पूंजीवादको चेपमा कविताको चिहान

सबै तर्क सकिएपछि मानिस कवि हुन्छ भनेको सम्झन्छु । ठीक हो या होइन, थाहा छैन । कोही कवितालाई नै गतिलो तर्क मान्छन् त कोही सबै तर्कहरूको चिहान मान्छन् कवितालाई । तर, सत्य हो कि कविता लेख्न गार्‍हो छ, त्योभन्दा पनि गार्‍हो छ कविताका बारेमा लेख्न, झनै गार्‍हो छ कविताको पाठक बन्न । आजभोलि कविता र कविताका बारेमा केही लेख्नुपर्दा आँखामा झल्याँस्स ठेकेदार वा दलालको अनुहार मात्रै आउँछ ।
यो संसार पुँजीवादको चेपमा परेको छ । पुँजीवादको ठूलो विशेषता सबै कुरालाई उपभोग्य वस्तु बनाउन सक्नु नै हो । सबै कुरालाई बिकाउ बनाउन सक्नु र त्यसबाट अकुत नाफा आर्जन गर्नु पुँजीवादको सुन्दरता हो । त्यसैले जबसम्म मानिसमा नाफा नोक्सानको हिसाबकिताब राख्ने ल्याकत बाँकी रहन्छ तबसम्म पुँजीवाद यो संसारको निर्विकल्प प्रणाली रहनेछ । यो प्रसंग यहाँ किन सान्दर्भिक हुन जान्छ भने आज माया, प्रेम, भावना, यौन सबै बिकाउ वस्तु भए । समय बैरी भयो । बाबुले छोरासँग मायाको हिसाब माग्छ, छोराले पितासँग सहाराको मोल तोक्छ ।
यस्तोमा कविताको के कुरा ? भावनाको के कुरा ? विचारको के कुरा ? अनि गम्भीरताको के कुरा ? अब त बस, मज्जा चाहियो । रमाइलो चाहियो । यसो भनेर यहाँ सोलोडोलो रूपमा पुँजीवादको विरोध गर्न खोजिएको होइन । यसका आफ्नै विशेषता छन् । तर पुँजीवादको अचानोमा परेर कविताले आफ्नो शक्ति गुमाएको भने सत्य हो । पुँँजीवादको तीव्र विस्तार र विराट फैलावटमा कविताको कला, मर्म र सौन्दर्य गुमेकै हो, कविहरूले नैतिक हैसियत गुमाएकै हो । कवितालाई बिकाउ वस्तु बनाउने होडमा कविताको सौन्दर्यलाई पोली खाएकै हुन् कविहरूले ।
अब कसले भन्छ– कविताले विचारलाई आकार दिन्छ ? अब कविताले विचार दिँदैन, नारा दिन्छ । नाराले कविता प्रायोजन गर्छ । कविले विचार दिनलाई कविता लेख्दैन पार्टीमा पोर्टफोलियो बनाउनलाई लेख्छ । कविताले विराट युगलाई समेट्दैन । कविता खुम्चिएर पार्टीको मुख्यालय र आमसभामा सीमित भएको छ । अबको समयमा लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’ पढेर कोही पागल हुन चाहँदैन । गोपालप्रसाद रिमालको ‘आमाको सपना’ पढेर मूर्ख हुन मन पराउँदैन । उनकी आमाजस्ती कहिले नसकिने पर्खाइमा बस्न चाहँदैन, आजको मान्छे । युद्धप्रसाद मिश्रका कवितामा कुनै क्रान्तिको महक भेट्दैन आजको पाठक र कविले । आज जिन्दावाद या मुर्दावाद सिधै भनिनु पर्छ होइन भने त्यो कविता बन्दैन । मोहन कोइरालाले रोपेका ‘फर्सीका जराहरू’मा ऐँजेरु पलाउन थालेको धेरै भइसक्यो । अब बैरागी काइँलाहरूको ‘मातेको मान्छेको भाषण’ सुन्ने फुर्सद कहाँ ? भूपीका कविताका सुन्दरता र कलात्मकताले खासै आकर्षित गर्ने क्षमता राख्दैन, यो श्रापित समयको पटांगिनीमा । अब गए देवकोटा तिम्रा दिन † प्रकट पगेनीका यौन रसले भरिएका गजलका अगाडि तिम्रा कविताको केही लाग्दैन । यो हरेक कुराको उपभोग गर्न चाहने मानिसहरूको समयमा विमल निभा, श्यामल, मीनबहादुर विष्ट भनौँ या पछिल्लो समयका श्रवण मुकारुङका कवितामा त्यस्तो मजा छैन । कवितालाई उपभोग्य वस्तु बनाउन लागि परेका छन्, केही कविताका स्वघोषित पण्डित या डाक्टरहरू । यो देशमा कविताले आवाज हराउन थालेको धेरै भइसक्यो । वासु शशिका कविताको सरल कवितामा जीवनको दर्शन खोज्न सायदै मन गर्छ, आजको पुँजीपोषित पाठकले । उनका कवितामा कहाँ छ र कुनै यौवनले भरिपूर्ण युवतीका अंगहरूको भद्दा बयान ?
