सेनाका पूर्व रथीलाई थुनामा राख्न आदेश

बुटवल, २९ असार । रतुवा मृग मारेको अभियोगमा पक्राउ परेका नेपाली सेनाका पूर्व सहायक रथी सागर शम्शेर जबरालाई जिल्ला प्रशासन कार्यालय नवलपरासीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
गत जेठ–३१ गते चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत पर्ने नवलपरासीस्थित नमूना मध्यवर्ती सामुदायिक वनमा शिकार गरी भाले मृग मारेर लैजादै गरेको अवस्थामा उनी सहित तीन जनालाई स्थानीयवासीले पक्राउ गरेर निकुञ्जको जिम्मा लगाएका थिए ।
आवश्यक अनुसन्धान पछि निकुञ्जले छाडेपनि हातहतियार सम्बन्धी मुद्दामा नवलपरासी प्रहरीले साता दिन अघि जवरालाई पक्राउ गरेको थियो । पक्राउ परेका ललितपुर कुपण्डोल निवासी ७० बर्षीय जवरालाई प्रशासनले खरखजना ऐन अन्र्तगत पुर्पक्षका लागि कारागार चलान गरेको मुद्दा फांटका नायब सुव्वा पदमराज नेपालले बताए ।
मृग मार्न प्रयोग भएको गोलीको इजाजत नभएकोे अनुसन्धानमा देखिएपछि उनी माथि खरखजना ऐन अन्र्तगत मुद्दा चलाएको नेपालले जानकारी दिए ।
जवरालाई १ वर्ष देखि ३ वर्षसम्म जेल सजायको माग सहित सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गरेको छ ।
नेपाली सेनाका पूर्व सहायक रथी सहित सेनाका पूर्व सुवेदार सीताराम कार्की र नवलपरासीको बज्रदल गण डण्डामा कार्यरत क्याप्टेन बलदेव कुँवरलाई स्थानीयवासीले पक्राउ गरेका थिए । सहसेनानी कुंवरलाई भने नेपाली सेनाले कारबाही गर्ने जनाएको छ ।

प्रतिक्रिया