आज पल्सर स्पोर्टस अवार्डको निर्णायक दिन

काठमाडौं, २० असार । नेपाल खेलकुद पत्रकार मञ्चले विगत वर्षहरूमा जस्तै यस वर्षको ‘पल्सर स्पोटर्स अवार्ड–२०६८’ पुरस्कार वितरण कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आज बुधबार गर्दैछ । मञ्चले आयोजना गर्न लागेको यो अवार्ड कार्यक्रम समग्रमा दसौँ र लगातार नवौँ संस्करण हो । मञ्च नेपाली खेलकुद पत्रकारहरूको व्यावसायिक हकहितका लागि संगठित संस्था हो र यसले मुलुकको समग्र खेलकुद विकासविना खेल पत्रकारिताको पनि विकास हुन नसक्ने मूलमान्यता बोकेर वर्षेनी ‘पल्सर स्पोर्ट्स अवार्ड’को आयोजना गर्न थालेको हो ।
मञ्चले जनाएअनुसार, स्पोटर््स अवार्ड–२०६८ मा विभिन्न आठ विधामा पुरस्कार दिइँदै छ जसमा पल्सर वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पपुलर प्लेयर अफ द इयर, पारा एथलिट अफ द इयर, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड छन् ।
पारा, स्पेसल र लाइफटाइम एचिभमेन्ट अवार्डबाहेकका अन्य विधाका मनोनयनमा पर्ने पाँचमध्येबाट एकजना विजेता चुनिनेछन् । पपुलर प्लेयर अफ द इयर एसएमएस भोटिङमार्फत बढी मत प्राप्त गर्ने एक पपुलर प्लेयर अफ द इयर अवार्ड विजेता बन्नेछन् । लाइफटाइम अवार्ड, स्पेसल अवार्ड र पाराएथलिट अफ द इयरको घोषणा बुधबार कार्यक्रमकै अवसरमा गरिनेछ ।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र पपुलर प्लेयर अफ द इयरले बजाज पल्सर मोटरसाइकलसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै अन्य विधाका विजेताले जनही ३० हजार रुपियाँ र ट्रफी प्राप्त गर्नेछन् । सबै विधाका मनोनयनमा पर्ने खेलाडी, प्रशिक्षकले टाइमेक्सको घडी प्राप्त गर्नेछन् ।
स्पोटर््स अवार्ड कार्यक्रमका लागि प्रसिद्ध व्यापारिक प्रतिष्ठानहरू हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिको अटोमोबाइल ब्रान्ड पल्सर मुख्य प्रायोजकका रूपमा रहेको छ । यसैगरी, डिस होम, वेस्टर्न युनियन, सूर्य नेपाल, आइएसएमई र एभेन्युज टेलिभिजनलगायत व्यापारिक र व्यावसायिक संघसंस्थाको साथ पनि निश्चित भइसकेको मञ्चले जनाएको छ ।
मनोनयनमा पर्नेहरूमा वर्षको उत्कृष्ट खेलाडी (पुरुष) तर्फ क्रमश: शैलेश राणा
(पौडी), पारस खड्का (क्रिकेट), तिलकराम थारू (एथलेटिक्स), शिवराम श्रेष्ठ (गोल्फ) र ध्रुवप्रसाद अर्याल (घोडचढी) छन् भने महिलातर्फ तारा पुन (भारोत्तोलन), प्रमिला रिजाल (एथलेटिक्स), श्रेया धिताल (पौडी), नविता श्रेष्ठ (टेबलटेनिस) र नङसलदेवी तामाङ (ब्याडमिन्टन) छन् ।
यसैगरी वर्षको उत्कृष्ट खेलाडी (युवा) तर्फ रुबिना क्षेत्री (क्रिकेट), सिद्धान्त अधिकारी (एथलेटिक्स), विश्वरूपा बुढा (एथलेटिक्स),
शिरीष गुरुङ (पौडी) र पृथु बास्कोटा (क्रिकेट) छन् । वर्षको उत्कृष्ट प्रशिक्षक अवार्डका लागि मनोनयनमा पर्नेमा क्रमश: पुवुदु दसानायक (क्रिकेट), जगत टमाटा (क्रिकेट), नवीन सिंह (क्रिकेट), वीरबहादुर राना (जुडो) र ईश्वर कार्की (पौडी) छन् ।
यसैगरी पपुलर प्लेयर अफ द इयर अवार्डका लागि पाँचजना क्रमश: सविता चौधरी (एथलेटिक्स), भरत खवास (फुटबल), शक्ति गौचन (क्रिकेट), अश्लेषा लिसानेविच (टेनिस) र रमिला तण्डुकार (भलिबल) छन् ।
पपुलर प्लेयर अफ द इअर अवार्ड अथवा अन्य कुनै पनि विधातर्फको मनोनयनमा नपरे पनि वर्ष–२०६८ मा भएको दक्षिण एसियाली जुडो च्यापियनसिपमा दुई स्वर्णपदक जितेका काठमाडौंका सरोज महर्जन र सोही वर्ष इन्डोनेसियामा भएको एसियन टिम च्याम्प्यिनसिप चेस प्रतियोगितामा सिंगापुरका ग्रान्डमास्टरलाई पराजित गरेका विलमलाल श्रेष्ठ पनि वर्षका चर्चित खेलाडीको रूपमा रहेका थिए ।

प्रतिक्रिया