कुनै समय थियो जब कवितालाई हतियार या अस्त्र मानिन्थ्यो । कविताले नै सत्ता हल्लाउने सामथ्र्य राख्थ्यो । कवितामा यति सामथ्र्य हुन्थ्यो कि कविताले मानिसको अन्त:स्करणमा बडो तिलस्मी जादुगरी शक्ति पैदा गर्न सक्थ्यो । एउटा कविताको भरमा कविले पूरै मानिसलाई जुरुक्कै उठाउन सक्थ्यो । कवितामा भएको कला र विचारको तापले जुन किसिमको सञ्चार मानिसको मनमा गर्दथ्यो के त्यो अहिले त्यस्तै मात्रामा छ त ? एउटा कोरा मानिसमा विचारको अंकुरण गराउन सक्छ कविताले । मानिसमा विद्रोहको चेत खुलाउन सक्छ कविताले । कमसेकम ममा त्यस्तो भएको मैले पाएको छु । वास्तवमा कविता एउटा वैचारिक अस्त्र हुनुपर्ने हो । कविता संवेदनशील हुनुपर्ने हो । तर, यो नहुनुको पछाडि उही व्यापारिक युगको दोष देखिन्छ । यस्तो असंवेदनशील व्यापारिक समयमा कविताको के कुरा ? मानवताको के कुरा ? संवेदनाको के कुरा ?
सामन्तकालमा कविता राजघरानाको निजी विलासिताको वस्तु बन्ने गरेका कतिपय उदाहरण छन् । तर, त्यतिबेलै पनि कतिपय सचेत कविहरूले आफ्नै प्रकारको काव्यिक मार्ग तय गरेका थिए । आधुनिक कालमा कविताले सामाजिक दायित्वलाई प्राथमिकता दियो । त्यसयता कवितालाई हतियार बनाउन सक्ने धेरै कविहरूको नाम छ, संसारमा जसका वैचारिक र संवेदनशील कविताले तत्कालीन समयका शासकहरू भयभीत भएका थिए । हामै्र देवकोटा जेल परेका थिए । पास, धुमिल, गजानन माधव मुक्तिबोध, ब्रेख्त, लोर्का, ओ नील, वाल्ट ह्विटमन, पाब्लो नेरुदाजस्ता कविहरूले शब्दहरूलाई धार लाएर बनाएको हतियारले कुनै अत्याधुनिक बन्दुकले भन्दा धेरै काम गरेका थिए । तर, आज फेरि स्तुित गान लेखेर बेच्ने चलन बसेको छ । आज शब्दहरूको निर्माण शासकको भित्री कोठामा हुन्छ । कविताको शिलान्यास शासकको जस्केलोमा हुन्छ । भुत्याएर शब्दको धार केही मानिसहरू अहिले सहरबजारमा शब्दको पसल थापेर बसेका छन् । कविहरू पार्टी प्रवेश गर्छन् र कविताको नयाँ व्याकरण छाप्छन्, सोझासाझा मानिससँग लुटेको पैसाले । दिउँसोभर ठेकेदारी गर्छन्, दलाली गर्छन् र राति मातेको सुरमा लेख्छन् हरेक दिन एउटा कुरूप कविता । त्यो नै सर्वोत्कृष्ट क्रान्तिकारी कविता बन्छ भोलिपल्टको अखबारमा ।
उपनिवेशबाट गुज्रेका ल्याटिन अमेरिका, अफ्रिका र दक्षिण एसियाका केही देशमा जति शक्तिशाली र धारिला कविताहरू अन्यत्र लेखिएनन् । नेपालले घोषित रूपले त्यो स्थिति नभोगेकाले नेपाली कवितामा त्यो काव्यिक चेतना र त्यो शक्ति देखिएन । स्वतन्त्रताको नाममा कुनै पनि राष्ट्रले अन्य कुनै सर्तहरू मान्न तयार हुँदैन । यहाँ कविता या राजाका पक्षमा लेखिए या विपक्षमा तर युगीन कविता लेखिएनन् । यस्तोमा कविताको पाठक हुनु साँच्चै कठिन काम हो ।
त्यसैले भनेको कविता आज पुँजीवादको चेपमा परेको छ । कविता बेच्नु नराम्रो होइन तर कविताको नाममा नारा बेच्नु बेइमानी हो । कविताको नाममा सस्तो मनोरञ्जनको पुरिया बेच्नु धोका हो । आज कविताको नाममा आफ्ना मनका गनगनहरूलाई लेख्न थालेका छन् । आजको आधुनिक बजारमा कोही कविताका मालिकहरू छन्, तिनीहरू बजार कब्जा गर्छन् र आफ्ना कविताहरू बेच्छन् । तिनीहरूसँग शब्दहरू छन् तर धार नभएका । नाराहरू छन्, भजनहरू छन्, स्तुतिगानहरू छन् ।
तिनीहरूसँग पुँजी र सत्ता छ । केही कविताकर्मीहरू सुन्दर कविता लेख्छन् तर तिनीहरूसँग बजारसम्मको पहुँच छैन । तिनीहरूसँग शब्दहरू छन्, कविताहरू छन्, विचारहरू छन्, संवेदना छन्, आवाज छन् । तर, तिनीहरू कविताको बजारमा वर्जित छन् । तिनीहरूले त्यो निषेधाज्ञा तोड्न सकेका छैनन् । तर, हरेक आवाजले विस्फोट हुने सामथ्र्य राख्छ भन्ने हेक्काचाहि कविताका ठेकेदारहरूले सायद राखेकै होलान् । आज कविता मुख्य रूपले अर्थसँग जोडिएको छ । यो पुँजीवादको चरम विकासको युगमा कविताको मृत्यु भएको छ । पुँजीवाद कविताको चिहानघारी भएको छ ।
यो त्यस्तो समय हो
जहाँ झ्यालमा प्रशस्त देखिन्छ
तर, कोठाभित्र केही देखिँदैन
(दलाई लामा)
यस्तो आदर्श हराएको समयमा कविताको के कुरा ? आदर्शको के कुरा ? विचारको के कुरा ? निष्ठाको के कुरा ? कलाको के कुरा ? सौन्दर्यको के कुरा ?

प्रतिक्रिया