हातैभरि हरिया चुरा र मेहन्दी

साउन महिना लागेपछि नायिका नन्दिता केसीको मन उमंगले भरिन्छ । महिलाहरूका हातभरि चुरा अनि मेहन्दीका थरीथरी बुट्टा देख्दा रोमाञ्चित हुन्छिन् । त्यही रहर उनमा पनि सर्छ, हातभरि चुरा अनि मेहन्दीका आकर्षक बुट्टा सजाउने चाहनाले छोप्छ । अनि, सिनेमाका कामले फुर्सद पाउनासाथ चुरा पसल अनि मेहन्दी लगाइदिनेहरूकहाँ पुगिहाल्छिन् । यसअघिका प्राय: साउन उनले यसै गरी बिताएकी हुन् । ‘तर, यसपालि अहिलेसम्म मेहन्दी लगाउनै पाइएको छैन भन्या,’ नन्दिता चुकचुकाइन्, ‘हातमा पनि एउटा मात्रै चुरामा चित्त बुझाउनुपरिरहेको छ ।’ हातभरि डम्म हरिया चुरा लगाएर छिनछिन आवाज निकाल्ने उनको रहर अहिले एउटा हरियो बालामा मात्र सीमित भएको रहेछ । हाल नन्दिताले अभिनय गरेको चलचित्र मालतीको भट्टी प्रदर्शन भइरहेको छ भने उनलाई सुटिङको काममा पनि भ्याइनभ्याई छ । यस्तोमा हातभरि चुरा बजाउँदै हिँड्न अप्ठ्यारो हुने भएकाले एउटा मात्रै बाला लगाएको उनले बताइन् । मेहन्दी पनि आफूले गर्नुपर्ने भूमिकामा ‘म्याच’ नहुने भएपछि उनका हातले रंगीन हुन पाएका छैनन् । साउने सोमबारमा महिलाहरूले महत्त्वसाथ लिने शिवजीको व्रत भने उनी पनि बसिरहेकी रहिछन् । आफूले सकेजतिको चाहनाचाहिँ पूरा गरिरहेको सुनाउँदै उनले थपिन् – ‘हरेक वर्षजस्तै यसपाील पनि व्रत बस्ने चाहना भने खुम्च्याउनुपरेन ।’ नन्दिताले मनोकांक्षा पूरा गर्ने महत्त्वाकांक्षाले नभएर आत्मसन्तुष्टिका लागि व्रत बसेको पनि बताइन् ।
नन्दिताको जस्तै नायिका सञ्चिता लुइँटेलको पनि मेहन्दी हातभरि लगाएर साउनको व्रत बस्ने चाहना यो वर्ष पूरा भएन । गर्भवती सञ्चितालाई डाक्टरले साउनमै डेलिभरीको डेट तोकिदिएकाले उनले मेहन्दी लगाइनन् । भनिन्, ‘डाक्टरले यो समयमा कस्मेटिक सामानको प्रयोग नगर्नु भनेका छन् ।’ पाँच महिना गर्भावस्थादेखि नै कस्मेटिक सामग्रीबाट टाढा रहे पनि उनले हरियो चुराले नाडी भने डम्म पारेकी छिन् । आमा, दिदीबाट साउनमा हरियो चुरा, मेहन्दी अनि व्रत बस्नुपर्ने संस्कृति सिकेकी उनलाई साउन महिनाको कुरा गर्दा आनन्द लाग्ने रहेछ । ‘साउन भन्नेबित्तिकै मनमा सकारात्मक धारणा आउँछ,’ उनले भनिन्, ‘साउनमा गरिने व्रतका कारण पारिवारिक मिलन पनि हुन्छ, सबैतिर खुसीझैँ लाग्छ मलाई ।’
पछिल्लो समय साउनमा महिलाले हरियो चुरा तथा मेहन्दी लगाउने चलन अब फेसनजस्तै भइसक्यो । युवा, प्रौढ तथा सेलीब्रिटी सबै खालका नारी यो परम्परामा बाँधिइरहन चाहन्छन् । विशेष गरी युवापुस्तामा मेहन्दी र हरियो चुराको आकर्षण ह्वात्तै बढेको छ । धापासीकी सीमान्ता गौतम सोमबार बिहान साथीसहित मिलेर मेहन्दी लगाउँदै थिइन् । बागबजारको सडक पेटीमा राखिएको मेहन्दी पसलमा झुम्मिएका थिए उनीहरू । अनि, कसको बुट्टा राम्रो बन्यो भन्दै उत्साहसाथ एकअर्काका हात नियाल्दै थिए । बिहान कलेज पढ्ने मेसोमा मेहन्दी पनि लगाउन भ्याएकी सीमान्ता घर गएपछि हातमा हरियो चुरा भर्ने योजना सुनाउँदै थिइन् । तर, सीमान्तालाई मेहन्दी लगाउँदा हुने फाइदा वा महत्त्वबारे जानकारी छैन । ‘साथीहरू सबैले लगाउँछन्, मलाई पनि लगाउन मन पर्छ,’ साथीहरूसँग बुट्टाबारेको चर्चामा मग्न रहेकी उनले ध्यान भंग गर्दै सुनाइन्, ‘तर, यसको अर्थचाहिँ थाहा छैन ।’
