले चर्पी प्रयोग गरेको भने देखिँदैन ।’
विहारले १० प्रतिशतभन्दा बढीको दरमा आर्थिक विकास गरिरहेको भन्दै यसको सर्वत्र तारिफ हुने गरेको छ । भौतिक संरचनाको विकासमा पनि विहारले उल्लेख्य प्रगति गरेको देखिन्छ । तर, चर्पीको प्रयोगमा विहारका जनता अनभिज्ञ हुनु विडम्बनापूर्ण रहेको मिश्रले उल्लेख गरे ।
गत वर्ष भारतको केन्द्र सरकारले चर्पी प्रयोगका विषयमा राष्ट्रियस्तरको कार्यक्रम आयोजना गरेकामा विहारको प्रगति विवरण निकै कम स्तरको देखिएको थियो । सो कार्यक्रमले विहारका हरेक ६ नागरिकमध्ये एकजना चर्पी प्रयोगको पहँुचबाहिर रहेको तथ्य फेला पारेको थियो । (सिन्ह्वा)

प्रतिक्रिया