सुरक्षा क्षेत्रमा नेपालीलाई रोजगारी

काठमाडौं, २४ असार । मलेसियाले नेपाली कामदारलाई सुरक्षाक्षेत्रमा पुन: रोजगारी दिनेभएको छ । सुरक्षा क्षेत्रमा माग उच्च भएपछि मलेसियन सरकारले नेपाली कामदारलाई सो क्षेत्रमा रोजगारी दिने भएको हो ।
यसबाट नयाँ कामदारभन्दा पनि त्यहाँ रहेका नेपालीले रोजगारीको अवसर पाउने छन् । यसअघि त्यहाँको सरकारले ल्याएको वैधता कार्यक्रमबाट पनि नेपाली कामदारले सुरक्षा क्षेत्रमा रोजगारी पाएका थिए ।
श्रम तथा रोजगार मन्त्रालयका अनुसार नेपाली कामदारको प्रमुख श्रमगन्तव्य मलेसियाले सुरक्षा क्षेत्रमा नेपाली कामदार लिने भएपछि नेपाली युवालाई थप रोजगारीको अवसर बढेको जनाएको छ । मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले मलेसिया नेपाली कामदारको प्रमुख श्रमगन्तव्य भएकाले नयाँ रोजगारीको अवसर आउनुले थप उत्साहित बनाएको बताए । उनले नेपाली कामदार बढी इमान्दार हुने भएकाले त्यहाँको सरकारले सो अवसर दिएको जनाए ।
‘नेपाली कामदार इमान्दार र मिहिनेती हुन्छन्,’ उनले भने, ‘मलेसिया सरकाले पनि यही भएर नेपालीलाई सुरक्षा क्षेत्रमा रोजगारी दिने निर्णय गरेको हो, यसबाट नेपाली युवालाई थप रोजगारीको अवसर मिलेको छ ।’ उनले सो क्षेत्रमा बढी पारिश्रमिक हुने भएकाले पनि आकर्षण बढ्ने बताए । तर, यस विषयमा मलेसिया सरकारले आधिकारिक रूपमा पत्र पठाइनसेको उनको भनाइ छ ।
त्यहाँको सरकारले पनि योग्य सुरक्षा गार्ड अभाव भएपछि नेपालीलाई सो अवसर दिने निर्णय गर्न पुगेको जनाइएको छ । रोजगारदाताको मागअनुसार योग्य गार्डको अभाव झेल्दै आएपछि रोजगारदाताको आग्रहलाई ध्यानमा राखेर गत जुनदेखि नै सुरक्षा क्षेत्रमा नेपालबाटै कामदार ल्याउन अनुमति दिएको रोजगार व्यवसायीको भनाइ छ । योग्य गार्डको माग उच्च भएपछि आपूर्ति गर्न नसेर नेपाली कादार लिने रोजगारदाताले सरकारलाई आग्रह गरेअनुसार अब केही समयमै सो माग पूरा हुनेमा उनीहरू विश्वस्त रहेको व्यवसायी बताउँछन् ।
मलेसियाली सरकारले मागअनुसार कामदार आपूर्ति गर्न गतवर्ष आममाफी कार्यक्रमअन्तर्गत ल्याएको वैधता कार्यक्रममा अवैध रूपमा रहेका १० हजार बढी नेपालीलाई यस क्षेत्रमा रोजगारीको अनुमति दिएको जनाएको छ । अहिले मलेसियामा नयाँ होटल, सुपर मार्केट, आवास गृहमा सुरक्षा गार्डको माग बढेको व्यवसायीले बताए ।
त्यहाँका रोजगारदाताको मागअनुसार नेपालबाटै कामदार लिने प्रक्रिया सुरु भए पनि कोटा थोरै भएकाले तत्काल भने करिब तीन हजार कामदारले मात्र यो अवसर पाउने व्यवसायीको भनाइ छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघकी सचिव सुवर्णा श्रेष्ठले मलेसियाका रोजगारदाताले सुरक्षा क्षेत्रमा नेपाली कामदार लिने प्रक्रिया अघि बढाएको बताइन् । उनले रोजगारदाताले नेपाली व्यवसायीसँग आवश्यक छलफल अघि बढाइसकेको र कामदार लिने तयारी गरिरहेको जनाइन् ।
‘रोजगारदाताले हामीसँग सुरक्षा क्षेत्रमा कामदार लिने प्रक्रिया अघि बढाएका छन्,’ उनले भनिन्, ‘अहिले रोजगारदाताले आवश्यक तयारीका लागि नेपाली व्यवसायीसँग छलफल गरिरहेका छन् ।’ उनका अनुसार मलेसियाले तत्काल करिब ६ हजार कामदार लिने जनाएको छ । ‘रोजगारदाताका अनुसार अहिले पहिलो चरणमा करिब ६ हजार नेपालीले त्यो अवसर पाउने छन्,’ श्रेष्ठले भनिन्, ‘यो क्षेत्रमा जाने कामदारले ५० हजारभन्दा बढी पारिश्रमिक लिन सक्नेछन् ।’
मलेसिया सरकारले गत जुनमा सुरक्षा क्षेत्रमा कामदार दिने अनुमति दिएपछि रोजगार व्यवसायीले नेपालदेखि नै कामदार ल्याउन प्रक्रिया थालेको व्यवसायीले बताए । नेपालीका लागि सबैभन्दा आकर्षक मानिने यस क्षेत्रमा मलेसिया सरकारले विदेशीमध्ये नेपालीलाई मात्र रोजगारी दिँदै आएको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया