अनुदान सकियो रोग सकिएन

‘सरकारले ५० हजार दियो, त्यो सकियो, बिमारी सकिएन ।’ अस्पतालको शय्यामा लडिरहेका दलबहादुर बुढाथोकीले भने । ७२ वर्षीय बुढाथोकी महिनौँदेखि वीर अस्पतालको चक्कर काटिरहेछन् । उनलाई थाहा छैन, आफ्नो रोग कहिले निको हुन्छ । मुसीकोट ९ चोखाबाङ रुकुममा जन्मिएका बुढाथोकीको १० महिनाअघि एकाएक छाती चर्किएर दुख्यो । ‘केही भयोहोला सोचेँ, मुसीकोटमै जचाएँ’ बुढाथोकीले भने, ‘त्यहाँको अस्पताले हामी सक्दैनौँ भन्यो, म नेपालगन्ज हुँदै वीरमा आएँ ।’

वीर अस्पतालका डाक्टरले ‘तपाईंलाई फोक्सोको क्यान्सर भएको छ’ भनेपछि उनको दुखिरहेको छातीमा झनै १० किलोको घनले बजारे झैँ भयो । ‘गरिब मान्छे, घरभरि परिवार’ बुढाथोकीले दु:ख बिसाए, ‘गरिखाने मान्छे आफैँ, आफैँलाई त्यस्तो रोग लागेपछि ‘मरेबराबर’ भएन बाबु ?’ बुढाथोकीको परिवारमा श्रीमती, चार छोरा, चार बुहारी र सातजना नातिनातिना छन् । बूढो शरीर भए पनि जिम्मेवारीले उनलाई बुढिन दिएको रहेनछ । उनले भने, ‘छोराबुहारी भए पनि घरको ‘टजनपजन’ आफैँ गर्नुपर्छ ।’
तर, नौ महिनादेखि त्यो ‘टजनपजन’ धेरै बिरानो भइसकेको छ । बुढाथोकीको आफ्नै शरीर पनि छोरा नवराजको सहारामा हिँड्न थालको छ । उनी निरन्तर वीर अस्पतालको शय्यामा तीन महिना सुतेपछि अचेल कोठाभाडा लिएर निरन्तर अस्पतालको तारेकमा छन् । औषधि कति खानुभयो होला ? भन्ने जिज्ञासाको जवाफमा उनी भन्छन्, ‘कति खाइयो खाइयो ।’ फोक्सोको क्यान्सर निको हुने नहुने केही थाहा नभएका बुढाथोकीले निरन्तर ६ महिना महिनाको तीनपटक किमो गरिसकेका छन् । अहिले उनी सेकाइमा लागेका छन् । अस्पतालले निरन्तर ३४ दिन सेक्नुपर्ने भनेपछि बुढाथोकी हरेक दिन कीर्तिपुरदेखि वीर अस्पताल पुग्छन् । पालो कुर्छन् । सेक्छन् र फर्कन्छन् ।
झन्डै तीन–चार लाख खर्च गरिसकेका बुढाथोकीले औषधि खर्चका नाममा सरकारबाट ५० हजार रुपैयाँ पाएका छन् । सरकारले क्यान्सर रोगीलाई जीवनमा एकपटक ५० हजार दिने व्यवस्था गरेको छ । बुढाथोकीले भने, ‘क्यान्सर लागेपछि घर, खेत, गह्रो केही बाँकी रहँदैन रहेछ, सरकारले ‘दिएँ भन्नभरी’ ५० हजार दिएर के हुन्छ ?’ अझै आºनो खेतीपाती आफैँ गरेर खाने बुढाथोकी झन्डै एक वर्षदेखि कीर्तिपुरको एउटा कोठा र वीर अस्पताल गर्दैमा बेफुर्सदी बनेका छन् । सुत्नै नसकिने, खानै नहुने, खै कस्तो हो कस्तो दु:खाई हुन्छ उनको छातीभरि । ‘बिमारीले चर्किने, भड्किने त छँदैछ,’ बुढाथोकीले भने, ‘घरको अवस्था के भयो होला भनेर त्यसमाथि मन भतभती पोलिरहन्छ बाबु । यस्तो दशा पिचासले पनि भोग्नु नपरोस् ।’

प्रतिक्रिया