राजीनामा माग्दा भट्टराईलाई पीडा हुन्छ

दाङ, २८ असार । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कामचलाउ सरकारको सहज बर्हिगमन हुन नसक्दा राजनीतिक जटिलता भएको बताएका छन् ।
प्रेस चौतारी दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाओवादीको सत्तालिप्साका कारण बाबुराम भट्टराई सरकारमा टाँसीरहेको आरोप लगाए । उनले भने, ‘वर्तमान अवस्थामा समस्याको मुख्य जड कामचलाउ सरकार हो ।’
विपक्षीहरुको सहमति विना कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नसक्ने दोहराएका नेपालले भने, ‘बजेटमा अन्योलता हुँदा पनि भट्टराई सरकार चुप लागेर सत्तामा बसेको छ ।’
‘विपक्षी दलहरुले राजीनामाको कुरा उठाउँदा बाबुरामजीलाई पीडा भैरहेको छ,’ उनले भने, ‘निकासका लागि मार्गप्रसस्त गुर्नको विकल्प छैन ।’
अर्को प्रसङगमा नेता नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पवित्र धार्मिकस्थल स्वर्गद्धारीमा गएर बस्न सुझाव दिएका छन् ।
‘पूर्व राजा शाहको चलखेल निरर्थक छ,’ उनले भने, ‘राजसंस्था फर्किन्छ भन्नु दिवा सपना मात्रै हो ।’
यसैबीच, एमालेको राप्ती अञ्चल स्तरीय प्रशिक्षण कार्यक्रम आजदेखि घोराहीमा सुरु भएको छ । भेला शुक्रबारसम्म चल्ने छ ।

प्रतिक्रिया