रंग‍-विविध

साधनाले नथाकेका स्रष्टा

सौर्य अनलाइन २०६९ असार २१ गते ५:१७ मा प्रकाशित


दुवै हात हारमोनियमका सुरतालमा व्यस्त । वरिपरि नवगायक गायिकाको घेरो । भित्ताभरि जीवनभर कमाएका सम्मान र प्रमाणपत्रहरू । अनि छेवैमा थियो, एल्बमको थुप्रो । भुइँमा ओच्छ्याइएको चटाइमा गजधम्म बसेका थिए वरिष्ठ संगीतसाधक रत्नबहादुर खड्गी । मेरो प्रवेशले उनको लीन साधनालाई कुनै फरक परेन । गाउँदै गरेका गीतका हरफहरू नवसंगीतकर्मीहरूले बिट मारेपछि मात्रै उनको ध्यान भंग भयो ।
अनि मात्र वरिष्ठ संगीतकार खड्गीले मतिर हेरे अनि भने, ‘बस्नुस्’ । झन्डै डेढ घन्टाको सिक्ने–सिकाउने माहोल हेर्दा लाग्थ्यो, ‘संगीत साँच्चै रहरले मात्र जन्मने होइन रहेछ । कुराकानीको सुरुआतमै क्लासिकल संगीतका ज्ञाता खड्कीले भने, ‘आज व्यापारिक उद्देश्यले बजारमा आएका गीत संगीतले नेपाली संगीत कालजयी हुन सकिरहेको छैन ।’ १९९५ साल असोज २६ गते काठमाडौंको डिल्लीबजारमा जन्मिएका खड्की २०१० सालदेखि रेडियो नेपालबाट नेपाली गायन तथा संगीतमा प्रवेश गरेका हुन् । त्यसो त उनी गाउँटोलमा कतै विवाह भोज भयो भने स्कुल जानुको साटो त्यतै मोडिन्थे रे ।
‘त्यो समय आजको जस्तो थिएन,’ संगीतकार खड्गीले भने, ‘गीत गाउनेलाई गाइने भनिन्थ्यो । नाच्ने महिलाको त मगनीसमेत हुँदैनथ्यो ।’ कलाप्रतिको सामाजिक हेराइ त्यस्तो भएको अवस्थामा पनि खड्गीले आज वरिष्ठ संगीतकार हुँदासम्मको यात्रा कसरी लम्ब्याइरहन सके त ? भने, ‘पढाइ भनेपछि मेरो अक्षरतिर कहिल्यै ध्यान गएन, म जहाँ हिँड्दा पनि गुनगुनाएरै हिँड्थँे ।’ त्यत्तिले मात्रै खड्की क्लासिकल, क्लासिकल लाइट र आधुनिक संगीत क्षेत्रका सिद्धहस्त बनेका भने होइनन् । पिता स्व. कुमार खड्गी र माता स्व. विष्णुमायाका सुपुत्र खड्गीले आजको स्थानमा आइपुग्न कम्ती गला र औँला रेटेका छैनन् । ‘पिताजीले गीतसंगीतमा लागेको देख्यो कि लखेट्नुहुन्थ्यो, तैपनि दाइ नाति खड्गी तबला बजाउनुहुन्थ्यो,’ उनी विगत सुनाउँदै छन्, ‘मलाई दाइले लुकिछिपी गाउन भन्नुहुन्थ्यो ।’
पछि उनी रेडियो नेपालमा भ्वाइस टेस्ट पास गरेर करारमा जागिरे भए । ‘अहिलेको जस्तो पैसा खर्च गरेर गीतसंगीतमा लाग्न सक्ने अवस्था थिएन,’ खड्गीले भने, ‘त्यसबेला त गीत रेकर्ड गर्न पनि भारत जानुपथ्र्यो ।’ खड्गीले पहिलो गीतको पारिश्रमिक लिँदा नौ रुपियाँ मात्रै थियो । गायिका तारादेवीले गाएको एक्लै बस्दा सधैँ मलाईमा संगीत भरेबापत उनले १०–१२ रुपियाँ मात्रै पारिश्रमिक पाएका थिए । मेट्रिकसम्म मात्रै अध्यन गरेका खड्की आफैँ भने संगीत साधनाको एक गतिलो किताबजस्तै बनिसके । आज क्लासिकल र गजलको नाममा बजारमा गाइने र सुनिने गीतहरू उनको नजरमा ‘बाना नमिलेका’ जस्ता देखिन्छन् । ‘हिट खाएको गीत हप्ता, महिना दिनमा किन हराउँछ ?’ संगीतसाधक खड्गीले प्रश्न गरे अनि कारण पनि बताए, ‘शब्द, संगीत र आवाजमा जबसम्म वजन हुँदैन, यस्तै हुन्छ ।’ उदाहरण पेस गरे, ‘नारायण गोपालका गीतले एक युग धाने अझै कति युग थेग्छन्–थेग्छन्, किनकि उहाँले गाएका गीतमा स्वर, शब्द र संगीत ओजपूर्ण छन् ।’
रेडियो नेपालमा छँदा नातिकाजी, शिवशंकर, तारादेवी, कोइलीदेवी माथेमा, हरिप्रसाद रिमाललगायतका वरिष्ठ संगीतकर्मीहरूसँग काम गरिसकेका खड्गीले यो स्थानमा पुग्न कम्ती चक्कर काटेका छैनन् ।
२०१७ सालतिर स्थापना भएको रोयल नेपाल एकेडेमी (हालको प्रज्ञा–प्रतिष्ठान) मा संगीत शिरोमणि यज्ञराज शर्मासामु स्वरपरीक्षा दिएर स्थापनाकालदेखि नै झन्डै ६ वर्ष संगीत साधनामा लागेका थिए उनी । त्यस सँगसँगै पुतलीसडकमा स्थापना भएको संगीत महाविद्यालयमा पनि उनले झन्डै डेढ वर्ष संगीत विद्या सिके ।
‘मलाई त्यतिले असल संगीतकार बनिन्छ जस्तो लागेन,’ उनी संघर्षका गाथा सुनाउँदै छन्, ‘भागेर भारतको आग्रा पुगेँ, त्यहाँ अल इन्डिया भन्ने स्थानमा गुरु हमिर खाँले साढे दुई वर्ष शास्त्रीय, आधुनिक संगीतका बारेमा ज्ञान दिनुभयो ।’
एकेडेमीमा काम गर्दा एक २५ रुपियाँ मासिक पारिश्रमिक भए पनि अहिले उहाँको पारिश्रमिकले जीवन नै नचले पनि संगीतको मूल्य असाध्यै चुलिएको छ । संगीत भनेको ‘गीत, वाद्य र नृत्य’को सम्मिश्रण बुझेका खड्गी असाध्यै चलेको भनिएका संगीतमा जब त्यो पाउँदैनन्, तब सिंगो संगीत क्षेत्रकै अपमान भएको महसुस गर्छन् । अहिलेको पुस्ताले संगीतको सबै सूत्र नबुझेरै यो क्षेत्रमा होमिएकोप्रति चिन्तित देखिन्छन् उनी । अनि सुझाउँछन्, ‘संगीत रहरले हुँदैन, भित्रैदेखि भिजेर लाग्नुपर्छ, यो साधना हो जीवनभर गर्नैपर्छ ।’
अरनिको आर्ट ग्यालरीमा जीवनका १० वर्ष, एभरेस्ट कल्चर सोसाइटीमा आठ वर्ष सेवा गरिसकेका संगीतकार खड्गीको एकल संगीत सज्जामा हालसम्म १२ वटा एल्बम बजारमा आइसकेका छन् । वेदनाका छालहरू, शिखा, अभीप्सा, सँघारमा पर्खिबसँे, भरोसा, वाचा, सीमा, आविष्कार, सारांश, माया छ्यासछ्यास्ती, वारिपारि र विधाता उनको एकल संगीत भएका एल्बमहरू हुन् ।
