“बिछोडको पीडामा रक्सी खान थालेँ”


उति बेला म २२ वर्षको थिएँ, उनीचाहिँ २० वर्षकी । उनी अर्थात् मोनिका केसी, मेरी प्रेमिका । साह्रै राम्री अनि लजालु स्वभावकी थिइन् । नेपालगन्जमा हामी दुवै प्लसटु पढिरहेका थियौँ । त्यही क्रममा परिचय भएको हो । म कलेज भर्ना भएको करिब एक महिनापछि मात्र उनी त्यहाँ आएकी थिइन् । कलेजबाट घर फर्कंदै गर्दा हाम्रो आँखा जुध्यो । पहिलो हेराइमै उनी साह्रै राम्री लागिन् । उनले हेरेपछि लाग्यो, म पनि निकै ह्यान्डसम रहेछु कि क्या हो † मलाई उनी मन परिन्, मनले उनलाई आºनो बनाउन चाह्यो । त्यस बेलासम्म कुनै केटासँग उनको प्रेम नरहेको साथीहरूबाट थाहा पाएँ ।
आँखा जुधेको १५ दिनपछि उनीसँग सामान्य परिचय भएको थियो । यति बेलासम्म उनका र मेरा दुवैतर्फका साथीले म उनलाई मन पराउँछु भन्ने थाहा पाइसकेका थिए । उनीसँग परिचयको मौका पनि उनीहरूले नै जुटाइदिएका हुन् । केटीसाथीहरूले उनलाई कलेजनजिकैको चौतारीमा ल्याए । मलाई पनि मेरा साथीहरूले त्यहीँ लगेर छाडिदिए । अहिलेसम्म परिचय भएको थिएन, एक्कासि के बोल्नु–बोल्नु, म त अलमल्लै परेँ । उनले तपाईंको नाम के हो भनेर सोधेपछि मात्र सास आयो । प्रश्न खस्न नपाउँदै भनिहालेँ– गोविन्द शाही । अनि सोधिहालेँ– तपाईंको नि † लजाउँदै भनिन्, मोनिका केसी । त्यसपछि घरपरिवार र अध्ययनबारे कुराकानी गर्न थाल्यौँ । त्यही भेटपछि हामी नजिकका साथी बन्यौँ । कलेजमा दिनदिनै भेट्दा सम्बन्ध घना हुँदै थियो । भित्रभित्रै एकअर्कालाई माया गर्न थालिसकेका थियौँ र पर्पोज गरियोस् भन्ने चाहन्थ्यौँ ।
कहिलेकाहीँ मसँग आएर घुक्र्याएजस्तो गर्थिन्– ‘मलाई घरनजिकैको एउटा केटाले माया गर्छु भनिरहन्छ । के गरौँ ?’ लाग्थ्यो– उनी मैले पहिला पर्पाेज गरोस् भन्ने चाहन्छिन्, त्यसैले यस्तो भन्छिन् । तर, पर्पोज गर्नै सक्दैनथेँ । बरु उत्तर दिन थाल्थेँ– ‘यो उमेरमा माया गर्छु भन्ने हजार हुन्छन् नि, तर जीवन काट्न मन मिल्ने एउटा मात्र चुन्नुपर्छ ।’ उनी बाटो सजिलो पार्न खोज्थिन्– ‘मेरो त ऊसँग मनै मिल्दैन भनेको । मन मिल्ने साथी भनेको त तिमी मात्र हौ ।’ उनले यतिसम्म संकेत गर्दा पनि केही बोल्न सक्दैनथेँ । ‘हो र †’ भन्थेँ अनि चुपचाप बस्थेँ ।
