एन्डी मर्रेको हारले आहत बेलायती अखबार

लन्डन, २६ असार । बेलायतका स्थानीय अखबारहरूमा आइतबारजस्तै सोमबार पनि विम्बल्डन फाइनलमा खेलेका स्थानीय नायक एन्डी मर्रे र रोजर फेडेररबीचको भिडन्तकै समाचार बग्रेल्ती भरिएका छन् ।
समाचारपत्र ‘गार्डियन’ को शीर्षक छ– क्राइङ गेम । पत्रिकाको मुखपृष्ठमा हाँसिरहेका फेडेरर र रुन्चे अनुहार लाएका मर्रेको तस्बिर छापिएको छ । त्यसमा रिपोर्टरले लेखेको पहिलो वाक्यमा भनिएको छ– यो रिपोर्टलाई आँशुमा डुबेको बेलायती खेल इतिहासका अत्यन्तै निकटस्थ असफलताहरूको रूपमा फाइल गरिनेछ, तर चर्चित जितहरूको उल्लेख भएका अध्यायहरूका साथ यसले ठाउँ पाउनेछैन ।
पत्रिकाले लेखेअनुसार, ‘विम्बल्डन सेन्टर कोर्टमा उपस्थित धेरैजसो मानिस मर्रेको उत्साह बढाइरहेका थिए, तीमध्ये कतिपय त पाँच हजार पाउन्डसम्म तिरेर आएका थिए तर फेडेररका लागि पनि समर्थन कम्ती थिएन । मर्रेले आफूलाई फाइनलसम्म पुर्‍याउने सबै किसिमका क्षमता र कौशल देखाए तर अन्तत: फेडेररले आफ्नो सटिक खेल एवं ‘किलर इन्स्टिङ्क्ट’ देखाउँदै जीवनको सत्रौँ ग्रान्डस्लाम उपाधि जिते ।’
‘गार्डियन’ ले सेन्टर कोर्टभन्दा बाहिर विम्बल्डन परिसरमा जडान गरिएको ठूलो स्क्रिनमा उक्त म्याच हेरिरहेकी एकजना महिला दर्शकको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘टिम हेनम्यान खेलिरहेका बेला उनले जित्दैनन् भनेर हामीलाई पहिले नै थाहा हुन्थ्यो तर मर्रे त सुरुमा कुनै विजेतासरह देखापरेका थिए । त्यसकारण हाम्रो दु:ख अलि धेरै बढी देखिएको हो तर हामीलाई विश्वास छ, उनी अवश्य फर्कनेछन् ।’
पत्रिकाले आफ्नो खेलकुद पृष्ठमा अझ सविस्तार उल्लेख गर्दै लेखेको छ– मर्रे एकजना असल र प्रतिभाशाली खेलाडी हुन् तर हिजो उनी फेडेररलाई हराउन सक्ने किसिमका बेहतर खेलाडी भने थिएनन् । फेडेरर जसरी जुन फर्ममा खेलिरहेका थिए, त्यो हेर्दा त उनलाई कसैले पराजित गर्न सक्थ्यो भन्ने कुरैमा शंका छ । ‘गार्डियन’ ले बोरिस बेकरको प्रतिक्रिया छाप्दै भनेको छ, ‘मर्रे कुनै च्याम्पियन जसरी नै खेले । रोजर फेडेररसित हार्नुमा कुनै लज्जा हुनुहुँदैन ।’
अर्को पत्रिका ‘डेली डेलिग्राफ’ ले मुखपृष्ठमा आँशु पुछिरहेका मर्रे र मुखमा हात राखेर रोइरहेकी उनकी प्रेमिका किम सियर्सको तस्बिर छाप्दै लेखेको छ– रुन्चे मर्रे कोर्टमा त हारे तर उनले मुलुकको ह्दय भने जिते ।
पत्रिकाले आफ्नो मूल रिपोर्टमा लेखेको छ, ‘हो, उनी हारे । हो, उनले सन् १९३६ मा फ्रेड पेरीले अन्तिमपटक जितेको विम्बल्डन इतिहास दोहोर्‍याउन सकेनन् तर जतिखेर उनले पछाडि फर्केर यो क्षणलाई हेर्नेछन्, त्यतिबेला उनले के पाउनेछन् भने उनले त्यो कार्य गरेर देखाएका छन् जुन कार्य असम्भव छ भनेर उनका आलोचक कहिल्यै थाक्दैनथे ।’
