मैले पत्रकारिता भारतबाट सुरु गरेको हुँ । भारतमा ‘युनाइटेड न्युज अफ इन्डिया’ नामको न्युज एजेन्सीबाट २०३३ सालमा पत्रकारिता थालेको थिएँ । सिकारुका रूपमा काम गरेको मैले सुरुसुरुमा ‘टेलिग्राफ’बाट आएको समाचार बनाउने गर्थें । म रिपोर्टिङमा बाहिर निस्किँदैनथेँ । उतिबेला भारतको बिहार अपराधको कुख्यात क्षेत्रमा गनिन्थ्यो । समूहमा हुने झगडा बढ्दै गएर जातीय द्वन्द्वका रूपमा देखा पर्ने गरेका थुप्रै घटना हुन्थे ।
२०३३ सालको असार, साउनतिरको कुरा हो, बिहारको तारापुर क्षेत्रमा रहेको अमिया गाउँमा भएको ‘ग्याङ्ग फाइट’ मा एकै गाउँका सातजनाको ज्यान गएको थियो । मलाई त्यो घटनाको रिपोटिङ गर्न फिल्डमै जाने चाहना जाग्यो । सरकारको बन्दुक फ्याक्ट्री पनि त्यही क्षेत्रमा थियो । त्यसैले पनि मलाई त्यहाँको वस्तुस्थिति जान्ने इच्छा तीव्र भयो ।
त्यतिबेला म पटनामा बसेर काम गर्थें । पटनाबाट दुई सय किलोमिटर पर अमिया गाउँ पर्छ । अमिया गाउँसम्म पुग्न गाडीबाट ओर्लेर पनि थप दुई घन्टा हिँड्नुपथ्र्यो । मेरो मनमा त्यस गाउँसम्म पुग्ने चाहना थियो । अझ भन्नुस्, त्यो समय मैले त्यसलाई नै मुकाम बनाएँ । तर, एकपटक पनि रिर्पोटिङमा नगएको मान्छे, मेरा लागि अमियाको त्यो घटनाको रिपोर्टिङ निकै चुनौतीपूर्ण लागेको थियो । सम्पादकसँग रिपोर्टिङमा जाने चाहना सुनाएँ । उहाँले स्वीकृत दिनुभयो । आफूलाई भने डर लागिरहेको थियो । एउटा स्लिपिङ ब्याग बोकेँ । रिपोर्टिङका सामग्रीको रूपमा मसँग डायरी र कलम मात्रै थियो । फोनको सुविधा पनि थिएन । घटनाबारे केही जानकारी दिनसक्ने व्यक्तिलाई अफिसबाट फोन गरेँ । अनि, त्यस क्षेत्रको केही जानकारी लिएर अफिसबाट हिँडे ।
गाडीको लामो यात्रा, अझ त्यसमाथिको झिँजोलाग्दो सडकको हिँडाइले निकै गलायो । तर, पनि रिपोर्टिङ त गर्नु नै थियो । जातीय द्वन्द्व भएकाले मैले तटस्थ रिपोर्टिङ गर्न नसके जातीय दंगा बढ्न सक्ने खतरा पनि उत्तिकै थियो । त्यसैले मेरो पहिलो रिर्पोटिङ मेरो लागि ठूलै चुनौती थियो । संयोगले गाउँमा सुरुमै शिक्षकसँग भेट भयो । उनले घटनाको वस्तुस्थिति बताए । उनको ब्रिफिङबाट मैले घटनाबारे यथार्थ बुझ्न पाएँ । मरेका परिवारको आलो घाउ कोट्याउनु निकै अप्ठ्यारो कर्म हो, सुरुमा निकै सकस अनुभव भयो । ‘मेरो पेसा नै यही हो, मैले हड्बडाएर, अप्ठ्यारो मानेर हुँदैन,’ यस्तै सोचेर मैले पत्रकरिताको धर्म निभाएँ । मृतकका परिवारका केही सदस्यसँग कुराकानी गर्दा उनीहरूको आँखाबाट झरेको नदीसरह आँसुको भेलले मलाई निकै दिनसम्म भावुक बनाएको थियो ।
घटनाको सूचना त सबै लिएँ । तर, पटना फर्किने बेला भने ठूलो समस्यामा परियो । फर्किंदा रात पर्यो । गाडी भएठाउँ पुग्न असम्भव थियो । गाउँनजिकै प्रहरी चौकी रहेछ । त्यसैको आडमा स्लिपिङ ब्याग ओछ्याएर सुतेँ । रातभरि डर पनि लाग्यो । डरैडरमा चिसो रात बित्यो । बिहानै पटना फर्किएँ । पटना फर्किएर समाचार लेखेँ । शीर्षक ठ्याक्कै याद भएन तर आसयचाँहि ‘ग्याङ फाइटको नाममा हुने जातीय द्वन्द्व’सँग सम्बन्धित थियो । मैले लेखेको समाचार एजेन्सीले प्राथमिकता दिएर प्रयोग गर्यो । त्यस समाचार भारतका नाम चलेका पत्रिकाका अघिल्ला पृष्ठमा प्रमुखता साथ छापिए । एजेन्सीमा नाम लेखिने चलन थिएन । मैले त्यति दु:ख गरेर लेखेको भए पनि नामचाहिँ आएन । त्यसबेला नाम आएको भए एजेन्सीको प्रचार मात्रै नभएर मेरो पत्रकारितालाई दह्रो बनाउन अझै टेवा पुग्थ्यो भन्ने अहिले लाग्छ । मेरो त्यो रिपोर्टिङले मैले काम गर्ने एजेन्सीमा भने मलाई स्थापित गराउन निकै मद्दत पुर्यायो । त्यतिबेलाको मेरो लगनशीलताका कारण मेरो पत्रकारिता–जीवनले गति पक्डेको थियो । त्यही पहिलो रिर्पोटिङले मलाई अहिलेसम्मको पत्रकारिता जीवनमा सहयोग पुर्याएको छ । त्यो मेरो पहिलो पाइला थियो, मेरो पहिलो सफलता ।
प्रस्तुति : प्रतिमा सिलवाल
प्रतिक्रिया