प्रवेश फारममा सेन्ट जेसिभयर्सको लुट

काठमाडौं, २३ असार । सामाजिक सेवाका भावनाले सञ्चालनमा आएको दाबी गरिएको सेन्ट जेभियर कलेजले मनपरी शुल्क असुलेको छ । गैरनाफामूलक दाबी गर्ने संस्थाले एउटा विद्यार्थी प्रवेश फारम भरेको एक हजार रुपैयाँसम्म असुलेको पाइएको छ ।

बबरमहलस्थित सो कलेजले ए–लेभलको प्रवेश परीक्षा फारमको एक हजार रुपियाँ असुलेको हो । दस जोड दुईको फारममा प्रतिविद्यार्थी पाँच सय रुपैयाँ असुलेको छ । स्रोतका अनुसार दस जोड दुईका मात्र साढे आठ हजार फारम वितरण गरेको छ । ए लेभलको एक हजारका दरले चार सय फारम वितरण गरेको छ । जसअनुसार फारम बेचेर दस जोड दुईबाट ४२ लाख ५० हजार हाराहारी र ए लेभलबाट चार लाख रुपैयाँ असुलेको छ ।
कलेका प्रिन्सिपल फादर अगस्टाइन थोमस एसजेले फारमको मात्र एक हजार र पाँच सय रुपियाँ लिएको स्वीकार गरे । उनले कोरम सीमित गर्नका लागि शुल्क निर्धारण गरिएको बताए । भने, ‘परीक्षा सञ्चालनका लागि शुल्क लिइएको हो, पैसाका लागि होइन ।’
उच्च माध्यमिक शिक्षा परिषद्का प्रवक्ता नारायण कोइरालाले फारम र ब्रोसरमा मुनाफा खोज्न नहुने बताए । प्रवक्ता कोइरालाका अनुसार ०५९/०६० मा विद्यार्थी संगठन र परिषद्बीच उच्च माविले फारमको जम्मा एक सय रुपियाँ मात्र असुल्न पाउने सहमतिसमेत भएको थियो । ‘फारमको यतिमात्र लिन पाउने भन्ने नियम छैन तर कति खर्च हुन्छ, खर्च हुनेमात्र लिनुपर्छ,’ कोइरालाले भने । धार्मिक संस्था जेसुइटअन्तर्गत उक्त कलेजसहित आधा दर्जन शैक्षिक संस्था सञ्चालनमा छन् । संस्थाले ललितपुरको जावलाखेल र गोदावरी, झापामा दुई ठाउँ गरी चार स्थानमा विद्यालय, जावलाखेलमै सामाजिक सेवा केन्द्र, पोखरामा असहाय विद्यार्थीका लागि शिशु निकेतन र ललितपुरमा पुन:स्थापन केन्द्र सञ्चालन गर्दै आएको छ ।

निजी विद्यालय सञ्चालनमा मनपरी

अमृत गिरी

बुटवल, २३  असार । नवलपरासीमा १६ वटा निजी विद्यालय अनुमतिविना सञ्चालन गरेको पाइएको छ । अनुगमनका क्रममा अनुमतिविना ती विद्यालय सञ्चालन भइरहेको पाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
मनपरी कक्षा थप गरी सञ्चालनमा रहेका विद्यालय पनि अनुगमनका क्रममा भेटिएको जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले जानकारी दिएका छन् । जिशिअ थापाका अनुसार विनाअनुमति सञ्चालनमा रहेका विद्यालयहरूले बढीमा कक्षा सातसम्मको कक्षा चलाएका छन् । कक्षा १ को अनुमति पाएका विद्यालयले कक्षा सातसम्म चलाएका र कक्षा पाँचको अनुमति पाएकाले कक्षा १० सम्मै सञ्चालन गरेको जिशिकाले जनाएको छ ।
जहदाको सनसाइन इंग्लिस स्कुल, मनरीको गोल्डेन फ्युचर, रामग्रामको युनिभर्सल इंग्लिस बोर्डिङ स्कुल, देवगाउँको फ्युचर जेनेरेसन, प्रसौनीको ब्राइट फ्युचर, रामनगरको विद्यासागर, देउरालीको शान्ति निकेतन, दाउन्नेदेवीको न्यु भिजन, बन्जरियाको टुइङगल इंग्लिस बोर्डिङ स्कुल, बडहरा दबौलियाको अम्बिका इंग्लिस स्कुल, महेशपुरको सनफ्लावर इंग्लिस बोर्डिङ स्कुल, उजेनीको रामग्राम इंग्लिस बोर्डिङ स्कुल, अक्सफोर्ड स्वाँठी, हरपुरको चिल्ड्ेरन इंग्लिस स्कुल, रामपुर खडौनाको लर्डबुद्ध एकेडेमी र दाउन्नेदेवीको न्यु ड्रिम इंग्लिस बोर्डिङ स्कुलले विनाअनुमति विद्यालय सञ्चालन गरेको भेटिएको हो । विनाअनुमति सञ्चालनमा रहेका विद्यालयलाई नियमसम्मत सञ्चालनका लागि नियमन प्रक्रिया अगाडि बढाइएको र अटेर गरे कारबाही गरिने जिशिकाको भनाइ छ ।
विद्यालय सञ्चालन अनुमति समयमा नदिनु र कक्षा सञ्चालन भएका विद्यालयमा थप कक्षाको अनुमति नदिँदा यस्तो समस्या आएको प्याब्सनका जिल्ला अध्यक्ष भीमलाल अधिकारीको तर्क छ ।

प्रतिक्रिया