राष्ट्रिय खेलकुदको पाँच लाख तिरिएन

कैलाली, १ साउन। गत फागुनमा सुदूरपश्चिममा सम्पन्न छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पाँच लाख रुपियाँ धनगढीका होटलमा तिर्न बाँकी रहेको छ ।
प्रतियोगिता सुरु हुनुअघि बन्द प्रशिक्षणका लागि होटलमा राखिएका सुदूरपश्चिमका खेलाडीको बसोबास र खानाको पाँच लाख रुपियाँ आयोजकले हालसम्म भुक्तानी नगरेको व्यवसायीले बताएका छन् ।
धनगढीको होटल साथीको तीन लाख, दिनेश कटेजको ३० हजार, होटल साथीभाइको १४ हजार, शिवशक्ति होटलको ३६ हजार, सनलाइट होटलको १७ हजार, ताज होटलको १९ हजार, पुष्पाञ्जली होटलको १५ हजार र कञ्चन गेस्ट हाउसको ६ हजार रुपियाँ तीर्न बाँकी छ । खाना र आवासको मात्र होइन, राष्ट्रिय खेलकुदमा पनि अधिकारीहरूले उधारोमा मदिरा सेवन गरेपछि व्यवसायी मारमा परेका छन् । गैरसरकारी संस्था महासंघको गेस्ट हाउसको १५ हजार तथा स–साना होटलमा मदिरासहित चियानास्ताको हजारौँ रकम पनि तिर्न बाँकी रहेको होटल व्यवसायी संघ कैलालीले जनाएको छ ।
त्यस्तै छैटौँ खेलकुदको बन्द प्रशिक्षणमा सुदूरपश्चिमका खेलाडीलाई मेस सञ्चालन गरेर खाना खुवाएको मल्ल टेन्ट हाउसले पनि एक लाख ६ हजार रकम भुक्तानी नपाएको जनाएको छ ।
संघका अनुसार धनगढीका अरू होटलमा पनि खेलकुदको रकम तिरिएको छैन । कुन होटलले कति रकम लिन बाँकी छ भनेर डाटा लिने काम भइरहेको होटल व्यवसायी संघ कैलालीका महासचिव कलम बमले बताए । ‘खेल आयोजकले पछि पैसा दिने भनेर हामीले खेलाडी र खेल पदाधिकारीलाई पाहुना बनाएर होटलमा राख्यौँ तर अहिलेसम्म खाए बसेको पैसा भुक्तानी पाएनौँ’ं बमले भने । अहिलेसम्म सहेर बसे पनि आयोजकले पैसा तिर्ने कुनै संकेत नदिएकाले अब आफूहरूले रकम लिन बाँकी होटलको लिस्ट लिएर जसरी पनि असुल गर्नतर्फ लाग्ने उनले बताए ।
‘जिल्ला खेलकुद कार्यालयमा पटकपटक पैसाको आग्रह गर्‍यौँ तर कुनै वास्ता नै गरिएन,’ साथीभाइ होटलका सञ्चालक खगराज चटौतले भने, ‘पैसा तिर्नु त कता हो, होटलमा खेलाडीलाई बसाउनका लागि आएका पदाधिकारीसमेत सम्पर्कमा आउन छोडे ।’
त्यस्तै, व्यवसायीहरूले पैसा असुलीका लागि जिल्ला प्रशासन कार्यालयमार्फत युवा तथा खेलकुद मन्त्रालयमा पटकपटक निवेदन दिएको भए पनि मन्त्रालयले पनि कुनै पहल नचालेको होटल व्यवसायी बताउँछन् । खेल प्रतियोगिता सकिएको पाँच महिना हुँदा पनि आयोजकले पैसा तिर्न कुनै मतलब नै राख्दैन जति भने पनि होटल ताजका ललित चन्दले भने, ‘अब सम्पूर्ण होटल व्यवसयीहरू एकजुट भएर होटलको नाम लिएर फर्जी बिलभर्पाई बनाई रकम कुम्ल्याउनेलाई कुनै पनि हालतमा छाड्नेवाला छैनौँ ।’
व्यवसायीहरूले पटकपटक क्षेत्रीय खेलकुद विकास समितिमा रकम असुलीका लागि तालाबन्दी गर्न गएको भए पनि स्थानीय कर्मचारी र पदाधिकारी हुँदा फिर्ता भएको बताए । तालाबन्दी गर्न गएका बेला अहिले नगर्न भनेर सम्झाएका कैलालीका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले गएको आइतबार होटल व्यवसायीलाई छलफलका लागि जिल्ला प्रशासन कार्यालयमा बोलाएका थिए ।
