एउटै पुर्जीबाट पटक–पटक निकासी

काभ्रे : जिल्ला वन कार्यालयले दिएको पटकेपुर्जीबाट पटकपटक जंगलका काठ बिक्री गरेको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् ।
काभ्रेको विकट साल्मेचाकल, साल्धारा, घर्तीछाप, बनखु र मिल्चे, मकवानपुर र सिन्धुलीका जिल्लाका केही गाविसबाट वन कर्मचारीको मिलेमतोमा काठतस्करले केही वर्षदेखि काठतस्करी गर्दै आएका छन् । मकवानपुर फापरबारी–२ का कर्मवीर शर्माका नामबाट अख्तियारमा बिहीबार १४ असारमा उजुरी दर्ता भएको हो । तस्करले साल, खयर र अन्य बहुमूल्य काठ मकवानपुरको भोर्लेनी हुँदै चितवन र आसपासका क्षेत्रमा तस्करी गर्दै आएका छन् ।
पछिल्लो समय साल्मेचाकल–८ को छखुट्टे बाँझगाउँ, फल्र्लेक धारापानी, गोकुले–३ को देउराली आँपटार सामुदायिक वनका काठ हेटौंडामा बस्दै आएका चन्द्र अधिकारीले तस्करी गरिरहेका छन् । अनुगमनका लागि सो क्षेत्र पुगेका सिडिओ रुद्रनाथ बस्यालसहितको टोलीले तस्करलाई तत्काल पक्राउ गरी कारबाही गर्न अनुरोध गरेको थियो ।
स्थानीयले रेन्जर सम्राट खाँड, वनरक्षक तुलबहादुर तिमल्सिना र कुलबहादुर गुरुङको मिलेमतोमा काठतस्करी भएको बताएका छन् । उजुरीमा ०६२/६३ मा जिल्ला वन कार्यालय काभ्रेले एकपटकका लागि दिएको चलानी पुर्जीको प्रयोग गर्दै तेस्रोपटकसम्म जंगलका काठ बिक्री गरेको उल्लेख छ । (सौस)

प्रतिक्रिया