कांग्रेस जिल्ला सभापतिहरूको भेला साउनमा

काठमाडौं, २७ असार । नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीति बनाउन साउन दोस्रो साता जिल्ला सभापतिहरूको भेला बोलाएको छ ।
बाग्मती अञ्चलका जिल्ला सभापतिहरूले १५ साउनमा भेला बोलाउन माग गरेका बेला पार्टी नेतृत्वले १० साउनदेखि दुईदिने भेला बोलाएको हो । सिन्धुपाल्चोकको बाह्रबिसेमा हुने जिल्ला सभापतिहरूको भेलाले पार्टीको संगठनात्मक अवस्थाका साथै पार्टीको रणनीतिसमेत तय गर्ने भएको छ ।
‘मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न जिल्ला सभापतिहरूको भेला बोलाइएको छ,’ कांग्रेस सिन्धुपाल्चोकका सभापति मोहनबहादुर बस्नेतले भने, ‘१० र ११ साउनमा बाह्रबिसेमा जिल्ला सभापतिहरूको भेला हुन्छ, पार्टीको निर्देशनअनुरूप सिन्धुपाल्चोक कांग्रेस आवश्यक तयारीमा लागिसकेको छ ।’
संविधानसभा विघटनपछिको राजनीतिक अवस्था र पार्टीले थालेको आन्दोलनका बारेमा भेलामा छलफल हुने जिल्ला सभापति बस्नेतले बताए । उनका अनुसार सभापतिहरूले केन्द्रीय समितिलाई स्थानीय तहका आवाज सुनाउनेछन् भने भावी रणनीतिबारे नेतृत्वलाई सुझाब दिनेछन् । भेलालाई आन्दोलनकै रूपमा उपयोग गरिने उनको भनाइ छ ।
१२औँ महाधिवेशनपछि दोस्रो वर्षमा कांग्रेसले गर्न लागेको जिल्ला सभापतिहरूको यो दोस्रो भेला हो । कांग्रेसले गत वर्ष जेठमा काभ्रेको धुलिखेलमा जिल्ला सभापतिहरूको भेला गरेको थियो ।

प्रतिक्रिया