जेलमा आक्रमण गरी हत्या

लाहोर : पाकिस्तानको लाहोर सहरमा रहेको एक कारागारमा बन्दुकधारीले आक्रमण गरी प्रहरी र जेलका कर्मचारी गरी जम्मा नौजनाको हत्या गरेका छन् । पाकिस्तानको बाटो हुँदै अफगास्तिानमा रहेका नेटो सैनिकलाई खाद्यान्न आपूर्ति गरिँदै आएकामा सो बाटो केही समयअघिसम्म पाकिस्तान सरकारले बन्द गरेको थियो ।
सो बाटो गत सातादेखि पुन: सुचारु भएपछि पाकिस्तानी सुरक्षाकर्मीमाथि आक्रमण भएको हो । बिहीबार सबैरे जेलको सुरक्षार्थ खटेका प्रहरी र जेलका कर्मचारीमाथि करिब दस बन्दुकधारीले आक्रमण गरेको पन्जाब प्रान्तका प्रहरी प्रमुख हाबिबुर रहमानले बताए । जेल भवनमा जेल कर्मचारी र प्रहरी गरी जम्मा ३५ व्यक्ति सुतिरहेका थिए ।
तीनवटा मोटरसाइकल र एक कारमा आक्रमणकारी आएका थिए । हातमा राइफल र ग्रिनेड बोकेरका उनीहरूले अकस्मात् आक्रमण सुरु गरेका थिए । आक्रमणको कुनै पनि चरमपन्थी समूहले जिम्मा लिएको छैन । तर, प्रहरीले भने गत सोमबार उत्तरपश्चिम पाकिस्तानमा सुरक्षाबलमाथि आक्रमण गर्ने आतंककारी समूहले नै यो आक्रमण गरेको दाबी गरेका छन् । करिब ८० लाख जनसंख्या रहेको लाहोर सहरमा सन् २०१० देखि तालिवान र अल–कायदासँग आबद्ध चरमपन्थीले बारम्बार यस्तो आक्रमण गर्ने गरेका छन् । (एएफपी)

प्रतिक्रिया