आत्मघाती आक्रमणमा सांसद्को मृत्यु

मजार–ए–सरिफ (अफगास्तिान) : अफगानिस्तानको उत्तरी भागमा एक आत्मघाती बम आक्रमणकारीले एक सांसद्की छोरीको विवाह भोजमा आक्रमण गरी सांसद्का साथै अन्य १२ व्यक्तिको हत्या गरेको जानकारी अधिकारीहरूले दिएका छन् ।
आक्रमणकारीले पूर्वलडाकु कमान्डर र हाल सांसद् अहमद खानलाई विवाहमा आएका अन्य अतिथिका सामु अङ्गालो हाली आफ्नो कम्मरमा बाँधिएको बम विस्फोट गराएको सुरक्षा समूहका एक प्रवक्ताले बताए ।
समानगन प्रान्तको केन्द्र अयबाकमा आयोजित उक्त भोजमा भएको आक्रमणमा मृत्यु भएकामध्ये स्थानीय गुप्तचर प्रमुख पनि परेको बताइएको छ । उक्त भोजमा अन्य उच्चपदस्थ सरकारी कर्मचारी पनि उपस्थित भएको बताइएको छ ।
स्थानीय उज्वेक जातिका खानले अफगानिस्तानमा दशकाँैसम्मको द्वन्द्वमा भाग लिएका थिए । उक्त आक्रमणका लागि तत्कालै कसैले पनि जिम्मेवारी लिएको छैन ।
समानगनको केन्द्रीय अस्पतालका चिकित्सक मनसोर फयजले १३ व्यक्तिको शव अस्पताल ल्याइएको र ६० व्यक्ति घाइते भएको जानकारी दिएका छन् । उनले मृतकमा सांसद् अहमद खान तथा समानगनका गुप्तचर प्रमुख पनि परेको उल्लेख गरेका छन् ।
सुरक्षा समूहका प्रवक्ता लाल मोहम्मद अहमाद्जाईले मर्नेको संख्या २२ रहेको बताए । उनले अन्य १०० भन्दा बढी घाइते भएको पनि बताए । (एजेन्सी)

प्रतिक्रिया