सरकारको राष्ट्रघाती कदम : माले

काठमाडौं, २२ असार । नेकपा (माले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिने सरकारको तयारीप्रति विरोध जनाएको छ । विमानस्थल व्यवस्थापनको जिम्मेवारी विदेशी निर्माण कम्पनीलाई दिइनु सामान्य घटना नभई ‘राष्ट्रिय आत्मसमर्पणवादी’ भन्दै मालेल विरोध गरेको हो ।
महासचिव सिपी मैनालीले बिहीबार विज्ञप्तिमार्फत सरकारको तयारीलाई राष्ट्रघाती कदमको संज्ञा दिंदै संसद् छलेर सरकारले गरेको यस्तो निर्णय अविलम्ब फिर्ता लिन माग गरेका छन् । ‘व्यवस्थापिका संसद् नभएका अवस्थामा संविधानलाई नै अपमान गरी प्रधानमन्त्रीको ठाडो निर्देशनमा अन्तर्राष्ट्रिय विमानस्थल–जस्तो संवेदनशील स्थलको व्यवस्थापन गर्न भारतीय निर्माण कम्पनीलाई दिने कार्य सामान्य घटना होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘यो राष्ट्रिय आत्मसमर्पणवादी कदम भएकाले उक्त कार्यको नेकपा (माले) भत्र्सना गर्दछ ।’

प्रतिक्रिया