लडाकुको परिवर्तित अवस्था

निकै लामो समयपछि लडाकु समायोजनको कार्य थालनी भएको छ । ढिलै भए पनि शान्तिप्रक्रियाअन्तर्गतको एउटा जटिल पक्ष टुंगिनेमा अब ढुक्क हुन सकिन्छ । १० वर्षे सशस्त्र संघर्ष र पाँच वर्ष लामो शिविर बसाइले थकित भएका लडाकुले थोरै भए पनि राहत महसुस गर्नेछन् । राजनीतिक र सामाजिक रूपमा नभए पनि आर्थिक पक्षमा भने ती लडाकुहरूलाई सामान्य सन्तुष्टि मिल्न सक्छ । शिविर पूर्णरूपमा खाली भएपछि मुलुकमा रहेको दुइटा सेनाको अस्तित्व पनि समाप्त हुनेछ । ‘जनमुक्ति सेना’ भनिए पनि माओवादी लडाकुप्रति माओवादीइतर पक्ष भयभीत हुँदै आएका थिए । हतियार र बल प्रयोगमा बढी विश्वास गर्ने माओवादी पछिल्लो समयमा आफ्नै लडाकुदेखि निकै त्रसित मानसिकतामा थियो । २८ चैत २०६८ मा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना लडाकुहरू एक्कासि नेपाली सेनालाई बुझाउनुको कारण पनि लडाकुप्रतिको अविश्वास र डर नै थियो । यस्तो अवस्थामा पूर्णरूपमा शिविर खाली हुनु भनेको एमाओवादी र अन्य दलका लागि समेत सन्तोषको विषय हुने भएको छ । साथै राजनीतिक दलहरूबीच भएको सहमतिको महत्त्वपूर्ण एउटा बुँदाले पूर्णता पाउनेछ । र, अब लडाकु परिवर्तित अवस्थामा सेनाभित्र घुलमिल हुनेछन् ।
०५२ सालमा सशस्त्र संघर्षको थालनी गर्दा युद्धबाटै राज्यसत्ता प्राप्त गर्ने कसम खाएका लडाकुलाई एमाओवादी नेतृत्वले सत्ताप्राप्तिको भर्‍याङ बनायो । ४० बुँदे मागपत्र तत्कालीन देउवा सरकारलाई बुझाएर जंगल पसेका डा. बाबुराम भट्टराई अहिले प्रधानमन्त्री छन् । त्यो ४० बुँदे मागपत्र नवगठित नेकपा–माआवादीले उनै डा. बाबुरामलाई बुझाएको छ । द्वन्द्वकालमा जनताले धेरै दु:ख कष्ट सहन बाध्य भए । अहिले पनि समाजमा भाँडभैलो यथावत् छ । जनता अझै भयभीत छन् । यसको थोर बहुत दोषको भागीदार लडाकु पनि हुन् । तथापि, ती लडाकु राष्ट्र र जनताका खातिर भनेरै लडेका थिए । उनीहरूको उद्देश्य पूरा भयो वा भएन त्यो अर्कै विषय हो । तर, लामो र कष्टपूर्ण जीवन बिताएका लडाकुकै कारण एमाओवादी संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बन्न सफल भयो । ०५२ सालदेखि अहिलेसम्मको कालखण्डमा मुलुक र जनताले के पाए र के गुमाए त्यसको लेखाजोखा इतिहासले गर्ने नै छ । अहिले भने समायोजनमा जाने लडाकुलाई सम्मानजनक ढंगले सेनामा समायोजित गरिनुपर्छ । नेपाली सेना र लडाकुका मनमा रहेका तुष मेटेर आपसमा समान व्यवहार गर्ने वातावरण निर्माण गरिनुपर्छ । यसले मात्र लडाकुले सम्मानित भएको महसुस गर्नेछन् ।
हिजोका दिनमा लडाकुप्रति जनताको राम्रो धारणा रहेन । र, अहिले पनि विभिन्न घटनामा पूर्वलडाकु वा शिविरमा रहेका लडाकु संलग्न रहेको अवस्था छ । यसलाई माउ पार्टीले गम्भीरतापूर्वक लिएर सच्याउनुपर्छ । समायोजनमा जाने लडाकुले अब आफ्नो राजनीतिक आस्था बिर्सिएर साँच्चै राष्ट्रको सेना हुन सक्नुपर्छ । फरक विचारलाई सिध्याउनै पर्छ भन्ने मान्यता अब लडाकुका लागि पुरानो भइसक्यो । उनीहरूले पूर्णरूपमा नेपाली सेना भएर राष्ट्र र जनताका पक्षमा लड्न सक्नुपर्छ । वास्तवमा नेपाली सेनाको छवि विश्वसामु निकै प्रशंसनीय छ । मुलुकभित्र पनि सरकारले निर्देशन गरेकोभन्दा फरक ढंगले कार्य गरेको इतिहास छैन । सरकार जसको भए पनि सेना अहिलेसम्म विधिविधानअनुरूप नै चलेको छ । कुनै राजनीतिक पूर्वाग्रह र सरोकार राखेको छैन । सरकारले गरेको निर्णय नै उसको पथप्रदर्शक नीति हुँदै आएको छ । अब समायोजन हुँदै गरेका लडाकुले पनि सोहीअनुरूप आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ । सेनाको मापदण्डविपरीत कुनै काम गरिनु हुँदैन । किनकि, नेपाली सेना राष्ट्रको गौरब हो । यो गौरबलाई धमिरा लगाउने काम भएमा सिंगो नेपालकै बदनाम हुन जान्छ । तसर्थ, सेनामा समायोजन हुने लडाकुले विशिष्ट परिस्थितिको मागअनुसार आफूमा परिवर्तन ल्याएर उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ । यसले मात्र लडाकु समायोजनले सेनालाई आँच आउनबाट जोगाउनेछ । र, सही अर्थमा दुईटा सेनाको अस्तित्व समाप्त भएको ठानिनेछ ।

प्रतिक्रिया