सृष्टि सद्भावनादूत

काठमाडौं, २६ असार । मिस नेपाल २०१२ सृष्टि श्रेष्ठ डब्लुडब्लुएफ नेपालका लागि सद्भावनादूत नियुक्त भएकी छन् । यसअघिकी मिस नेपाल मलिना जोशीले सोमबार डब्लुडब्लुएफ नेपालको कार्यालयमा आयोजित कार्यक्रममा उनलाई सो जिम्मेवारी हस्तान्तरण गरिन् । यसअघिकी सद्भावनादूत मलिना थिइन् । डब्लुडब्लुएफका प्रतिनिधि अनिल मानन्धरले वनस्पतिको बिरुवा दिँदै नयाँ सद्भावनादूत सृष्टिलाई स्वागत गरेका थिए । डब्लुडब्लुएफले वातावरणका क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले हाल लाङटाङ, ताप्लेजुङ, रोल्पा, सगरमाथालगायत स्थानमा पर्यावरणीय अनुगमन गर्दै आएको जानकारी गरायो ।

जिम्मेवारी ग्रहण गरेपछि सृष्टिले आफूलाई विशेष गरी हिउँ चितुवाका क्षेत्रमा काम गर्न मन लागेको बताएकी थिइन् । प्रत्येकचोटिका मिस नेपाल सो संस्थाको सद्भावनादूत हुने परम्परा नै बनिसकेको छ । पहिलोपटक सन् २००४ की मिस नेपाल पायल शाक्य सद्भावना दूत घोषित भएकी थिइन् । सद्भावनादूत भएबापत सृष्टिले वातावरणीय संरक्षण एवं प्रवद्र्धनका क्षेत्रमा आफ्ना तर्फबाट चेतना अभिवृद्धिलगायत भूमिका निर्वाह गर्नुपर्ने जानकारी गराइन् । त्यसो त सृष्टि विभिन्न सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएकी छन् । केही समयअघि मात्र उनले मुलुकका विभिन्न क्षेत्रका आगलागीपीडितलाई सहयोगार्थ विभिन्न राहत सामग्री संकलन गरी वितरण गरेकी थिइन् । मिस नेपाल भएबापत प्राप्त ५० हजार रुपियाँ पुरस्कार पनि उनले आगलागीपीडितकै सहयोगार्थ खर्च गरेकी थिइन् ।

प्रतिक्रिया