टेलिसेन्टरका लाखौँका सामान अलपत्र

नेपालगन्ज, २९ असार । बाँकेको राप्तीपारिका गाविसमा सञ्चालन गर्न लागिएको टेलिसेन्टरका लाखौँ मूल्यका सामान जिल्ला हुलाक कार्यालयमा थन्किएका छन् ।
असुरक्षाको कारण देखाउँदै गाविस सचिवले टेलिसेन्टर सेवा सञ्चालन गर्न नमानेपछि कम्प्युटर, फोटोकपी मेसिन, स्क्यानरलगायत सामग्री त्यत्तिकै थन्किएका हुन् । जिल्ला हुलाक कार्यालय बाँकेले राप्तीपारिका सुइया, गोनाना र उदयपुर गाविसमा चालु आर्थिक वर्षभित्र सुविधा सम्पन्न टेलिसेन्टर सञ्चालन गर्ने भन्दै ती सामग्री खरिद गरेको थियो ।
आर्थिक वर्ष सकिनै लागे पनि गाविस सचिवले टेलिसेन्टर सञ्चालन गर्न नसक्ने भन्दै कम्प्युटरलगायत सामग्री लिन मानेका छैनन् । ‘टेलिसेन्टर सञ्चालन गर्न सहयोग गर्छौं सामान किन्नोस् भने, अहिले सामान ल्याएपछि सामानको सुरक्षा गर्न सकिन्न भन्दै सामान लिन मानिरहेका छैनन्,’ गाविस सचिवका कारण राप्तीपारिका गाविसमा टेलिसेन्टर सञ्चालन गर्न नसकिएको बताउँदै हुलाक कार्यालयका प्रमुख केशरसिंह माझीले भने, ‘अहिले सामानहरू गोदामको सो बनेका छन् ।’
ग्रामीण क्षेत्रका नागरिकलाई सूचना प्रविधिमा पहुँच पुर्‍याउन हुलाक कार्यालयले बाँकेका अन्य चार गाविसमा टेलिसेन्टर सञ्चालन गरिसकेको छ । टेलिसेन्टरमार्फत सहुलियत मूल्यमा इमेल, इन्टरनेट, फोटोकपी सेवा र कम्प्युटरको आधारभूत कक्षाजस्ता सेवा सञ्चालन भइरहेको हुलाक प्रमुख माझीले बताए । तर, विद्युत्मा भइरहेको लोडसेडिङ, लो भोल्टेज र सुस्त गतिको इन्टरनेट सेवाका कारण सेवा प्रभावकारी हुन सकिरहेको छैन ।
सेवाग्राहीले पनि टेलिसेन्टरका सेवा प्रभावकारी हुन नसकेको गुनासो गर्दै आएका छन् । हुलाक प्रमुख माझीले प्राविधिक समस्याले सोचेजस्तो सेवा दिन नसकिएको स्विकार्दै सुधार गर्नतिर लागिरहेको बताए । ‘विद्युत् र नेट सेवा प्रभावकारी नभएका कारण त्यसको असर टेलिसेन्टर सेवामा पनि परेको हो,’ माझीले भने । अहिले हुलाक कार्यालयले बाँकेको चिसापानी, राधापुर, खजुरा र कोहलपुर इलाका हुलाकमा टेलिसेन्टर सञ्चालन भइरहेको छ ।
प्रतिबद्धताविपरीत राप्तीपारिका गाविस सचिवले टेलिसेन्टर सञ्चालन गर्न नमानेपछि गोदाममा थन्किएका सामग्री कहाँ तह लागउने भन्ने विषयमा हुलाकका कर्मचारी अन्योलमा छन् । उनीहरूले उपयुक्त ठाउँ हेरेर अन्य गाविसमा ती सामग्री प्रयोग गर्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया