मत-विमत

राजनीति र साहित्य

सौर्य अनलाइन २०६९ असार २३ गते २:३८ मा प्रकाशित

गोर्कीको ‘चेल्कास’ शीर्षक कथाको राजनीतिक अभिप्राय बुझ्न मलाई धेरै समय लाग्यो । किनकि, त्यो कथाका दुई मुख्य पात्र चेल्कास र गाबरिला माझको सम्बन्ध र द्वन्द्वमा कतै पनि राजनीतिको गन्ध पाइँदैन ।
एकपटक किसान युवक गाबरिला सहर आयो । उसले चेल्कास नाम भएको केटोलाई भेट्यो । चेल्कास पेसाले एउटा सिद्धहस्त चोर थियो । गाबरिला चेल्कासको वृत्तितर्फ आकर्षित भयो र चोरीकर्ममा संलग्न भयो ।
गाबरिला गाउँमा एउटी धनी जमिनदारकी छोरीसित बिहे गर्न चाहन्थ्यो । त्यसनिम्ति धेरै पैसाको आवश्यकता पथ्र्यो । बस, त्यही लोभले गर्दा ऊ चोर हुन पुगेको थियो ।
एक रात उनीहरूले थुप्रै धनमाल चोरेर ल्याए । चेल्कास मस्त निदायो । त्यसैबखत गाबरिलाको मनमा लोभका आँधी चल्न थाले । यदि चेल्कासलाई मारेर यो सबै सम्पत्ति घर लान पाए म गाउँको जमिनदारको ज्वाइँ हुन पाउँथेँ । उसले यस्तै कल्पना गर्‍यो र नजिकैको ठूलो ढुंगो उचालेर चेल्कासको खप्परमाथि प्रहार गर्‍यो । त्यही प्रहारबाट पछि गएर चेल्कासको प्राणपखेरू अन्त्य पनि भयो । सारांशमा कथाको आवृत्ति यति नै हो ।
कथामा किसान गाबरिलाभन्दा चोर चेल्कास नै बढी प्रगतिशील देखिन्छ । सबै व्यवहारमा चेल्कास नै छाएको छ सिंगो कथामा । स्पष्टवक्ता, लोभलालच नभएको, मानवीय संवेदनाले ओतप्रोत र निर्भिक चेल्कासको अगाडि गाबरिलाचाहिँ दब्बु, लोभी,
कपटी, अन्तर्मुखी, स्वार्थी र अमानवीय किसिमको देखिन्छ । सुरुमा कथा पढ्दा मैले बुझेको सत्य त्यति मात्र थियो ।
तर, राजनीतिमा चाख दिन थालेपछि मैले रुसी क्रान्तिको इतिहासमा त्यो कथाको अर्थ कहाँ होला भनी खोजीनीति सुरु गरेँ । पछि कोरोलेन्कोको टिप्पणी पढेपछि थाहा भयो– चेल्कास कथामा इतिहासबोधको आºनै छुट्टै र मौलिक आयाम विद्यमान रहेछ ।
अब यो सत्यलाई खुला गर्न म रुसी इतिहासको एउटा राजनीतिक प्रवृत्तिसम्म पुग्न उपयुक्त मान्दछु । जस्तो कि उन्नाइसौँ शताब्दीको आठौँ दशकतिरको घटना हो यो । रूसका केही निम्न पुँजीवादी क्रान्तिकारीले यस किसिमको आन्दोलन आरम्भ गरे । राजनीतिक शब्दावलीमा उनीहरूलाई नरोदनिक भनिन्छ । उनीहरूको राजनीतिक माग थियो– तानाशाही जारशाहीको अन्त्य र जमिनदारको जमिन खोसेर किसानलाई बाँड्ने ।
नरोदनिकवादीहरू रूसमा पुँजीवादी विकासको नयाँ यथार्थलाई अस्वीकार गर्थे । त्यसैले उनीहरूको आँखामा क्रान्तिको अगुवा शक्तिमा सर्वहारावर्ग नभएर किसानवर्ग मात्र पर्न आएका थिए । उनीहरू ग्रामीण समाजमा समाजवादका भ्रुण छन् भनी हठ गरिरहन्थे । यसरी गाउँका किसानलाई जार तानाशाहीको विरोधमा उक्साउन उनीहरू अनेक प्रयत्न गर्थे । तर, गाउँका जनताबाट (रुसी भाषामा जनलाई नरोद भनिन्छ) उनीहरूले एकरत्ति पनि समर्थन पाएनन् ।
