भैरहवा, २६ असार । आश्रमका बालिकालाई जबर्जस्ती अभियोग लागेका बालआश्रमका व्यवस्थापकलाई रूपन्देही जिल्ला अदालतले पुर्पक्षमा पठाएको छ ।
न्यायाधीश ओमकार उपाध्यायको इजलासले मधवलियास्थित अभिनास बालआश्रमका प्रबन्ध निर्देशक आशीष थापालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
अदालती बन्दोबस्तको ११८(२) बमोजिम थापालाई थुनछेकको आदेश भएको अदालतका स्रेस्तेदार अनिल शर्माले जानकारी दिए । थापामाथि आश्रमका दुई बालिकालाई करणी गरेको र पाँचजनालाई जबर्जस्ती करणीको उद्योग गरेको अभियोग छ । उनले १२ देखि १४ वर्षसम्मका सात अनाथ बालिकामाथि एक वर्षदेखि यौनशोषण गरेको पीडित बालिकाले आरोप लगाएका छन् ।
प्रबन्ध निर्देशक नै यौनअभियोगमा मुछिएपछि आश्रमको सञ्चालन पनि जिल्ला बालकल्याण समितिको प्रत्यक्ष निगरानीमा छ । आश्रम सञ्चालक समितिलाई प्रशासनले भंग गरेको छ । आश्रममा ३२ बालबालिका छन् भने पीडित सात बालिकालाई माइती नेपालमा राखिएको छ ।
उता यौनअपराध गरेको देखेका एक बालक १८ असारदेखि रहस्यमय ढंगले हराइरहेका छन् । १३ वर्षीय मनोज थापा आश्रमबाट हराएका हुन् । उनले आश्रमका बालिकामाथि तत्कालीन प्रबन्ध निर्देशकले यौनहिंसा गरेको देखेको भन्दै सञ्चारमाध्यममा बोलेका थिए । मुद्दाको सुनुवाइ चलिरहँदा यौनअपराधका प्रत्क्षयदर्शी हराएपछि खोजीका लागि प्रहरी र आश्रम सञ्चालक लागेका छन् । उनीसँगै आश्रममा रहेका १० वर्षीय प्रेम सुनार पनि हराएका छन् ।
प्रतिक्रिया