पुत्रको मृत्युबाट स्तब्ध सिल्भेस्टर स्टालोन

लस एन्जेलस : अमेरिकी सिने क्षेत्र हलिउडका ख्यातिप्राप्त कलाकार सिल्भेस्टर स्टालोनले शुक्रबार आफ्नो पुत्रको अकस्मात् मृत्युबाट आफू स्तब्ध भएको बताएका छन् । उनका ३६ वर्षीय पुत्र सेजको शरीर अधिक लागुऔषधको प्रयोगका कारण मृतअवस्थामा फेला परेको छ । सेज मुनब्लड स्टालोन सन् १९९० मा ‘रकी–५’ मा पहिलोपटक सिनेमामा देखापरेका थिए भने उनको शव हलिउडस्थित उनकै घरमा उनका घरेलु महिला कर्मचारीले फेला पारेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
‘रकी’ का प्रमुख पात्र स्टालोन हाल ‘एक्पेन्डेबल्स–२’ को प्रवद्र्धनमा रहेका छन् भने सेजको शरीर फेलापरेपछि स्वास्थ्यकर्मीहरूलाई बोलाइएको र उनीहरूले उसको मृत्यु भइसकेको बताएको जानकारी दिइएको छ । टिएमजीले सेजले अधिक संख्यामा लागुऔषधका पिल्स प्रयोग गरेका कारण मृत्यु भएको उल्लेख गरेको छ भने अधिकारीहरूले यो मृत्यु चाहनायुक्त वा दुर्घटनाजन्य थियो भन्ने कुरामा अनुसन्धान भइरहेको बताएका छन् ।
सेज स्टालोनका कानुनी सल्लाहकार जोर्ज ब्रन्सटाइनले उनी तनावमा नभएको उल्लेख गरेका छन् । सेजले नब्बेको दशकमा ‘डे लाइटमा’ आफ्ना पितासँग चलचित्रमा अभिनय गरेका थिए । सेज आफै लेखक तथा निर्देशक हुन् र उनले तीनवटा चलचित्र निर्माण गरेका छन् ।

प्रतिक्रिया