एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश पूर्वराजा ज्ञानेन्द्रपुत्र पारस–पथमा सवार हुन थालेका छन् । राजतन्त्रको अन्तिम समयमा युवराज–धिराजको उपाधि पाएका पारसको चर्तिकला सबै नेपालीलाई थाहा नै छ । रक्सी खाएर मातेपछि उनले क्यासिनोमा ताण्डव नृत्य प्रस्तुत गर्थे भने चितवन पुगेर कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरीलाई गोली नै ताक्न भ्याउँथे । सडकमा ट्राफिक नियमसँग यात्रा गरिरहेका केही कलाकारको हत्यासम्म गर्न भ्याइसकेका पारसको राजतन्त्र पतनमा केही देन रहेको चर्चा हिजो र आज पनि चल्दै आएको छ । छोरीहरूसँग विदेशमा रहेका पारस पछिल्लो समय परिवारबाट टाढा भइरहेका समाचार सार्वजनिक हुँदैछन् । राजतन्त्रको अन्तिम समयमा ‘बूढाहरूले बिगारे’ भन्दै बुबा ज्ञानेन्द्रसँग रुष्ट देखिएका पारसको त्यसपछि पारिवारिक सम्बन्ध सुध्रन सकेको छैन । तुलसी गिरीजस्ता व्यक्तिलाई मन्त्रिपरिषद्को उपाध्यक्ष बनाएपछि बिरक्तिएका पारसको दैनिकी क्रमश: परिवर्तन हुन थालेको जानकारहरूको भनाइ छ । केटी, रक्सी नभइनहुने उनको लत त्यसपछि बढ्दै गएर अहिले परिवारसँगै बस्ने अवस्थामा नभएपछि उनी विदेशिएका हुन् ।
दशक लामो जनयुद्ध लडेको एनेकपा (माओवादी)का नेता तथा पूर्वप्रधानमन्त्री प्रचण्डका छोरा प्रकाश ठ्याक्कै पारस हिँडेकै बाटोमा हिँड्न थालेका छन् । पारसका सयौँ गल्तीबीच राजसंस्थाले उनलाई कारबाही गरेको थिएन तर प्रकाशलाई भने कारबाही गर्ने पेरिसडाँडाले निर्णय गरेको छ । फरक यत्ति मात्र हो । अध्यक्षकै छोरा भएकाले उनको कारबाही ‘हात्तीको देखाउने दाँत’ मात्र भएको चर्चा पनि चल्न थालेको छ । हेरौँ भविष्यले देखाउनेछ । अविवेकी काम र शैलीकै कारण पटक–पटक विवादमा मुछिएका प्रचण्डले आफूलाई नेपालको पहिलो राष्ट्रपति घोषणा गरेर राष्ट्रपति बन्न नसक्नु, रुक्मागद कटवाल प्रकरणकै कारण भारतलाई विदेशी प्रभू भन्दै सत्ताबाट बाहिरिन बाध्य हुनुजस्ता पीडा भोगिसकेका छन् । तिनै प्रचण्ड दर्शनका कुरा गर्छन् भने छोराको चर्तिकला कम रोमाञ्चक छैन ।
केही दिनदेखि एमाओवादी कार्यकर्ता नै लिएर बेपत्ता भएका प्रकाशको चर्तिकला यस्तो छ, प्रकाशले पहिलो विवाह माओवादीकै नेता पोष्टबहादुर बोगटीकी छोरी प्रभासँग १२ फागुन ०६२ मा गरे । दुई वर्षपछि २२ जेठ ०६४ मा उनीहरूबीच सम्बन्धविच्छेद भयो । प्रकाशले दोस्रो विवाह सिर्जना त्रिपाठीसँग ३ माघ ०६४ मा गरे । ०६६ मंसिरको पहिलो साता छोराका बाबु बनेका प्रकाशले तेस्रो विवाह बिना मगरसँग २१ असार ०६९ मा गर्न भ्याएका छन् । घरमा छोरा र श्रीमती त्रिपाठी हुँदाहुँदै प्रकाशले सरस्वती बहुमुखी क्याम्पसकी स्ववियु सभापति बिना लिएर भारततर्फ लागेका छन् । केही पहिले एउटै टोलीमा रहेर सगरमाथा आरोहण गर्दा यो जोडी आपसमा नजिकिएको थियो । प्रकाश र बिनाबीचको अवैध सम्बन्धको चर्चा चल्न थालेपछि उनीहरू त्यसलाई नकार्दै आएका थिए । प्रकाश २१ असारदेखि सम्पर्कविहीन भएका हुन् । प्रचण्ड पारिवारिक स्रोतका अनुसार सगरमाथा आरोहण गरेको टिमसँग घुम्न जान्छु भनेर निस्किएका प्रकाश सम्पर्कमा आएका छैनन् । कञ्चनपुरकी बिना सुर्खेतका शंकर अधिकारीकी पत्नी हुन् । शंकर पनि माओवादीका पूर्णकालीन कार्यकर्ता हुन् । माओवादीमा आएको विभाजनपछि बिना एमाओवादी र शंकर नेकपा–माओवादीतिर लागेका छन् । प्रकाश र बिना फरार भएपछि दुवैले मोबाइल स्विच अफ गरेका छन् भने फेसबुक एकाउन्ट पनि बन्द गरेका छन् । एमाओवादीले प्रचण्डपुत्र प्रकाशलाई नेवा: राज्यसमितिको सदस्यबाट निलम्बन गरेको छ । प्रकाश प्रकरणपछि प्रचण्ड निक्कै तनाबमा छन् । प्रकाशले ‘कसैलाई खुसी पार्न सकिनँ, अब बाहिर नै श्रम गरेर बस्छु’ भन्दै हिँडेको स्रोतहरूको भनाइ छ ।
संविधान र शान्तिका लागि भन्दै प्रकाशको दबाबमा सरकारले दुई करोड रुपियाँ सगरमाथा आरोहण गर्न दिने निर्णय गरेको थियो । त्यसको चौतर्फी तीव्र विरोध भएपछि प्रकाश र उनको टिमले त्यो रकम लिएन । प्रकाशले राम्रो नियतले लिन लागेको रकम लिन नदिनेलाई जस्तोसुकै कारबाही गर्ने पत्रकार सम्मेलनमै धम्की दिएका थिए । जब हिमाल आरोहण अभ्यास सुरु भयो, त्यहीँबाट बिना र प्रकाशको प्रेमलीला सुरु भएको हो । अभ्यासमा एलापिक हिमाल जाँदा प्रकाश र बिना मगरबीच सम्बन्ध झांगिएको थियो । त्यो सम्बन्ध सर्वोच्च शिखर आरोहणमा खुल्यो । चर्तिकला बढ्दै गएपछि आरोहण टिमका सदस्यहरूले बिना र प्रकाशलाई सम्झाउनेदेखि हप्काउनेसम्म गर्न भ्याएका थिए । यति मात्र होइन, बिनासँगको सम्बन्ध चर्चामा आएपछि बुबा प्रचण्ड र आमा सीताले उनलाई सम्झाउने प्रयास पनि गरेका थिए । ती सबै प्रयासलाई लात मारेर उनी पारसपथमै सवार हुन बिनालाई लिएर बेपत्ता हुनुले प्रचण्डको राजनीतिक यात्रालाई धेरथोर असर पार्ने देखिन्छ । अहिले बजारमा ‘छोरो होस् त प्रकाशजस्तो’ भन्ने नयाँ उखान बनिसकेको छ । सबैका कुराकानी, छलफलका विषय प्रकाश बन्न पाएका छन् ।
प्रतिक्रिया