चाउचाउको र्‍यापर आम्दानीको स्रोत

काठमाडौं, २७ असार । ‘बिस्कुट र चाउचाउका र्‍यापरबाट आम्दानी लिन थालेका छौँ,’ चन्डोलकी कान्छी राईले भनिन्, ‘फोहोरका रूपमा फालिने र्‍यापर प्याकेटबाट चकटी, फूलदानी, डालो बनाउन थालेपछि टोल पनि सफा भएको छ ।’

चाउचाउ, बिस्कुट, परागलगायतका फास्टफुडका रूपमा प्रयोग हुने उपभोग्य सामग्रीका र्‍यापरबाट हस्तकलाका सामान बनाउन थालेपछि काठमाडौं चन्डोलका महिलाको दैनन्दिनी फेरिएको छ । उनीहरू अहिले टोलछिमेकमा कसैले त्यस्ता र्‍यापर र प्याकेट फालेमा टिप्न हतारिन्छन् । प्लास्टिकका र्‍यापर र खोलले फोहोर हुने चन्डोल बस्ती पनि एकाएक सफा भएको छ ।
स्थानीय सानु थापाले भनिन्, ‘र्‍यापरबाट हस्तकलाका सामान बनाउन थालेपछि टोलमा अहिले कसले राम्रो बनाउने भनेर प्रतिस्पर्धा सुरु भएको छ ।’ उनले टिभी हेरेर समय बिताउने चन्डोलका महिला आयआर्जनको काममा लागेको बताइन् ।
तत्काल विसर्जन नहुने प्लास्टिकजन्य फोहोर आम्दानीको स्रोत बनेपछि महिलाहरू रोजगार पनि भएका छन् । ‘बजारमा गएर उपभोक्ताको माग र रोजाइअनुसारको सामानको अर्डर लिन्छौँ,’ राईले भनिन्, ‘अर्डरअनुसारका सामान बनाएपछि नबिक्ने र मूल्य नपाउने समस्या टरेको छ । सबैजना कामकाजी महिला पो भएका छौँ ।’ (प्रशिक्षार्थी)

प्रतिक्रिया