प्रमुख जिल्ला अधिकारी बजिमयले व्यवसायीको समस्यालाई माथिल्लो निकायमा पठाइसकेको जानकारी दिए । ‘स्थानीयस्तरमै वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न सकिन्छ,’ प्रजिअ बजिमयले भने । विभिन्न होटलमा खेलाडीले खाए/बसेको रकम कसरी तिर्न सकिन्छ भनेर पहल भइरहेको छ ।
उता छैटौँ खेलका पदाधिकारीले भने एकअर्कालाई दोषारोपण गरिरहेका छन् । उनीहरूले आफ्नो गल्ती नभएको भन्दै अर्कोलाई आरोप लगाएर पन्छिने गरेका छन् । तत्कालीन छैटौँ राष्ट्रिय खेलकुदका संयोजक दीपक सावदले होटलको रकम खाना तथा बसोबास समितिलाई दिइसकेको र कसरी तिर्ने भन्ने उसैको जिम्मेवारी भएको बताए । सावदले कुनै होटलले रकम लिन बाँकी छ भने राष्ट्रिय खेलकुद परिषद्लाई भन्नुपर्ने र उसैसँग माग्न होटल व्यवसायीलाई आग्रह गरे ।
तत्कालीन छैटौँ खेलकुदका बेला धनगढीका नवीन जोशीको संयोजकत्वमा रहेको खाना तथा आवास उपसमितिले भने बन्द प्रशिक्षणको रकम नपाएकाले भुक्तानी गर्न नसकेको जनाएको छ । उक्त समितिका सदस्य तथा तत्कालीन जिल्ला प्रतियोगिता सञ्चालन समितिका अध्यक्ष तिलक चौधरीले क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्ल र लेखा अधिकृत धर्मराज ओझाले होटलमा तिर्नुको सट्टा सिधै खेलाडीलाई रकम भुक्तानी दिएकाले हाल समस्या आएको बताए । खेलाडीलाई नौ दिनसम्म बन्द प्रशिक्षणमा राखेको र राखेपले तीन दिनको एक हजार आठ सय रुपियाँ उपलब्ध गराएर बाँकी रकम मिलाउने भनिएको तथा कार्यालय प्रमुख र लेखा अधिकृतको मनोमानीले गर्दा होटलहरूमा खाए/बसेको पैसा तिर्न नपुगेको चौधरीले बताए ।
क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्ल पनि खाना तथा आवास समितिलाई सबै रकम दिइसकेकाले उसैको जिम्मेवारी भएको भनेर पन्छिए । उनले होटलमा तिर्न रहेको बक्यौता रकम क्षेत्रीय खेलकुद विकास समितिलाई कुनै पनि जानकारी नआएको बताए ।
यसैबीच, होटल व्यवसायी संघ कैलालीले तिर्न बाँकी रकम होटलहरूलाई भुक्तानी गर्नका खेल पदाधिकारीहरूलाई १० दिनको अल्टिमेटम दिइएको छ । सो अवधिमा पनि भुक्तानी नभए कडा आन्दोलनमा जाने संघका अध्यक्ष लक्ष्मण तुलाचनले बताए ।
त्यस्तै, होटल व्यवसायीहरूले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतका कर्मचारी तथा पदाधिकारीहरू तथा उनीहरू खेलाडी राख्नका लागि आए नदिने तर खेलाडी स्वयं आए मात्रै दिने निर्णयसमेत होटल व्यवसायी संघले गरेको छ । छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अवधिमा तीन दिन आवास र खानाको जिम्मा लिएको आवास तथा खाना व्यवस्थापन उपसमितिसँग छ लाख रुपियाँ मौज्दात रहेको स्रोतले बताएको छ । बचत भएको सो रकमबारे खेलकुदका पदाधिकारी र कर्मचारीहरूलाई जानकारी भए पनि उनीहरू आफूहरूलाई केही थाहा नभएको भन्दै पन्छिने गरेका छन् । स्मरणीय छ, छैटौँ राष्ट्रिय खेलकुदमा होटल तथा आवासका साथै मर्मतसम्भारका लागि भनेर पहिले नै निकासा भएको र नक्कली बिल बनाएको आरोपसहित अख्तियारमा मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया