नेविसंघमा बरियताक्रम विवाद

काठमाडौं, २६ असार । नेविसंघमा अध्यक्ष रञ्जित कर्णपछि बरियता क्रममा को रहने भन्ने विवाद बढेको छ । बरियतामा संस्थापन र देउवा पक्षका विद्यार्थीले आ–आºनै दाबी गर्दै आएका छन् ।
२३ असारबाट सुरु भएको केन्द्रीय समितिको बैठक बरियताका विषयमा भएको विवादले लम्बिँदै गएको छ । सोमबार १२ बजे बस्ने भनिएको बैठक सोही विवादका कारण ४ बजेसम्म बस्न सकेको थिएन । बरियता मिलाउँदै जाने र बैठकमा केन्द्रीय सदस्यलाई बोल्न दिनेखालको सहमतिमा पुगेपछि चार बजे मात्र बैठक सुरु भएको थियो । बैठक ६ बजेसम्म चल्यो । मंगलबार पनि बैठक बस्ने संघका प्रवक्ता युपी लामिछानेले बताए ।
देउवा पक्षका विद्यार्थी नेताले दोस्रो बरियता क्रममा ऋषिकेशजंग शाहलाई राख्नुपर्ने अडान राखेका छन् । अर्को पक्षले भने पहिले संगठनको उपाध्यक्ष, महामन्त्रीलगायत पदमा बसेर नेतृत्व गरेकाले त्यसलाई अस्वीकार गरेका छन् । एक नेताले भने, ‘पार्टीले पठाएको लिस्टलाई आधार मान्न पनि सबै तयार छैनन् ।’
अहिले नेविसंघको एक सय २१ जनाको केन्द्रीय समिति बनेको छ । पहिला एक सय एक सदस्यीय समिति बनाउँदा देउवापक्षका २८ जनाले राजीनामा दिएका थिए । पछि २० जना थप गरी एक सय २१ पुर्‍याइएको हो । नेविसंघमा ७३ संस्थापन र ४८ देउवापक्षका छन् ।

प्रतिक्रिया