प्राध्यापकहरुद्वारा आन्दोलनको घोषणा

काठमाडौं, २७ असार । त्रिभुवन विश्वविद्यालयका प्रध्यापकहरु २२ सुत्रीय मागसहित आन्दोलनमा उत्रीएका छन् ।
विगत एक वर्षदेखि बढेको पोशाक भत्ता आफूहरुले पनि पाउनुपर्ने माग गर्दै उनीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । सरकारका विभिन्न निकाय एवं कर्मचारीले भत्ता पाईसक्दा पनि त्रिविका प्रध्यापक र कर्मचारी बञ्चित भएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर संघका महासचिव प्रेमराज खनियाले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । कार्यक्रम अनुसार असार–२८ र २९ गते त्रिविका सम्पूर्ण आंगिक क्याम्पस र अनुसन्धान केन्द्रमा पठन–पाठन लागायत सबै काम बन्द हुने छन् ।
मागलाई समयमै सुनुवाई नगरिए अर्को चरणका संघर्षका कार्यक्रम सार्वजनिक गर्ने खनियाले बताए । उनले भने, ‘शिक्षाप्रति सरकारको उदासिनताका कारण उच्च शिक्षा प्रदान गर्ने निकाय धरासायी बन्न पुगेको छ ।’
संघका सभापति योगेन्द्रनारायाण बडवरिया माथी भएको आक्रमणका दोषीहरुलाई किटानी जाहेरी दिंदा समेत प्रशासनले कारबाही गर्न उदासिनता देखाएको खनियाको आरोप छ ।
सभापति बडवरियालाई असार–८ गते विहान ५ वजे मिर्चैयाको मट्टीअर्वामा सांघातिक आक्रमण भएको थियो ।
संघले स्नातक तह चार वर्षे बनाउनुपर्ने, वषैंदेखि कार्यरत उप–प्रशिक्षकहरुलाई स्थायी गर्नुपर्ने, परीक्षा प्रणालीमा समयानुकुल सुधार गर्नुपर्ने, दुर्घटना विमाको व्यवस्था हुनुपर्नेलगायतका माग पनि अघि सारेको छ ।

प्रतिक्रिया