जीवनले ७४ वर्ष टेकिसक्दा पनि नवसंगीतकर्मीलाई संगीत भनेपछि युवा जोस निकाल्छन् उनी । दिनरात प्रशिक्षण दिइरहन्छन्, अब यो उनको स्वभाव बनिसक्यो । २०२३ सालमा रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगितामा गायनतर्फ प्रथम र २०३६ सालमा संगीततर्फ प्रथम भएर स्वर्णपदक पोल्टामा पारेका थिए खड्गीले । त्यति मात्र होइन, उनको संगीत साधनको कदर मुलुकबाहिर पनि भएको छ । खड्गीलाई सन् १९८२ जुलाई ५ मा बेलायतका युवराज चाल्सकी हजुरआमाले नेपाली सांस्कृतिक कार्यक्रम देखाएबापत प्रशंसापत्र प्रदान गरेकी थिइन् । २०५३ सालमा राजा वीरेन्द्रले रजत पदक, २०५५ सालमा खड्गी सेवा समितिले सम्मानपत्र, २०५७ मा शिखा–सुर सम्मान पुरस्कार (ताम्रपत्र र १० हजार नगद), २०५७ सालमा भुपालमान सिंह प्रज्ञा–प्रतिष्ठानले ५० हजार र ताम्रपत्रसहितको हेमकुमारी कार्की पुरस्कार, २०५८ मा वीरेन्द्र सेवा पदक र त्यही वर्ष लैवरी लै सम्मान, ०६१ मा गोर्खा दक्षिणबाहु चौथा, ०६३ मा साधना सम्मान, ०६४ मा छिन्नलता गीति पुरस्कार, ०६६ मा आस्था सम्मान र ०६७ को नातिकाजी संगीत पुरस्कार उनका खास उपलब्धि हुन् ।
रेडियो नेपालले प्रतिष्ठित संगीतकारको उपाधि प्रदान गरेका खड्गी नेपालका थोरै वरिष्ठ संगीतकारमध्येका एक मानिन्छन् । एक्लै बस्दा सधैँ मलाई पछि उनले संगीत दिएका अन्य चर्चित गीत कर्मको रेखा नमेट्दो रैछ…, सिरानीले बिझायो कि…, खोलाको दुई किनार भयो.., तिम्रो जोवन ढल्की जाला, डोको नाम्लो बोकी बोकी…, आदि हुन् । उनको संगीतमा अरुणा लामादेखि पवित्रा सुब्बा, दिलमाया खाती, रिमा गुरुङ, माण्डवी त्रिपाठी, रामकृष्ण ढकाल, राजेशपायल राई, एक बराल, दीप श्रेष्ठ, आनन्द कार्की, स्वरुपराज आचार्यलगायतका नयाँ पुराना गायकगायिकाले स्वर दिएका छन् । गीतकारहरू कालीप्रसाद रिजाल, एसपी कोइराला, राजेन्द्र थापा, दिनेश अधिकारी, रमेश कोइरालालगायतले आºना रचनामा खड्गीले न्याय गरेको मानेका छन् । संगीतकै सिलसिलामा उनले बेलायत, लन्डन, फ्रान्स, पेरिस जापान, कोरिया, सिंगापुर, भारत, नाइजेरियालगायतका झन्डै दुई दर्जन देश र सहर टेकिसकेका छन् ।
‘सास रहुन्जेलको आश’ भनेझैँ ‘सारा जीवन यसै क्षेत्रमा गुजारेँ, मैले अब के कमाउनु छ र ?’ संगीतसाधक खड्गीले भने, ‘अहिलेको नयाँ पुस्तालाई आफूले जानेको बाँड्न पाए भड्किन खोजेको नेपाली संगीत सुगम संगीततिर मोडिन्थ्यो कि ?’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय