शक्ति केन्द्रीकृत गर्ने अध्यक्ष दाहालको प्रस्ताव

काठमाडौं, २९ असार । पार्टी विभाजनपछि बसेको एमाओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतृत्वमा शक्ति केन्द्रीकृत गर्ने र अन्तरसंघर्षमा कडाइ गर्ने गरी प्रतिवेदन पेस गरेका छन् ।
कोटेश्वरको पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बिहीबार सुरु बैठकमा अध्यक्ष दाहालले मोहन वैद्य समूहले हालै मात्र नेकपा–माओवादी गठन गरेको अवस्थामा अन्तरसंघर्षमा कडाइ गर्ने आशयको प्रतिवेदन पेस गरेका हुन् । अध्यक्ष दाहालको प्रतिवेदनमा पार्टीमा अत्यधिक जनवाद प्रयोग गर्न दिइएकै कारण पार्टी विभाजनको अवस्थामा पुगेकाले त्यसमा अब अंकुश लगाउनुपर्ने उल्लेख छ ।
बैठकपछि पार्टी प्रवक्ता दीनानाथ शर्माले अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा समग्र अन्तरसंघर्षको समीक्षा, राजनीतिक अन्तरसंघर्षको समीक्षा, अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थितिको व्याख्या गरिएको जानकारी दिए । त्यस्तै, प्रतिवेदनमा १२ बुँदे समझदारीदेखि हालसम्मको राजनीतिक परिस्थिति र भावी कार्यदिशाबारे पनि दाहालले उल्लेख गरेका छन् ।
‘पार्टी अन्तरसंघर्षमा अत्यधिक जनवादको प्रयोग गर्न दिइएकाले त्यसले अराजकता उत्पन्न गरी पार्टी फुट र विभाजनको अवस्थामा पुग्यो,’ अध्यक्ष दाहालको प्रतिवेदन उद्धृत गर्दै प्रवक्ता शर्माले भने ।
बैठकमा ३८ पृष्ठको राजनीतिक प्रतिवेदन दुई घन्टा लगाएर दाहालले प्रस्तुत गरेका थिए । बैठक शुक्रबार पनि जारी रहने पार्टीले जनाएको छ ।

दाहाल–भारतीय राजदूत भेट
काठमाडौं : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र भारतीय राजदूत जयन्त प्रसादबीच बिहीबार भेटवार्ता भएको छ । नेपालको पछिल्लो राजनीतिक अवस्था, शान्ति र संविधानलगायत विषयमा उनीहरूबीच छलफल भएको स्रोतले जनाएको छ ।
विपक्षी दलहरूले कामचलाउ सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याउन नमिल्ने जनाइरहेका बेला अध्यक्ष दाहालसमक्ष राजदूत जयन्तले त्यसमा समेत चासो जनाएको स्रोतको भनाइ छ । उनले दलहरूबीच सहमति र सहकार्य गरेर अघि बढ्न दाहाललाई सुझाव दिएका छन् । जवाफमा दाहालले सहमतिमै सरकारले बजेट ल्याउने बताएका थिए । (सौस)

प्रतिक्रिया