पत्रिकाको दोस्रो र तेस्रो पानामा मुस्कुराइरहेका फेडेरर मर्रेलाई सान्त्वना र सहानुभूति दिइरहेका तस्बिर छापिएका छन् । त्यससँगै उनीहरूको म्याच हेर्न आएका बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन, उपप्रधानमन्त्री निक क्लेग, लन्डनका मेयर बोरिस जोन्सन, फुटबल स्टार डेभिड बेकहयाम र राजकुमार विलियमकी पत्नी केट मिडलटन अनि उनकी बहिनी पिप मिडलटनका तस्बिर छापिएका छन् । ती तस्बिरसँगै दुवै पानामा भरिने गरी शीर्षक दिइएको छ– केही समयका लागि हामी अर्कै ब्रह्माण्डमा विचरण गरिरहेका थियौँ जहाँ हाम्रो नायकले जित्न सक्थ्यो ।
म्याचका बारेमा पत्रिकाले लेखेको छ, ‘एउटा यस्तो दिन, जुन दिन एकजना निकै राम्रो खेलाडी, वास्तवमै अर्को एकजना महान खेलाडीविरुद्ध खेलेको थियो ।’
पत्रिका ‘टेलिग्राफ’ ले आफ्नो सम्पादकीयमा लेखेको छ– यसमा लाज मान्नुपर्ने कुनै कुरा छैन । अन्तत: बेलायतको मानसिकता नभएर मौसम हाबी भएको हो । जसै वर्षा सुरु भयो र कोर्ट ढाक्नका लागि कभरहरू ल्याइयो, त्यससँगै हामीले देख्यौँ– फेडेररलाई किन संसारको सबैभन्दा राम्रो इन्डोर टेनिस खेलाडी भन्ने गरिन्छ ।
पत्रिकाले आफ्नो खेल सप्लिमेन्टमा लेखेको छ, ‘जतिबेला एउटा ‘टयालेन्ट’ अर्को ‘जिनियस’ सित भिडिरहेको हुन्छ, त्यसबेला जित केवल एकजनाको मात्र हुन्छ । यसमा लाज मान्नुपर्ने कुनै कारण छैन ।’ पत्रिकाको कार्टुन अझ रोचक छ जसमा के देखाइएको छ भने लगातार वर्षा भइरहेको छ, तल पानी नै पानी भरिएको छ र त्यसमा विम्बल्डन ट्रफी डुब्दै गइरहेको छ ।
अर्को पत्रिका ‘टाइम्स’ ले आँशु पुछिरहेका मर्रेको तस्बिर छाप्दै उनले आइतबार राति पराजयपछि गरेको सम्बोधन उद्धृत गरेको छ, ‘म जितको नजिक आइसकेको थिएँ ।’ पत्रिकाले आफ्नो मूल रिपोर्टमा लेखेको छ– उनको (मर्रेको) पराजय किन भयो भनेर कुनै बहाना खोज्नुपर्ने आवश्यकता छैन । उनी आफूभन्दा बेहतर खेलाडीविरुद्ध हारेका हुन् । उनी यस खेलकै एक महानतम खेलाडीद्वारा पराजित भएका हुन् तर पनि उनले एक च्याम्पियन खेलाडीको मुटु र ल्याकत देखाएका छन् ।
पत्रिकाले सान्त्वनाको शैलीमा लेखेको छ– हो, यसपटक एकजना बेलायती खेलाडीले जितेका छन् तर उनको नाम एन्डी मर्रे होइन, जोनाथन मर्रे हो र उनले फ्रेडरिक निल्सनसित जोडी बनाई खेल्दै डबल्सतर्फको उपाधि जितेका हुन्, १९३६ पछि यो उपाधि जित्ने उनी पहिलो बेलायती खेलाडी हुन् । त्यसैगरी टाइम्सको कार्टुन पनि रमाइलो छ– एउटा व्यक्ति पत्रिका पढिरहेको छ । त्यसको हेडलाइन छ– बेलायत स्थिर भएको छ । र, त्यही व्यक्तिले प्रश्न गरिरहेको छ– एन्डी मर्रेले गर्दा, अथवा वर्षाले गर्दा ?
अर्को पत्रिका ‘इन्डिपेन्डेन्ट’ ले मुखपृष्ठमै निराश मर्रेको तस्बिर छापेर लेखेको छ– एन्डी, हामीलाई थाहा छ तिमीलाई यतिबेला कस्तो महसुस भइरहेको छ भनेर ।
अर्को लोकप्रिय टेब्ल्वायड ‘डेली मिरर’ ले केट मिडलटन, एन्डी मर्रे र उनकी प्रेमिकाको रुँदै गरेको तस्बिर छापेको छ र लेखेको छ– केटीहरू हो, आँशु नबगाऊ, उनले त हाम्रो गौरव बढाएका छन् ।

प्रतिक्रिया