साउन महिनामा वर्षात्का कारण चारैतिर हरियाली मौसम हुन्छ, रूखबिरुवाको पालुवा पूर्ण हरियो बनिसकेको हुन्छ । बैशाखदेखि नै सुरु हुने बाली लगाउने काम पनि साउन महिनामा पूरा हुन्छ । साउने मौसमको यही गुणलाई हरिया चुरा, मेहन्दी अनि महिलाको व्रत बस्ने संस्कारसँग जोडेर व्याख्या गर्छन् समाजशास्त्री सुरेश ढकाल । भन्छन्, ‘महिलाले कामबाट विश्राम लिने समयलाई हरियोमा रंगाएर चाडझैँ मनाउन थालेका हुन् ।’ सामाजिक चलनलाई संस्थागत गर्न धार्मिक वा सांस्कृतिक मान्यता थपेर चाडझैँ बनाउने प्रचलन बढेको उनको धारणा छ ।
नयाँ दुलही तथा विवाहित महिला साउनमा माइत जाने चलनसँग पनि हरियो चुरा, व्रत अनि मेहन्दीको महत्त्व जोडे ढकालले । नयाँ दुलहीले साउन महिनामा घरपक्षको धारो बार्नुपर्ने प्रचलनलाई अनिवार्य मान्छ हिन्दू प्रचलनले । ढकालका अनुसार विवाहित महिला माइतीमा रहँदा यो एक महिनालाई चाडका रूपमा खुसीयालीपूर्वक मनाउने चलन विकसित हुँदै फेसनका रूपमा स्थापित भएको हो ।
धार्मिक रूपमा साउन र हरियो रंगको सम्बन्ध जोडिएको कुनै पनि प्रसंग धर्मशास्त्रले व्याख्या गरेको छैन । तर, हिन्दु महिलाले भने यी हरिया शृंगारलाई धर्मसँग जोडेर बुझ्ने गरेका छन् । कीर्तिपुरकी मीना श्रेष्ठले हरियो पहिरनलाई पतिको सुस्वास्थ्यको कामनासँग जोडिएको बुझेकी छन् । एक वर्षअगाडि बिहे भएकी मीना हातमा मेहन्दी र हरियो चुरा लगाएर व्रत बस्नुको अर्थ फेसन मात्र होइन, पतिको दीर्घायुको कामना पनि हो । सोमबार बिहानै शिवालयमा पूजा गरेर फर्किएकी उनले कन्फिडेन्ट सुनाइन्, ‘साउनमा व्रत लिँदा श्रीमान् दीर्घायु तथा स्वस्थ हुने बुझेकी छु ।’
नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मसंस्कृतिविद् डा. माधव भट्टराई भने साउनमा लगाइने हरियो पहिरन तथा व्रतबारेको सम्बन्ध कुनै शास्त्रमा पनि उल्लेख नभएको बताउँछन् । र, यो आफैँमा फेसनका रूपमा विकसित हुँदै आएको धारणा राख्छन् । हरियालीका लता पलाएका बेला प्रकृतिसँग जोडिएर साउने पहिरन र शृंगारको व्याख्या गर्न सकिने उनले बुझेका छन् । ‘अन्य चाडपर्वमा भने पुजाआजा गर्दा भगवानसँग मिल्ने पहिरन लगाउन शास्त्रले सुझाएको छ,’ उनले भने, ‘तीज, दसैँलगायत पर्वबारे हिन्दू धर्मशास्त्रमा पहिरनको रंग सुझाइए पनि साउनबारे भने उल्लेख छैन ।’ डा. भट्टराईका अनुसार साउन महिनामा पूजा गर्दा शिव चाँडो खुसी हुने धार्मिक मान्यता छ । तर, साउने सोमबारमा व्रत बस्दा सुखद दाम्पत्य, सुस्वास्थ्य, सन्तानलाभ हुने व्याख्या शास्त्रमा कहीँकतै नरहेको उनले सुनाए ।

प्रतिक्रिया