क्लिन्टनले म्यानमार राष्ट्रपतिलाई भेट्ने


नोम्पेन्ह, २९ असार । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले म्यानमारका राष्ट्रपति थाँ सेनसँग बिहीबार क्याम्बोडियामा भेट्ने भएकी छिन् । क्याम्बोडियाको पर्यटकीय सहर सिम रिपमा उनीहरूबीच भेट हुने तय भएको अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले जनाएका छन् । भेटका क्रममा उनीहरूबीच म्यानमारविरुद्ध अमेरिकालगायत पश्चिमी राष्ट्रले लगाएको नाकाबन्दी हटाउने विषयमा छलफल हुने जनाइएको छ । क्याम्बोडियामा जारी वाणिज्य सम्मेलनमा सहभागी विदेशमन्त्री क्लिन्टन र राष्ट्रपति सेन त्यहाँ पुगेका हुन् ।
यसअघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले विज्ञप्ति प्रकाशन गरी म्यानमारका राष्ट्रपति, प्रजातन्त्रवादी नेत्री आङ साङ सुकी र त्यहाँका जनताले म्यानमारमा प्रजातन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका थिए । विदेशमन्त्री क्लिन्टनले गत डिसेम्बरमा म्यानमार भ्रमण गरेकी थिइन् । म्यानमार भ्रमणका क्रममा त्यहाँको सरकारले अघि सारेको राजनीतिक सुधारका कार्यक्रमको उनले प्रशंसा गरेकी थिइन् ।
यसैबीच म्यानमारका राष्ट्रपति सेनले पनि अमेरिकासहित विश्वका अरू सबै राष्ट्रलाई म्यानमारमाथि लगाइएको नाकाबन्दी हटाउन आग्रह गरेका छन् । बेलायतको फानान्सियल टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले यस्तो आग्रह गरेका हुन् । अन्तर्वार्तामा उनले भनेका छन्, ‘हामीमाथि लगाइएका आर्थिक एवम् अन्य वित्तीय नाकाबन्दी हटाउन र सहज वातावरण बनाउन सबै राष्ट्रसँग आग्रह गर्छु ।’
राजनीतिक सुधारको पछिल्लो कडीका रूपमा म्यानमारले केही दिनअघि थप राजनीतिक बन्दी मुक्त गरेको थियो । यसबाट उत्साहित हुँदै अमेरिकाले म्यानमारमा २२ वर्षपछि पुन: राजदूतावास खोल्न बुधबार आºना राजदूतलाई त्यसतर्फ पठाएको थियो ।
सैनिक समर्थन प्राप्त सरकारले राजनीतिक सुधारको एजेन्डा अघि सार्दै एकपछि अर्काे गर्दै नाटकीय सुधारका काम गरेको छ । यसैक्रममा त्यहाँकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीलाई पनि सन् २०११ को सुरुमै नजरबन्दबाट मुक्त गरेको थियो । उपनिर्वाचनमा नेत्री सुकी विजयी भएपछि उनले संसद्मा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत प्राप्त गरिसकेकी छिन् । सन् १९९१ मा म्यानमारमा भएको आमनिर्वाचनमा नेत्री सुकीको दल नेसनल लिग फर डेमोक्रेसीले अत्यधिक बहुमत ल्याएको भए पनि त्यहाँको सैनिकले उनलाई सरकार गठन गर्न दिएको थिएन । बहुमत प्राप्त दललाई सरकार गठन गर्न दिनुको सट्टा सो दलका नेतालाई जेल हाली देशमा सैनिक शासन सुरु गरेपछि विश्वका विभिन्न राष्ट्रले म्यानमारसँग कूटनीतिक सम्बन्ध तोडेका थिए । (एएफपी)

प्रतिक्रिया