‘सस्तो ब्याजदरमा कर्जा देऊ’

काठमाडौं, २६ असार । सहकारी तथा गरिबी निवारणमन्त्री एकनाथ ढकालले सबै सहकारीलाई सस्तो ब्याजदरमा कर्जा दिन आग्रह गरेका छन् । बैंकले विषेश गरी महिला, किसानले सञ्चालन गरेको सहकारी संस्थालाई सस्तो ब्याजदरमा ऋण दिनुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय सहकारी बैंक आफ्नो स्थापनाको १० औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्याक्रममा मन्त्री ढकालले त्यस्तो धारणा राखेका हुन् । ‘बचत तथा ऋणको कारोबार गर्नेभन्दा पनि उत्पादनमूलक सहकारीलाई प्राथमिकता दिनुपर्छ ।’ मन्त्री ढकालले भने, ‘यस्ता क्षेत्रमा सहकारी लाग्न सके देशलाई आत्मनिर्भर बनाउन सकिन्छ ।’ बैंकको प्रवद्र्धन तथा विकासमा मन्त्रालयले सक्दो सहयोग गर्ने मन्त्री ढकालले आश्वासन दिए । बैंकका सञ्चालक र मन्त्रालयका पदाधिकारीबीच आवश्यक छलफल गर्नुपर्ने उनले बताए । सहकारीको विकास गर्नसके मात्र देशको आर्थिक विकास र गरिबी वृद्धिदर कम गर्न सकिने उनले जिकिर गरे ।
कार्यक्रममा सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले सहकारी बैंकले अन्य बैंक जस्तो नाफा कमाउने नभई सहकारी संस्थालाई सेवा दिनुपर्ने बताए । ‘सहरमा बैंक तथा वित्तीय संस्था धेरै स्थापना भएका छन् ।’ रजिस्ट्रार न्यौपानेले भने, ‘यस बैंकले फरक पहिचान बनाएर सहकारीको विकासमा लाग्नुपर्छ ।’ बचत तथा ऋणको कारोबार गर्ने सहकारी आवश्यकताभन्दा बढी स्थापना भएको बताउँदै उनले उत्पादनमूलक सहकारी आवश्यक रहेको धारणा राखेका थिए । सहकारी संघ/संस्थालाई यस बैंकले व्यवस्थित बनाएर लैजानुपर्ने उनले बताए ।
२४ करोड ८० लाखको सेयर रहेको यस बैंकमा गत आर्थिक वर्ष ०६७/६८ मा एक अर्ब २३ करोड रुपियाँ निक्षेप संकलन गरेकोमा यस आर्थिक वर्ष ०६८/६९ मा तीन अर्ब रुपियाँ संकलन गरेको बैंकका प्रबन्ध सञ्चालक केबी उप्रतीले बताए । त्यस्तै, गत आवमा एक अर्ब ५० करोड रुपियाँको कारोबार बढाएर तीन अर्ब २५ करोड रुपियाँ कारोबार गरेको उप्रेतीले बताए । यस आवमा बैंकले एक अर्ब ५८ करोड रुपियाँ लगानी गरेको जनाएको छ । विशेष गरी महिला, किसानहरूले सञ्चालन गरेका सहकारीलाई विशेष प्राथमिकता दिने उनले बताए । बैंकको सञ्जाललाई आगामी दिनमा बढाउँदै लैजाने पनि उप्रेतीले बताए ।
प्रारम्भिक सहकारी संस्थाहरू, जिल्ला संघ, जिल्लास्तरीय विषयगत संघहरू, राष्ट्रिय संघ, केन्द्रीय संघ, राष्ट्रिय सहकारी विकास बोर्ड र नेपाल सरकार गरी ४४ सय २३ सदस्य रहेको बैंकले जनाएको छ । बैंकले सुनसरी, दोलखा, मकवानपुर, कास्की, काभ्रे, बाग्लुङ, तनँहु, सुर्खेत, हेटौँडा, दाङ, झापालगायत स्थानमा शाखा विस्तार गरिसकेको छ । त्यस्तै, राजधानीका बानेश्वर, कलंकी, न्युरोड, चाबहिल, लगनखेललगायत स्थानमा गरी २८ वटा शाखा विस्तार गरी कारोबार गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया