मध्यमवर्गीय परिवार बाँच्नका लागि सङ्घर्षरत

म्याड्रिड, १ साउन । स्पेनमा आर्थिक संकट सुरु हुनुअघि मार्सिडिज गोन्जा र उनको परिवारले सुखपूर्वक जीवनयापन गरिरहेको थियो । उनी एक जुत्ता कारखानामा काम गर्थिन् भने श्रीमान् र एकजना छोरा एक निर्माण व्यवसायमा थिए । तर, गत पाँच वर्षयता आर्थिक संकटका कारण क्रमश: सबैले रोजगार गुमाइसकेका छन् ।
उनीहरूजस्तै स्पेनका दसौँलाख मध्यम वर्गीय परिवार आर्थिक संकटको चपेटा परी धमाधम बेरोजगार हुँदै गएको छ अथवा उनीहरू न्यूनतम आयमा जीवन गुजार्न बाध्य छन् । स्पेनमा विगत पाँच वर्षयता निर्माण कार्यलगायत अन्य व्यापार तथा व्यवसायमा अधिकतम आर्थिक मन्दी छाएकाले दसौँ लाख परिवारले कष्टकर जीवन बिताइरहेका छन् । पहिले दुई हजार पाँच सय युरोसम्म मासिक कमाइ हुनेहरूको आय घट्दै औसत एक युरोमा झरेको छ । सरकारी तथ्यांकअनुसार १७ लाख परिवारका कुनै पनि व्यक्तिले रोजगारी पाएका छैनन् । बेरोजगार दर बढेर २५ प्रतिशतको हाराहारीमा पुगेको छ । २५ वर्षमुनिको जनसंख्यामा बेरोजगारी दर ५० प्रतिशतसम्म पुगेको छ ।
आर्थिक संकट समाधानका लागि तत्कालको उपाय स्वरूप ६५ अर्ब युरो अर्थात् ८० अर्ब डलर ऋण आवश्यक पर्ने स्पेनका प्रधानमन्त्री मोरियानो राजोयले जनाएका छन् । ऋण नजुटेसम्म स्पेनको आर्थिक संकटको असर कम नहुने र मध्यम वर्गीय स्पेनिस परिवारले सुखको सास फेर्न नपाउने धेरैको अनुमान छ । (एएफपी)
काबुल : अफगानिस्तानमा गत २४ घन्टाभित्र नेटोसहितको संयुक्त सेनाले गरेको कारबाहीमा १५ भन्दा बढी तालिबानी चरमपन्थीको मृत्यु भएको छ ।
अफगानिस्तानको गृह मन्त्रालयले जनाएअनुसार कारबाहीका क्रममा थप १० चरमपन्थी घाइते भएका छन् । अफगान राष्ट्रिय प्रहरी, सैनिक र नेटोसँग आबद्ध सैनिकले नान्गार्हार, लाघमान, कुन्दुज, उरुगान, वार्दाक घाज्नी, हेरात र हेल्मान्डलगायत प्रान्तमा कारबाही गरेको थियो ।
कारबाहीमा १५ भन्दा बढी सशस्त्र तालिबानी चरमपन्थीको मृत्यु हुनाका साथै अन्य १० जना घाइते भएको अफगानिस्तानको गृह मन्त्रालयले आइतबार विज्ञप्तिमा जनाएको छ । कारबाहीका क्रममा विभिन्न हातहतियार बरामद गरिएको छ । आक्रमणबाट सुरक्षा बलतर्फ दुई प्रहरी घाइते भएकोसमेत समाचारमा जनाइएको छ ।
अफगानिस्तानमा अफगान र नेटोसँग आबद्ध करिब एक लाख ३० हजार सैनिकले तालिबानी लडाकुविरुद्ध विभिन्न स्थानमा कारबाही जारी राखेका छन् । अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुने समय नजिकिँदै गर्दा तालिबानविरुद्धको कारबाहीलाई तीव्र पारिएको छ । (सिन्ह्वा)

प्रतिक्रिया