कोषले शाखा विस्तार गर्ने

काठमाडौं, २८ असार । मुलुकको आर्थिक विकासका लागि सर्वसाधारणलाई बचत गर्न अभिप्रेरित गर्दै पँजी वृद्धि र लगानीका  अवसर बढाउन नागरिक लगानी कोषले देशका प्रमुख सहरमा शाखा विस्तार गर्नेभएको छ ।

बुधबार सम्पन्न सत्रौँ वार्षिक साधारणसभामा कोषका पदाधिकारीले सो कुरा बताएका हुन् । सो अवसरमा पुँजी बजारको विकासमा गतिशीलता ल्याउने प्रमुख उद्देश्यका साथ स्थापना भएको कोषको सेवालाई क्रमश: विकेन्द्रीकृत गरिने जानकारी दिइएको थियो ।
कोषले सरकारको आर्थिक सुधार कार्यक्रमअन्तर्गत विद्यमान अवकाश कोष तथा निवृत्तिभरण प्रणालीलाई सुधार गरी राष्ट्रिय बचतमा अभिवृद्धि गराउन, सार्वजनिक तथा निजी संस्थाका कर्मचारीको दायित्व कोषमा आधारित बनाई सरकार तथा निजी संस्थामा पर्नसक्ने व्ययभार न्यून गराउनेतर्फ काम गरिरहेको छ ।
कोषले लगानी विविधीकरण, मुद्दती निक्षेप, सरकारी ऋणपत्र, संगठित संस्थाको धितोपत्र र सहभागिसापटीमा मात्र सीमित गर्नुपर्ने बाध्यात्मक स्थिति रहेको जनाएको छ । चिलिमे जलविद्युत् आयोजनालगायत चारवटा वित्तीय संस्थाको प्राथमिक सेयर निष्कासन तथा बिक्री गरेको, सेयर रजिस्ट्रार सेवातर्फ तीन संगठित संस्थालाई दुई अर्ब बढीको सेवा प्रदान गरिएको कोषको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
कोषले ०६७/६८ मा १० करोड आठ लाख ८१ हजार नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षभन्दा २४ दशमलव ८९ प्रतिशत बढी हो । अघिल्लो वर्ष कोषले आठ करोड सात लाख ७६ हजार रुपियाँ नाफा आर्जन गरेको थियो । त्यसैगरी कोषले सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर दिने जनाएको छ । हाल कोषको फन्ड ३० अर्ब रुपियाँ रहेको छ ।
पछिल्लो समयमा कोषले जलविद्युत्, पर्यटनलगायत अन्य प्रतिफलमुखी आयोजनातर्फ लगानी परिचलान गरिरहेको कोषका कार्यकारी निर्देशक क्रषिराम गौतमले बताए । त्यसैगरी कृषि क्षेत्रमा आमूल परिवर्तन गराउने परियोजनमा लगानीको गृहकार्य भइरहेको जानकारी पनि उनले दिए ।
मुलुकको आवश्यकताअनुसार कार्यक्रम पहिचान गरी लगानी सञ्चालन गर्नतिर कोषलाई अघि बढाएको गौतमले बताए । निजी क्षेत्र, पूर्वाधार निर्माण, पर्यटन, ऊर्जा तथा अन्य सामाजिक क्षेत्रलाई समेटेर काम गर्ने रणनीति कोषले बनाएको उनको भनाइ छ । सो अवसरमा कोषका अध्यक्ष डा. चन्द्रमणि अधिकारीले आव ०६७/६८ को वार्षिक प्रतिवेदन पेस गरेका थिए । उनले कोषलाई अझ सशक्त पार्दे जाने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी सञ्चालक समितिमा सर्वधासरण सेयरधनीका तर्फबाट बालकृष्ण श्रेष्ठ निर्वाचित भएको पनि कोषले जनाएको छ ।

प्रतिक्रिया