गौरबाट सुपारी भारत तस्करी

रौतहट, २७ असार । पूर्वी नेपालबाट ल्याइएका सुपारी गौरबाट भारतमा तस्करी भइरहेको छ ।

गौर भन्सार कार्यालय तथा प्रहरी प्रशासनको निष्क्रियताका कारण दैनिक एक हजार पाँच सय किलोग्राम सुपारी भारतमा तस्करी भइरहेको हो । भन्सार कार्यालयअगाडिबाट सुपारी निर्यात भइरहे पनि प्रहरीले तथा भन्सार कर्मचारीले चेकजाँचसमेत गरेका छैनन् । भन्सार कार्यालयकै अगाडिबाट सुपारी भारतको बैरगनिया र भकुरहरसम्म सुरक्षितरूपमा निकासी भइरहेको छ ।
भारतमा सुपारीको मूल्य बढी भएपछि स्थानीय व्यापारीले अवैधरूपमा भारत पठाउने काम सुरु गरेका हुन् । सुपारी तस्करीमा महिला तथा बालबालिकाको प्रयोग गरिएको छ । ‘आमाले सुपारी लिएर हिँड भन्नुभो, दिनभरिमा तीनपटकसम्म गौरबाट भकुरहर पुर्‍याउँछु,’ बालिका मधुकुमारीले भनिन्, ‘बोरा तथा झोलामा २० देखि ४० केजीसम्मका पोका सुपारी भारतसम्म पुर्‍याउने गरेका छौँ ।’
प्रहरी प्रशासनले सुपारीको तस्करी नभएको दाबी गर्दै आएको छ । सदरमुकाम गौरबाट मात्र दैनिक एक हजार पाँच सय केजीसम्म सुपारी भारत गइरहेको एक व्यापारीले बताए । उनले प्रतिपोका एक सय रुपियाँ प्रहरीले लिने गरेको बताए । उनले सुरुमा मुस्किलले एक सय केजी बिक्री हुने सुपारी तस्करी सुरु भएपछि पाँच हजार केजीसम्मको अर्डर आउने गरेपछि पूर्वी नेपालबाट ल्याउने गरिएको बताए । सुपारीसँगै रौतहटका ग्रामीण नाकाबाट अलैँची तथा ल्वाङको पनि तस्करी सुरु भएको छ ।
रौतहटको महादेवपट्टि तथा बेलबिछवा नाका भएर अहिले अलैँची तथा मसला अवैधरूपमा भारत निकासी भइरहेको छ । शुक्रबार नेपालबाट भारत लैजाँदै गरेको तीन सय केजी अलैँची सीमा प्रहरीले बरामद गरेको थियो ।

प्रतिक्रिया