काठमाडौं : प्रथम पिरामिड अन्तरकलेज थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वायजमा ट्रिनिटीको ‘ए’ टिम र गल्र्समा गोल्डेनगेट बिहीबार च्याम्पियन बनेका छन् । काठमाडौं जिल्ला खेलकुद विकास समिति तथा पिरामिड इन्टरनेसनल कलेजद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगिताको ब्वायज फाइनलमा ट्रिनिटीले मोर्गन ‘ए’ माथि १०–९ को रोमाञ्चक जित दर्ज गर्यो । निर्धारित समयको खेल ७–७ को बराबरीमा सकिएको थियो । अतिरिक्त समयको खेलमा ट्रिनिटीले ३–२ को अग्रता लिँदै उपाधि पक्का गर्यो । ट्रिनिटीको जितमा तेन्जिङ येशी लामाले ८ अंक योगदान गरे ।
गौशालाको पिङ्गलास्थानस्थित आयोजकमध्येको एक पिरामिडको कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा गोल्डेनगेटले क्लासिकको चुनौती ८–५ ले समाप्त पार्यो । गोल्डेनगेटकी बिना नकर्मीले ५ स्कोर गरिन् । ब्वायजमा नेसनल ‘बी’ तथा गल्र्समा साइपाल ‘बी’ तेस्रो भए । नेसनलले मोर्गन ‘बी’ लाई १०–९ तथा साइपालले नासालाई ४–३ ले हराए । फाइनलका सर्वाधिक स्कोरकर्ता तेन्जिङ र बिना आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । (सौस)
प्रतिक्रिया