भेट भएको ६ महिनापछि चाहिँ जे त होला पर्पाेज गरेरै छाड्छु भन्ने सुर चल्यो मलाई । सिधै अगाडि माया गर्छु भन्ने त हुती थिएन । उनलाई चौतारीमा बोलाएँ अनि एउटा पोस्टकार्डमा ‘आइ लभ यु’ लेखेर दिएँ, डराई–डराई । भोलिपल्ट उनले दुई–चार दिनपछि निर्णय दिने बताइन् । त्यो दुईचार दिन दुईचार वर्षजत्तिकै लागेको थियो । साह्रै खुल्दुली हुन्थ्यो । डर पनि लाग्थ्यो– ‘अस्वीकार पो गर्ने हुन् कि †’ दुई चार दिनको भाका पुगेपछि बिहान सबेरै उठेर नुहाइधुवाइ गरेँ । अनि उनको निर्णय सुन्न चौतारीतिर लागेँ । मलाई पर्खिरहेकी रहिछन् । मैले सञ्चै छौ भनेर सोध्न पनि पाएको थिइनँ, उनले सिधै भनिन्– ‘आई लभ यु टु ।’ अनि बेलिविस्तार लाउन थालिन्– तिमीलाई दुईचार दिन भनेर झुलाएकी मात्र हुँ, मन पराएको त पहिलो भेटमै हो । मैले भनेको कत्तिको मान्दा रहेछौ भनेर कुराएकी ।’ उनले यसो भन्दा म त टोलाउन थालेँछु । बोलिरहेकी उनलाई अँगालोमा बेरेँछु । उनले पनि मलाई अँगालिन् । त्यस बेला जीवनको सबैभन्दा ठूलो जित हात पारेको भान भइरहेथ्यो ।
त्यसपछि हामी नेपालगन्जको चटार पार्कमा डेटिङ गयौँ, करिब सात घन्टा साथै बस्यौँ । त्यो डेटिङमा हामीले घरपरिवारका बारे कुराकानी गर्‍यौँ । अनि फेमिली प्लानिङको सपना पनि देख्न थाल्यौँ । म छोरी पहिला चाहिन्छ भन्थेँ, उनीचाहिँ छोरा पहिला भन्थिन् । हाम्रो डिस्कस निकै हुन्थ्यो । उनी अलि जिद्दी स्वभावकी भएकाले आफूलाई कन्ट्रोल गर्थें ।
हामी एकअर्काप्रति एकदमै सकारात्मक थियौँ । त्यसै कारण करिब १० महिनापछि हामीबीच सेक्स सम्बन्ध पनि भयो । उनीसँग भएको यस्तो सम्बन्ध त्यही एकचोटि मात्रै हो । त्यसपछि हामी झन् नजिक भयौँ, आत्मीयता झनै बढ्यो । दिनदिनै नभेटी बसिरहन सक्दैनथ्यौँ ।
तर, एक समय यस्तो आयो, उनीसँग भेट्न नपाएर म तड्पिएको तड्पियै हुन पर्‍यो । जीवनमा केही अपूरो र अधुरो अनुभूति भइह्यो । हाम्रो सम्बन्ध भएको करिब दुई वर्षपछि उनी युके जाने भन्न थालिन् । उनको भविष्य सम्झेर मैले पनि हुन्छ भनेर अनुमति दिएँ । उनी त्यहाँ पुगेपछि पनि सुरुसुरुमा त फोनमा कुराकानी हुन्थ्यो । तर, केही महिनामै उनले मोबाइल चेन्ज गरिन्, मलाई बेवास्ता गर्न थालिन् । उनलाई भेट्ने अनेकौँ प्रयास गरेँ तर सकिनँ । त्यो पीडा सहन नसकेर रक्सी खान थालेँ । केही सम्हालिँदै चलचित्र क्षेत्रमा हात हालेँ । केही चलचित्रमा अभिनय गरेँ, चित्तै बुझेन । अति भएपछि उनैको सम्झनामा तिनै कहानीहरू समेटेर एउटा लभस्टोरी चलचित्र बनाउने निधो गरेँ । चलचित्र संसार आफ्नै मैले बनाएको त्यही चलचित्र हो, आगामी साउन १८ गते प्रदर्शन हुँदै छ । अहिले पनि उनीसँग बिताएको क्षण सम्झेर टोलाइरहन्छु । अब त ३० वर्ष पुगिसकिएछ । उनले बिहे गरिन् कि गरिनन्, थाहा छैन । जे भए पनि उनले सुख पाइरहुन् † मेरी मायालु मोनिकाले †
प्रस्तुति : विशाल राई

प्रतिक्रिया