नरोदनिकहरू सुरुमा एकदमै उग्रवामपन्थी किसिमका देखिन्थे । कामरेड लेनिनका दाइ अलेक्सान्दर पनि ‘नरोदनाया भोल्या’ को नजिक थिए । उनी बिस्तारै माक्र्सवादतिर पनि आकर्षित भइरहेका थिए । तर, मार्च १८८७ मा उनी गिरºतार
भए र पछि जारहरूले उनलाई
फाँसी दिए ।
नरोदनिकहरू एक दशकजति पछि नै प्रतिक्रियावादी चरित्रमा बदलिए । उन्नाइसौँ शताब्दीको अन्त्यसम्म पुग्दा उनीहरू जारशाहीसित सम्झौता गर्ने अवस्थामा पुगे । त्यसपछि उनीहरू रुसी जमिनदारहरूको स्वार्थको कुरा गर्दै माक्र्सवादविरुद्ध उभिए ।
रुसी इतिहासका यी सन्दर्भ थाहा पाएपछि ममा ‘चेल्कास’ कथाको अर्थ र अभिप्राय: अरू बढी स्पष्ट भएर गयो । एउटा चोरभन्दा पनि निकम्मा मनोविज्ञान भएको गाबरिला नयाँ क्रान्तिको नायक कसरी हुन सक्ला ? इतिहासको यही सत्यलाई प्रतिपादन गरे गोर्कीले यो कथामा ।
गोर्कीले जस्तै सरल प्रविधिमा राजनीतिलाई साहित्यमा प्रत्यारोपण गर्ने अर्का महान् लेखक हुन्– लु सुन । उनको ‘आह क्युको साँचो कथा’ यस बान्कीको एउटा महानतम उदाहरण हो । आह क्युको साँचो कथाले सन् १९११ को चीनको असफल प्रजातान्त्रिक क्रान्तिको साँचो कथालाई व्यक्त गरेको छ । तर, त्यहाँ पनि राजनीतिमा लेखिने टिप्पणीजस्ता सोझा, सरल र सपाट अभिव्यक्ति छैनन् । जीवनको चौतर्फी पराजय र आत्मरतिमा बाँचेको पात्र हो आह क्यु । जब ऊ अनाहकमा कुटिन्छ त्यसपछि विजेताको मनोभावमा आत्मरति गर्दै भन्छ– जमाना नै खराब छ, छोराले बाबुलाई कुट्ने ।
कुट्ने व्यक्तिलाई आºनै छोरा बराबर ठानेर जितको नक्कली अनुभूतिले आश्वस्त हुन्छ आह क्यु । त्यस्तै एकपटक उसलाई एउटा शत्रुसित बदला लिनु थियो । त्यसपछि ऊ बेस्सरी आºनै गालामा चड्काउँछ र भन्छ– साला, ल खा ।
यसरी ऊ तथाकथित विजयको निम्ति आºनो वास्तविक पराजयबोधमा ओर्लन कदापि तयार हुँदैन । त्यसका निम्ति ऊ आºनै एउटा गालालाई शत्रुको गाला मानेर निर्मम प्रहार गर्छ ।
आह क्युको साँचो कथामा सामन्तवादले उत्पादन गरेको मानवद्वेषी मूल्यको फलकमा सन् १९११ ताकाको सिंगो चीनको हीन मनोविज्ञानलाई व्यक्त गरिएको छ । ‘चेल्कास’ कथाझैँ यसमा पनि युगबोध र इतिहासबोधको उत्तरदायित्वलाई निकै शीर्षस्थानमा राखेर आत्मसत् गरिएको छ ।
लु सुनले यही शैलीमा थुप्रै कथा लेखेका छन् । ‘बहुलाको डायरी’ शीर्षकको कथा चिनियाँ सामन्तवादविरुद्ध एउटा शक्तिशाली घोषणापत्र हो । उनले त्यो कथामा मान्छेको मासु खाने इतिहासको प्रतिवाद गर्दै आह्वान गरे– मान्छेको मासु नखाएका बालक छन् भने तिनलाई जोगाऊ ।
यस्तै, ‘ओखति’ कथामा चिनियाँ क्रान्तिका सहिदको गाथा एकदमै अप्रत्यक्ष ढाँचा र बान्कीमा टिपिएको छ । राजनीतिको कुरा नगरीकन राजनीतिको विषयमा शक्तिशाली किसिमले लेख्ने मामिलामा गोर्कीझैँ लु सुन पनि धेरै प्रवीण र कुशाग्र देखिएका छन् ।
मुक्तिबोधको ‘विपात्र’ अथवा ‘क्लाड इथरली’ यही परम्पराको अन्य कोसेढुंगा हुन् । ‘विपात्र’ मा साम्राज्यवाद कसरी सैतान भएर तेस्रो विश्वका बुद्धिजीवीको आत्मामा प्रवेश गर्छ भन्ने देखाइएको छ । अझ ‘क्लाड इथरली’ पढेपछि त मलाई लेनिनको ‘इम्पेरेलिजम : द हायस्ट स्टेट अफ क्यापिटलिजम’ बारम्बार सम्झना भइरह्यो । कथामा पनि साम्राज्यवाद नै पुँजीवादको अन्तिम अवस्था हो भनेर लेख्न सकिने रहेछ भन्ने कुरा मुक्तिबोधले यसरी प्रमाणित गरेर देखाए ।
विश्वसाहित्यमा यस्ता सन्दर्भ अनगिन्ती हुन सक्छन् । तर, नेपाली साहित्यमा हामी यो पक्षमा निकै गरिब छौँ कि क्या हो, मैले यस किसिमका अद्भुत रचना आजसम्म पढ्न पाएको छैन । मेरो आºनै लेखनमा पनि यस किसिमको सोचाइमा ध्यान नगएको होइन । २०३५ सालमा रामेछापमा केही महिना बस्दा लेखेको ‘चोर’ कथामा मैले यही किसिमको परम्परा अनुसरण गर्न खोजेको थिएँ । सहिद ऋषिराज देवकोटा आजादको अगुवाइमा भएको आन्दोलनलाई मैले ‘चोर’ को आँखामा पढ्ने प्रयत्न गरेको थिएँ । त्यस्तै कोसिस मैले भर्खरै लेखिसकेको ‘सुप्रिया, किन काम्दैछन् तिम्रा ओठहरू ?’ मा पनि गरेको हुँ । तर, म भन्न सक्दिनँ– मैले राजनीतिलाई अर्को तरिकाबाट व्यक्त गर्दा कति सफल भएँ वा भइनँ । यो कुराको निक्र्योल तिनले नै गर्न सक्छन् जो आºनो पाठकीय निष्ठामा गम्भीर निष्पक्ष एवं उदात्त छन् ।
गोर्कीले ‘एक पाठक’ शीर्षकको आºनो कथामा लेखेका छन्– ‘साहित्यको उद्देश्य हो, आफैँलाई चिन्ने प्रक्रियामा अरूलाई मद्दत गर्नु, आत्मविश्वासलाई दृढ पार्नु र सत्यान्वेषणको वातावरण बनाउनु, मानिसको असल पक्ष उद्घाटन गर्नु र खराब पक्ष उन्मूलन गर्नु, मानिसको हृदयभित्र मानवता, आक्रोश र साहस उत्पन्न गर्न सहायता दिनु र उच्च उद्देश्यका निम्ति सौन्दर्यको पवित्र भावनाबाट मानिसको जीवनलाई शुभ्र र स्निग्ध बनाउनु ।’
सम्भवत: हाम्रो राजनीतिक अभियानलाई साहित्यमा उतार्ने रचनात्मक प्रक्रियाको सार यही नै हो । जुन सारलाई हिजो लु सुन, मुक्तिबोध र अरूले पनि पछ्याउँदै आएका थिए र आज हामी पनि त्यसैलाई पछ्याउने क्रममा लामबद्ध छौँ ।
(यसै साता बजारमा आएको नारायण ढकालको निबन्धसंग्रह ‘शोकमग्न यात्री’बाट । किताब ‘फाइन प्रिन्ट’ले प्रकाशन गरेको हो ।)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय